रुकुम पश्चिम — डोल्पोबुद्ध गाउँपालिकास्थित तीनवटा वडाका बासिन्दाले निर्वाचनका बेला बाहिरका मानिसलाई गाउँ प्रवेशमा रोक लगाएका छन् । ती वडाको सयुंक्त भेलाले १, २ र ३ नम्बर वडामा प्रवेश रोक लगाएको हो ।
यसअघि निर्वाचनमा पटक पटक अन्य व्यक्तिबाट मत खसालिएको र जबर्जस्ती मतदानका लागि दबाब दिइएको भन्दै यसपटक स्थानीयले 'बाहिरिया' लाई रोक लगाइएको हो ।
बाहिरी हस्तक्षेप हुने र अरुबाटै मत खसालिएको भन्दै स्थानीयले यस निर्वाचनमा आफैं भोट खसाउन पाउनुपर्ने मागसहित सयुंक्त भेला गरेका हुन् । स्थानीयको भेलाले तत्काल नेपाल प्रहरी र नेपाली सेनालाई गाउँ पठाइदिन पनि सरकार समक्ष आग्रह गरेको छ । भेलाले वैशाख ११ र १२ गते हुने मनोनयन र ३० गते हुने निर्वाचन निष्पक्ष नहुने ठहर गर्दै त्यसमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ ।
यसअघिका निर्वाचनमा पनि गाउँपालिका भन्दा बाहिरका मान्छे गाउँ पसेर जबर्जस्ती मतदान गर्न लगाउने, धर्मग्रन्थ छुवाएर भोट हाल्न लगाउने गरेकाले त्यो रोक्नुपर्ने उनीहरुको माग छ ।
यो वर्ष पनि गाउँभन्दा बाहिरबाट ५ सयदेखि एक हजारसम्म मान्छेहरु धो उकालेर जबर्जस्ती गर्न खोजिएपछि निर्णय गरेरै सुरक्षाको माग गरिएको स्थानीयले बताएका छन् । स्थानीय जेष्ठ नागरिक साम्डुप फूर्वाले भने, ‘हरेक पटकको निर्वाचनमा हामी आफूले आफ्नो मतदान गर्न पाएका छैनौं । यस पटक पनि बाहिरका मान्छे आएर हामीलाई त्रसित बनाइरहेका छन् ।’
उनले स्वविवेक उम्मेदवारी दिन र मतदान गर्न पाउनुपर्ने अधिकार सुरक्षित गरिदिन सरकारलाई गुहारिएको बताए । हरेक पटक जस्तै यो पटक पनि आफ्नो अधिकार गुमाउन तयार नभएको भन्दै उनले यसमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए ।
विशेषगरी काइके गाउँपालिकाबाट मान्छेहरु उपल्लो डोल्पाको धो क्षेत्रमा प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ । बाहिरकाले आफ्नो मताधिकार खोस्ने गरेकाले यस्तो निर्णय गरिएको स्थानीय छोइटाक गुरुङले बताए ।
भेलामा गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ पनि सहभागी थिए । २०७४ सालको निर्वाचनमा उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघिका निर्वाचनमा जस्तो व्यवहार अन्यत्रकै मान्छेबाट हुने भएपछि स्थानीय त्रसित रहेको उनले बताए ।
‘म आफैं पनि केही गर्नसक्ने अवस्थामा रहन्नँ, बाहिरकै मान्छेले जबर्जस्ती गर्ने, धर्मग्रन्थमा हात राख्न लगाएर उम्मेदवारी दिन बन्देज गर्ने, मतदानमा पनि जबर्जस्ती गर्ने गरिएको छ,’ अध्यक्ष गुरुङले भने । २०७४ मा बाहिरका मान्छे जान नपाएका कारण गाउँलेले सर्वसम्मत अध्यक्ष चुनेको उनले बताए ।
यदि कसैले गुण्डागर्दी शैलीमा गाउँ पस्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्ममा स्वयंले लिनुपर्ने भन्दै गाउँलेले चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारी बेदनिधी अधिकारीले कुनै पनि ठाउँमा अशान्ति हुने, मताधिकार खोस्ने अवस्था नहुने बताएका छन् ।
मान्छे आउजाउ गर्ने कुरा स्वभाविक भएको भन्दै उनले आवश्यक परेको ठाउँमा सुरक्षाकर्मी तैनाथ रहेको र थप सुरक्षा दिन पनि सकिने बताए । अनावश्यक रुपमा त्रसित हुने र तर्साउने नियत पनि सही नभएको भन्दै उनले त्यस्तो पाइए कारबाही हुने बताए । स्थानीयले भने २०७० साल जेठ २० गते गोली चल्दा २ जनाको मृत्यु भएको त्यस हत्याकाण्डका पीडित परिवारले हालसम्म पनि न्याय नपाएको बताएका छन् ।
