कांग्रेसबाट को-को छन् महानगर मेयरका आकांक्षी ?

वैशाख ९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेल गरेपछि छ वटा महानगरपालिकामध्ये कांग्रेसले तीन महानगरपालिकामा मेयर र तीन महानगरपालिकामा उपमेयर पदमा मात्रै उम्मेदवारी दिने तयारी गरिरहेको छ । पार्टीका तर्फबाट महानगरपालिकाका उम्मेदवार छान्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि नै शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिनेछ भने भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा उपमेयर पदमा उम्मेदवारी दिनेछ । कांग्रेसको विधानअनुसार महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार केन्द्रीय संसदीय समितिले चयन गर्ने, सभापतिले टिकट दिने र उम्मेदवारको मनोनयन दर्ता गराउने व्यवस्था छ । त्यहीअनुसार शनिबार बेलुकासम्ममा टिकट वितरण गरिसक्ने तयारी छ । 

प्रवक्ता प्रकाशसरण महतले उपमहानगरसम्मको सिट बाँडफाँट केन्द्रबाट भएपनि केन्द्रबाट महानगरपालिकाको मात्रै टिकट वितरण हुने बताए । उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण प्रदेश संसदीय समितिले र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको टिकट वितरण जिल्ला संसदीय समितिले गर्ने व्यवस्था छ । 

विधानअनुसार महानगर कार्यसमितिले सिफारिस गरेका उम्मेदवारका आकांक्षीमध्ये एक जनालाई केन्द्रीय संसदीय समितिले टिकट दिन सक्छ । त्यसरी टिकट दिँदा केन्द्रले महानगरको टिकट वितरणमा सम्बन्धित जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिको रायलाई आधार मान्नुपर्ने विधानले व्यवस्था गरेको छ । त्यसअनुसार शुक्रबारको बैठकमा महानगरपालिकाका उम्मेदवारबारे जिल्ला र प्रदेश कार्यसमितिबाट प्राप्य रायमाथि छलफल गरी उम्मेदवार चयन गर्नेबारे छलफल हुने नेताहरूले बताएका छन् । 

कुन महानगरमा को–को छन् आकांक्षी ? 

काठमाडौं महानगरपालिकामा आकांक्षी पाँच जना, तर चर्चामा सिर्जना सिंह

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकामा महानगर समितिले पाँच जनाको नाम सिफारिस गरी पठाएको छ । तर, केन्द्रमा भने नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहको नाम एकल चर्चामा छ । सभापति एवम् प्रधानमन्त्री देउवाले १४ औँ महाधिवेशनमा नेता सिंहले लगाएको गुन तिर्नकै लागि पनि सिंहकी पत्नी सिर्जनालाई टिकट दिने कतिपय नेताहरूको दाबी छ । काठमाडौंमा नेता सिंहको राम्रो पकड भएकाले समेत उनको नाममा नेताहरूको सहमति भए कार्यकर्ता तहबाट विरोध हुने सम्भावना छैन । 

यद्यपि महानगर कार्यसमितिले भने मेयरका लागि पार्टीकी महाधिवेशन प्रतिनिधि नेतृ सिंहसहित नगर सभापति नीलकाजी शाक्य, नगर सभापतिका प्रत्यासी प्रगतिमान रञ्जित, नगर कार्यसमितिका सचिव सुसन वैद्य र महानगरपालिकाकी हाल निर्वाचित उपमेयर हरिप्रभा खड्गीको नाम सिफारिस गरेको छ । 

काठमाडौंमा यसअघि लामो समय चर्चामा रहेपनि पुर्वमन्त्री तीर्थराम डंगोलको नाम भने महानगर कार्यसमितिले मेयरका लागि सिफारिस गरेको छैन । सभापति देउवाले यसअघि महिला उम्मेदवार बनाउने विषयमा डेलिगेसन दिन गएको टोलीसँग काठमाडौंमा सिर्जना सिंह पनि मेयरको आकांक्षी रहेको भन्दै नाम लिएका थिए ।

नेताहरूले त्यसैका आधारमा काठमाडौंमा सिंहलाई उम्मेदवार बनाउने पक्का जस्तै भएको बताउने गरेका छन् । बिहीबार बसेको शीर्ष नेताहरूको बैठकमा मेयरका उम्मेदवार कस्ता व्यक्तिलाई बनाउने भनेर छलफल भएपनि नेताहरूले कसैको पनि नाममाथि छलफल गरेका छैनन् । ‘काठमाडौंमा प्रकाशमानजीको होल्ड छ । यहाँ सभापतिजीले उहाँले जसलाई भन्यो, उसैलाई टिकट दिनुहोला,’ बैठकमा सहभागी एक नेताले भने, ‘फेरि भर्खर महाधिवेशन सकिएको छ, महाधिवेशनमा सघाएको गुन पनि तिर्नुपर्ने होला ।’ काठमाडौंमा सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीबाट उपमेयर उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि ०७४ को निर्वाचनमा काठमाडौंमा कांग्रेसले उपमेयर जितेको थियो । 

ललितपुरमा नौ आकांक्षी, चिरिबाबुको दाबी बलियो

काठमाडौंपछि कांग्रेसले लिएको अर्को महत्वपूर्ण महानगरपालिका हो ललितपुर । ललितपुरमा ०७४ मा कांग्रेसले एक्लै मेयर र उपमेयर जितेको थियो । यसपटक गठबन्धन गर्दा कांग्रेसले ललितपुरमा मेयरमात्रै पाएको छ । ललितपुरको मेयरमा चिरिबाबु महर्जनले दोहोरिन चाहेका छन् भने अन्य आठ जनाले दाबी पेस गरेका छन् ।

