मोरङमा तालमेलमा सकस

पूर्वाग्रह राखेर पालिकाले उम्मेदवारको नाम सिफारिस गरेको भन्दै कांग्रेसको विरोध
सुन्दरहरैंचा नगरका उत्कृष्ट मेयरकै नाम सिफारिस भएन
एमालेबाट प्रदेशका पूर्वमन्त्रीको नाम मेयरमा सिफारिस
विनोद भण्डारी

विराटनगर — सत्तारुढ दलहरुबीच आसन्न स्थानीय निर्वाचनमा हुने भनिएको तालमेल मोरङमा सकसमा परेको छ । कांग्रेस कार्यकताको तीव्र विरोध र सत्ता घटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आफ्नो सांगठानीक हैसियत भन्दाबढी भाग खोजेपछि मोरङमा कांग्रेससँगको तालमेल असम्भव भएको नेताहरुले बताएका छन् ।

मोरङमा तालमेलमा सकस

‘तालमेलको प्रयासका लागि मोरङ कांग्रेस र प्रदेश कांग्रेस समितिले मोरङको हकमा हात उठाइसक्यो,’ प्रदेश सदस्य सञ्जय भट्टराईले भने, ‘केन्द्रले लादयो भने अनौठो मान्नुपर्ने अवस्था रहँदैन ।' उनका अनुसार जिल्लास्तरमा तालमेलको सहमति भएपनि वा केन्द्रले जबर्जस्ती लादेपनि कार्यकर्ताले आगो बाल्ने स्थिति छ । मोरङसहित उदयपुर र इलाम लगायतका अन्य केही जिल्लाको तालमेल पनि संकटमा रहेको भट्टराईले जानकारी दिए ।

मोरङमा तालमेलका लागि बुधबार र बिहीबार दिनभरि पार्टीको जिल्ला कार्यालय र प्रदेश कार्यालयमा सबै दलका प्रतिनिधिसँग पटकपटक छलफल भयो । भित्र छलफल भइरहँदा बाहिर कांग्रेस कार्यकर्ताको नाराबाजी जारी थियो । मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बूले कार्यकर्ताको विरोध सहेर तालमेल गर्ने प्रयास गर्दापनि बाँकी दलले ठूलो भाग खोज्दा तालमेल असम्भव भएको बताए ।

'केन्द्रले दिएको म्याण्डेट अनुसार तालमेल सम्भव नै भएन,' लिम्बूले भने, 'अघिल्लो निर्वाचनमा जसले जहाँ जितेको छ, उसलाई त्यो पालिका छाडेर एमालेले जितेका पालिकामा आवश्यकता अनुसार तालमेल गर्ने केन्द्रको म्याण्डेट छ ।' तर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले अघिल्लो निर्वाचनमा कांग्रेसले नै जितेका पालिकामा दाबी नछाडेपछि मोरङमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्ने अवस्थामा पुगेको हो ।

अघिल्लो निर्वाचनमा माओवादीले रंगेली नगरपालिका र जसपाले जहदा गाउँपालिकामा जितेको थियो । कांग्रेसले महानगरपालिकासहित सुन्दरहरैंचा, लेटाङ, उर्लाबारी, रतुवामाई, सुनवर्षी नगरपालिकासहित केराबारी, धनपालथान, कटहरी र बुढीगंगा गाउँपालिका जितेको थियो । त्यसैगरी एमालेले बेलबारी र पथरी शनिश्चरे नगरपालिकासहित कानेपोखरी, मिक्लाजुङ र ग्रामथान गाउँपालिका जितेको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले मिक्लाजुङ, उर्लाबारी, बेलबारी, कानेपोखरी, रंगेली र ग्रामथानको नेतृत्व आ–आफूले पाउनुपर्ने र जसपाले आफूले जितेको जहदासहित कांग्रेसले जितेको सुनवर्षी नगरपालिका र धनपालथान पाउनुपर्ने अडान नछाडेपछि मोरङमा तालमेलको अध्याय करिबकरिब सकिएको लिम्बूको भनाइ छ ।

तालमेलका विरुद्धमा कार्यकर्ताको तीव्र विरोध छ । 'तालमेल भइहाले पनि मोरङ कांग्रेसमा विद्रोह हुने स्थिति छ,' लिम्बूले भने 'यस्तो अवस्थामा पनि नेतृत्वपक्ष तालमेलका नाममा लचिलो हुँदा सहयात्री दलहरुले हैसियत भन्दाबढी माग राख्दा मोरङमा तालमेलमा गाँठो परेको हो ।'

कांग्रेस प्रदेश सभापति उद्धव थापाले मोरङमा सत्तारुढ दलहरुसँग तालमेलको सम्भावना जीवितै रहेको र शुक्रबार सम्ममा टुंगो लाग्ने दाबी गरे ।

उम्मेदवार सिफारिसमा विवाद

चुनावी तालमेलको झमेला बेहोरी रहेको मोरङ कांग्रेसले पालिका तहबाट पूर्वाग्रह राखेर गरिएको उम्मेदवारको नाम सिफारिसको किचलो पनि भोग्नु परेको छ । त्यसविरुद्धपनि दिनहुँ कार्यकर्ताको नाराबाजी र कार्यालय घेराउ हुन थालेको छ ।

विराटनगर महानगर कमिटीले मेयरका लागि सात जनाको नाम सिफारिस गर्दा कसैसँग परामर्श नै नगरेको र पार्टीका पुराना र त्यागी आकांक्षीको नाम छुटाएको गुनासो बढेपछि मोरङ कांग्रेसले बिहीबार महानगरका मेयरकालागि थप तीन जनाको नाम सिफारिस गरेको जिल्ला सभापति डिगबहादुर लिम्बूले बताए ।

उनका अनुसार जिल्ला समितिले बिहीबार रामकृष्ण भट्टराई, फूलकुमार लालवनी र अरुण गुप्ताको नाम सिफारिस गरिएको हो । महानगर समितिले केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डिला संग्रौला, हालका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, जिल्ला उपसभापति नागेश कोइराला, नगर सभापति दिपक चापागाँई र प्रदेश सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो ।

त्यसैगरी सुन्दरहरैंचा नगर समितिले हालका मेयर शिवप्रसाद ढकालको नाम काटेर नगर सभापति भक्ति सिटौलाको नाममात्र सिफारिस गरेपछि उत्पन्न भएको विवादलाई पनि साम्य पार्न जिल्ला समितिले बिहीबार हालका मेयर ढकालको नामपनि प्रदेश समितिसमक्ष सिफारिस गरेर विवाद साम्य पारेको लिम्बूले बताए ।

ढकाल मुलुकका टप १० नगरका उत्कृष्ट मेयरमध्येका एक हुन् । कांग्रेसको सुन्दरहरैंचा नगर समितिमा शेखर कोइराल समूहको प्यानल नै छ । ढकाल सभापति शेरवहादुर देउवा समूहका हुन् । उनलाई पार्टीको १४ औं महाधिवेशनमा कोइराला समूहले क्षेत्रीय प्रतिनिधिमै हराएको थियो । सुन्दरहरैंचामा पार्टीभित्रै प्रतिबन्धको राजनीति भयो । जिल्ला सभापति लिम्बूले भने जो जुन समूहको भएपनि कांग्रेस र सिंगो पार्टीले उसको मूल्यांकन र सम्मान गर्न सक्नुपर्छ ।

यसैबीच नेकपा एमालेको प्रदेश कमिटीले पनि महानगरको मेयरका लागि प्रदेशका पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेको नामा केन्द्रसमक्ष सिफारिस गरेको छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेशका सह–इन्चार्ज विनोद ढकाललका अनुसार अरु दलका उम्मेदवारको स्तर हेरेर उम्मेदवार तय गर्न जिल्ला कमिटीले घिमिरेको नाम केन्द्र समक्ष सिफारिस गरेको हो ।

यसअघि नगर कमिटीले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, नगर कमिटी अध्यक्ष सागर थापासहित महेश भट्टराई र पर्शुराम बस्नेतको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : वैशाख ९, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?