गठबन्धनको नाममा जनाधार कम भएको दललाई भागबण्डा गरेकोमा असन्तुष्टि जनाएका स्थानीय नेताहरुले अरु दललाई दिएको वडामा स्वतन्त्र उम्मेदवार नै खडा गर्ने तयारी पनि गरेका छन् ।
सुनसरी — स्थानीय तहको चुनावमा नेकपा एमालेलाई जसरी पनि हराउने रणनीतिअनुसार सत्ताधारी दलले धरान उपमहानगरमा गठबन्धन भएको औपचारिक जानकारी दिन बिहीबार पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलन चलिरहेको बेला अचानक खैलाबैला मच्चियो ।
कांग्रेसका प्रदेश सभा सदस्य अजय राई, धरान-१९ बाट क्षेत्रीय प्रतिनिधि राजकुमार थोप्रा, धरान-१७ का नारद राई, वडा-१ का अध्यक्ष रोशन अधिकारीलगायतले गठबन्धनको संयुक्त पत्रकार सम्मेलन पूरा हुनै दिएनन् । चुनाव हुनुभन्दा अगाडि राजनीतिक दलबीचको चुनावी गठबन्धनको सहमतिप्रति चित्त बुझाउन गार्हो भएको संकेत हो धरानको घटना ।
केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा जोड दिइरहेका बेला उनै पक्षका नेता कार्यकर्ताहरुले जनाधार नै नभएको दलसँग गठबन्धन उचित नभएको भन्दै धरानमा भाडभैलो मच्चाए । धरानमा कांग्रेसले प्रत्येक चुनावमा नेकपा एमालेसँग नै प्रतिस्पर्धा गर्दै आएको छ । एमालेसँग प्रतिस्पर्धा गर्न कांग्रेस एक्लै सक्षम रहेको अवस्थामा वडाका बुथ सभापति र आकांक्षी उम्मेदवारहरुसँग कुनै सल्लाह नै नगरी गठबन्धनको नाममा जनाधार कम भएको दललाई भागबण्डा गरेकोमा आपत्ति जनाएका थिए । अझ अरु दललाई दिएको वडामा स्वतन्त्र उम्मेदवार नै खडा गर्ने तयारी पनि गरेका छन् ।
गठबन्धन दलबीच भएको सहमतिअनुसार कांग्रेसले धरानमा नगर प्रमुख, वडा १, २, ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६ र १८ को वडा अध्यक्षसहित सदस्यहरुमा उम्मेदवारी दिने छ भने नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा ३, १५, १७ र २०, जनता समाजवादी पार्टीले वडा १० र १९, नेकपा एकीकृत समाजवादीले वडा ४ मा उम्मेदवारी दिनेछ ।
धरानमा जस्तै मुलुकभरका ७ सय ५३ स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य उम्मेदवारको भागबण्डा भएको छ । तर गठबन्धनको यो भागबण्डाको सैद्धान्तिक सहमतिअनुसार वैशाख ३० को चुनावमा गठबन्धन भित्रैका दलका क्रियाशील सदस्य मतदाता वा ती दलप्रति आस्था राख्ने मतदाताले भोट दिन्छन् कि दिँदैनन् ?
यसपटक गठबन्धन नीतिअनुसार दलका क्रियाशील सदस्यले विपरीत राजनीतिक सिद्धान्त लिएका अन्य दलका उम्मेदवारलाई तिनै दलको चुनाव चिह्नमा भोट दिनुपर्ने हुन्छ । तर आम मतदाताले कसरी विवेक प्रयोग गर्छन् ? यो प्रश्नको उत्तर पाउन जेठ पहिलो साता पर्खिनुपर्ने हुन्छ ।
राजनीतिशास्त्रका सहप्राध्यापक अमृत श्रेष्ठका अनुसार नेपालमा स्थानीय चुनावमा यति ठूलो गठबन्धन यो पहिलो अभ्यास हो । उनी भन्छन्, ‘नेपालको राजनितिक इतिहास हेर्दा यसपटकका गठबन्धनमा विचार, सिद्धान्त मिल्ने दलबीच गठबन्धन भएको छैन । यसअघि धेरै पटक एकापसमा कटुता र शत्रुता गरेर बिताएका दलबीच चुनावी गठबन्धन भएको छ । यस्तो अवस्थामा पाँचदलको राजनितिक अंक गणित र सामान्य अंकगणितको नतिजा फरक आउन सक्छ ।’ उनकाअनुसार सामान्य अंकगणितमा २ मा २ जोड्दा ४ हुन्छ तर राजनीतिमा कहिलेकाहीँ ३ वा ५ पनि हुनसक्छ ।
गठबन्धन दललाई क्रियाशील सदस्य र आम मतदाताले चुनावको बेला कसरी हेर्छन् त ? उनको विश्लेषण छ, 'गठबन्धन नगरी एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा त उम्मेदवार, गुट र उपगुटका कारण आफ्नै क्रियाशील सदस्यले शतप्रतिशत भोट दिँदैनन् भने जम्बो दलबीचको चुनावी गठबन्धनको बेला फरक फरक चुनाव चिह्न, उम्मेदवार, पार्टीको झण्डा र वैचारिक सिद्धान्तको कारण पाउन सक्ने मत प्रतिशत खस्किन सक्छ ।
गठबन्धनमा अर्कै दलको उम्मेदवार, फरक चुनाव चिह्न र फरक सिद्धान्त बोकेको दललाई भोट दिनुपर्ने हुन्छ । झन पाँच दलबीचको गठबन्धनमा विपरीत दलको उम्मेदवार, चुनाव चिह्नमा मन नपरेको अवस्थामा गठबन्धनकै नाममा भोट दिने भनेको अतिक्रियाशील सदस्यले बाध्यताले दिने तर कम क्रियाशील र आम मतदाताले भने शतप्रतिशत मत दिन नसक्ने सहप्राध्यापक श्रेष्ठले बताए । उनले भने, ‘नेपालमा केही राजनीतिक मान्यता स्थापित भएका छन् । एमालेले भोट माग्दा सूर्य चिह्नमा दिनु भन्छ । कांग्रेसले भोट माग्दा रुखमा दिनु भन्छ । माओवादी केन्द्रले भोट माग्दा हसिया हथौडामा दिनु भन्छ । यो राजनीतिक मान्यता पहिलैदेखि प्रत्येक मतदाताको मनमनमा गढेर बसेको छ । यही राजनीतिक संस्कारको कारण मतदाताले पनि चुनावको बेला सबै भन्दा पहिले एमाले हो भने सूर्य चिह्न खोज्छ, कांग्रेस हो भने रुख र माओवादी केन्द्र हो भने हसिया हथौडा खोज्छ । आम मतदाताले विवेक प्रयोग गरेर आफूले मनपराएको उम्मेदवारलाई भोट दिन्छ ।’
उनले स्थानीय तहको चुनावको बेला गठबन्धन नै भएपनि तटस्थ मतदाता मात्र नभएर दलकै कतिपय क्रियाशील सदस्यले आफ्नो गाउँ ठाउँलाई बनाउने, दीर्घकालीन दृष्टिकोण भएका, भ्रष्टाचार र आर्थिक अनियमिततामा नमुछिएका, पालिका हाँक्न सक्ने योग्य उम्मेदवारलाई छान्ने अवसर नगुमाउने बताए ।
गठबन्धन दलहरुले स्थानीय तहमा उनीहरुको राजनीतिक अंकगणितको आधारमा जनधार, मतदाताको अवस्थाअनुसार एउटा दलले प्रमुख लिएको ठाउँमा अर्को दललाई उपप्रमुख र अरु घटकलाई वडाध्यक्ष दिएको छ । बाहिरबाट सामान्यरुपमा बुझ्दा गठबन्धनको भार ठूलो देखिए पनि राजनितिक रुपमा विश्लेषण गर्नेहरुले भने देखिएको ठूलो भारलाई शतप्रतिशत मान्न नसकिने बताउने गरेका छन् ।