महानगर कार्यसमितिले मेयर महर्जनसहित नौ जनाको नाम सिफारिस गरी पठाएको छ । मेयरकालागि मेयर महर्जन, नगर सभापति शुभानन धाख्वा, हालकी उपमेयर गीता सत्याल, नेताहरू प्रेमकृष्ण महर्जन, भरतलाल न्याछ्ओ, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ । ललितपुरमा केन्द्रीय सदस्य उदय शमशेरको प्रभाव छ भने मेयर महर्जन आफैँ सभापति शेरबहादुर देउवाका प्रिय पात्र हुन् । उनले केही दिनअघि मात्रै सभापति देउवालाई भेटेर आफूले मेयर दोहोरिन चाहेको बताइसकेका छन् ।

मेयर महर्जनले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आकांक्षी धेरै जना भएपनि पार्टीले यसपटक पनि आफैँलाई उम्मेदवार बनाउनेमा ढुक्क रहेको बताएका थिए । नगर सभापति धाख्वा भने पार्टीले युवा उम्मेदवारलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउनुपर्ने दाबी गरिरहेका छन् । 

विराटनगरको मेयरका लागि 'हेभी वेट'को दौड

०७४ को निर्वाचनमा कांग्रेसले एक्लै मेयर, उपमेयरसहित बहुमत जितेको महानगरपालिका हो, विराटनगर । लामो समय कांग्रेसको नेतृत्व गरेको कोइराला परिवारको निवास र त्यसको प्रभावका कारण समेत विराटनगरलाई कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ । यो हाल नेता शेखर कोइरालाको प्रभाव क्षेत्र हो । तर, विराटनगरको मेयरकालागि भने सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य र सांसदहरू समेतले दौडधुप गरिरहेका छन् ।

महानगर कार्यसमितिले मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ । विराटनगरको मेयरमा संघीय सांसद एवम् केन्द्रीय सदस्य डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, केन्द्रीय सदस्य एवम् वर्तमान मेयर भीम पराजुली मेयरका बलिया आकांक्षी छन् । संघीय सांसद भइसकेकी नेतृ संग्रौलाले विराटनगर गएर घरदैलो थालिसकेकाले मेयरमा उनको उम्मेदवारी चर्चामा छ । त्यस्तै, कांग्रेसका प्रदेश कार्यसमिति सदस्य गोपाल रेग्मी, जिल्ला उपसभापति नागेश कोइराला, हालकी उपमेयर इन्दिरा कार्की र महानगर सभापति दीपक चापागाई समेत मेयरका आकांक्षी छन् । संग्रौला र अर्याल सभापति देउवानिकट नेताहरू हुन् ।

विराटनगरमा स्थानीय कार्यसमितिले चुनावी तालमेल आवश्यक नभएको निर्णय गरेपनि केन्द्रले चुनावी तालमेल गरेर उपमेयर पद जनता समाजवादी पार्टीलाई दिने निर्णय गरिसकेको छ । 

भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयर उम्मेदवार को बन्लान् ? 

कांग्रेसले छ महानगरपालिकामध्ये भरतपुर, वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख पद साझेदार दललाई दिएर आफूले उपमेयर पदमा मात्रै उम्मेदवारी दिने भनेको छ । त्यसअनुसार भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जसपा र पोखरामा एकीकृत समाजवादीले मेयर पदमा उम्मेदवारी दिनेछन् । तीन वटै महानगरपालिकामा उपमेयर पदकालागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेछ ।

तर, मेयर नपाएपछि ती महानगरमा उत्पन्न असन्तुष्टिले उपमेयरमा को उम्मेदवार बन्ने निश्चित छैन । कांग्रेसबाट मेयरकै आकांक्षीसमेत चुनावी तालमेलपछि उपमेयरमा उम्मेदवार बन्न सक्ने भएकाले अहिले त्यसबारे अन्योल छ । मेयरका आकांक्षीहरू मेयर पद नै पार्टीसँग नरहेपछि उपमेयरमा टिकट पाउन दौडधुप गरिरहेका छन् । 

कांग्रेस भरतपुरका सभापति चित्रसेन अधिकारीले आफूहरूले मेयर र उपमेयरका आकांक्षी सबैको नाम सिफारिस गरी पठाएको बताए । भरतपुरमा मेयरका लागि २५ जना र उपमेयरकालागि २४ जना आकांक्षी थिए । ‘पार्टीभित्रै एक पदकालागि २५ जनाको आकांक्षा थियो । अब गठबन्धन गरेपछि त्यही पद पनि छैन,’ उनले भने, ‘हामीले नाम काट्ने कुरा भएन । मेयर पद नै नरहेपछि अब मेयरका आकांक्षी स्वतः उपमेयरका आकांक्षी हुने भए । उपमेयरमै लड्छु भन्नेहरू त आकांक्षी हुने नै भए ।’

पोखरामा पनि त्यस्तै अवस्था छ । पोखरा महानगरपालिकाको मेयरका लागि १८ जना र उपमेयरका लागि १० जना आकांक्षी छन् । वीरगञ्जमा मेयरका आकांक्षीहरू नै उपमेयरमा दाबी गरिरहेका छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully