ताप्लेजुङ — नेपाली कांग्रेस संसदीय समितिले समीकरणमा आफ्नो भागमा परेका गाउँपालिका तथा वडाध्यक्षका उम्मेदवारहरुको टुंगो लगाएको छ । उम्मेदवार छनोटमा संस्थापन पक्ष पूरै हाबी भएको छ । सात पालिका अध्यक्ष र दुई उपाध्यक्षमध्ये आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष मात्रै इतर समूहका परेका छन् ।
पार्टी उपसभापति डिल्लीरमण बरालका अनुसार सिदिङवा गाउँपालिका अध्यक्षमा प्रदीप राई, सिरिजंगामा लालकृष्ण चौहान, पाथीभरा याङवरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्वनाथ सिटौलाको नाम चयन गरिएको छ । मेरिङदेनमा डम्वर हाङगाम र मिक्वाखोलामा भक्त कार्कीको नाम चयन भएको छ । कांग्रेसको भागमा परेको मैवाखोलाको उपाध्यक्षमा राजेश माश्वा र फक्ताङलुङ गाउँपालिका उपाध्यक्षमा रविन साम्रा लिम्बूलाई चयन गरिएको वरालले जानकारी दिए । माओवादी र नेकपा एससँग गरेको समीकरणमा कांग्रेसको भागमा नगरपालिका प्रमुखसहित सातवटा पालिका प्रमुख र दुई उपप्रमुख परेको थियो । नगरपालिका प्रमुखको टुंगो प्रदेश कार्य समितिले लगाउँछ ।
जिल्ला कार्य समितिका सचिव नन्द ओझाका अनुसार ६१ मध्ये कांग्रेसको भागमा परेका सबै वडाध्यक्षको पनि टुंगो लागेको छ । सिरिजंगा गाउँपालिका २ मा शेरबहादुर लिम्बू, ३ मा हस्तबहादुर खनाल, ५ मा विनोदकुमार राई, ६ मा दलबहादुर लिम्बू र ७ मा लक्षुमन तामाङले उम्मेदवारी पाएका छन् । सिरिजंगा २ मा लक्ष्मीप्रसाद थेवे, ५ मा बमप्रसाद गौतम, ६ मा सुरजराज लिम्बू, ७ मा भानुभक्त गौतम र ८ मा टाँसी लामाले उम्मेदवारी पाएका छन् । आठराई त्रिवेणी गाउँपालिका १ मा हर्कमान तामाङ, २ मा सोम विमली र ४ मा धनहाङ राज तामाङले उम्मेदवारी पाएका छन् ।
फक्ताङलुङ गाउँपालिका ३ मा आइतराम लिम्बू, ४ मा छत्रमणी लिम्बू, ५ मा कुमार हेल्लोक, ६ मा पेम्बाटासी शेर्पा र ७ मा टासी शेर्पालाई उम्मेदवार निर्णय गरिएको छ । मिक्वाखोला १ मा अमृतबहादुर लिम्बू, २ मा राजेन्द्र थापा, ३ मा दिपेन्द्रकुमार लुङखम्वा र ४ मा सदन कुमार साँवाले उम्मेदवारी पाएका छन् । मेरिङदेन गाउँपालिका १ मा टेकबहादुर ओख्रावु, २ मा चन्द्र नाल्वो, ४ वेदप्रसाद लिम्बू र ५ मा विनोदकुमार लिम्बूले उम्मेदवारी पाएका छन । मैवाखोला गाउँपालिका ३ मा खगेन्द्र थक्लुङ, ४ मा फुर्वा शेर्पा र ६ मा सन्तकुमार थोप्राले उम्मेदवारी पाएको ओझाले जानकारी दिए । पाथीभरा याङवरक १ मा बालकृष्ण श्रेष्ठ, ३ भीमबहादुर बस्नेत, ४ कृष्णमान सेनेहाङ र ६ मा पूर्णकुमार थेबेले उम्मेदवारी पाएका छन् ।
फुङलिङ नगरपालिका ३ मा युवराज बराल, ४ मा टिकाराम गुरुङ, ६ मा मदन गुरुङ, ७ मा जीवन पालुङवा, ८ मा छितिज सुनुवार र ९ मा घनेन्द्र गुरुङले उम्मेदवारी पाएका छन् । वडा सदस्यहरुको पनि नाम टुंगीएको र सम्बन्धित पालिकामा पठाएको ओझाले जानकारी दिए ।
