गोरखा — चुनावी तालमेलका लागि संयन्त्र गठन गरेका सत्तारुढ दलहरूलाई गोरखामा पालिका भागवण्डा गर्न सकस परेको छ । उम्मेदवारीका लागि मनोनयनको मिति नजिकिँदै गर्दा सत्तारुढ दलबीच तालमेलको विषयले सार्थकता पाउन सकेको छैन ।
कांग्रेस र माओवादी केन्द्रको जिल्ला तहका शिर्ष नेतृत्व जिल्ला बाहिर रहँदा बिहीबारको लागि तय भएको संयन्त्रको बैठक बस्न सकेन । शुक्रबार बिहान एक चरण बैठक बसे पनि निष्कर्ष बिना टुङ्गिएको छ ।
सत्तारुढ दलको बैठक पटक–पटक सरेपछि उम्मेदवार छनोट अलमलमा परेको छ । शुक्रबार बिहानको बैठकमा जनता समाजवादी पार्टी उपस्थिति नभएपछि बैठक दिउँसोका लागि सरेको छ । कुन शर्तमा तालमेल गर्ने भन्नेमा दलहरु अझै अलमलमा छन् ।
शुक्रबार साँझसम्म पुन: जसपासहितका चार दलको बैठक बस्ने तयारी भइरहेको नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । पार्टीको आन्तरिक बैठकका कारण शुत्रबार बिहानको बैठकमा उपस्थिति हुन नपाएको जनता समाजवादी पार्टीका अध्यक्ष यान प्रसाद भट्टले बताए ।
‘हिजो (बिहीबार) को लागि तय भएको बैठक बस्न सकेन, आज बिहान पार्टीको आन्तरिक कार्यक्रम पहिले नै तय भइसकेकाले बैठकमा जान पाएनौं,’ उनले भने,‘फेरि बैठक बस्ने विषयमा छलफल चलिरहेको छ ।’
११ स्थानीय तह रहेको गोरखामा पालिका भगवण्डामा सत्तारुढ दल आ–आफ्नै अडानमा छन् । २०७४ को निर्वाचनमा नौ गाउँपालिका प्रमुख जितेको नेपाली कांग्रेस वहुमत पालिकाको नेतृत्व आफूले पाउने पर्ने अडानमा छ ।
नेपाली कांग्रेसकै हैसियतमा पालिका बाँडफाँट हुनुपर्ने माओवादी केन्द्रले बताउँदै आएको छ । जनता समाजवादी पार्टीले दुइ वटा पालिका प्रमुखमा दाबी गर्दै आएको छ । गठबन्धन दलले पालिकाको संख्या भागवण्डा मिलाएपछि पालिका बाँडफाँटको विषयमा छलफल गर्ने बताएका छन् । केन्द्रमा पाँच दलीय गठबन्धन रहे पनि जिल्लामा चार दलीय संयन्त्र छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेलका लागि चैत १७ गते संयन्त्र गठन गरेका थिए । निर्वाचन आयोगले भने वैशाख ११ र १२ गते मनोनयन दर्ताका लागि मिति तोकेको छ ।
