काठमाडौँ — नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । महानगरका उम्मेदवार छान्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । ६ महानगरपालिकामध्ये कांग्रेसले केन्द्रबाट काठमाडौं, ललितपुर र विराटनगरमा मेयर र भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयर पदका उम्मेदवारको छान्नुपर्नेछ ।
त्यसमध्ये भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका तर्फबाट चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति भएको एक नेताले बताए । अधिकारी महानगर कार्यसमितिका सभापति समेत हुन् । उनले मेयरमा आकांक्षा देखाएका थिए ।
भरतपुरमा मेयरका लागि २५ जना र उपमेयरका लागि २४ जना आकांक्षी थिए । सभापति देउवाले यसअघि सत्ता गठबन्धनमा सिट भागबण्डा हुने क्रममै भरतपुरमा कांग्रेसले उपमेयर लिने निधो भइसकेको भनेका थिए । शुक्रबार बसेको शीर्ष नेताहरूको बैठकमा सभापति देउवाले त्यही प्रस्ताव गरेका थिए ।
‘भरतपुरमा कांग्रेसले प्रमुख नपाएपछि उपप्रमुखमा धेरैको दाबी छ । सभापतिज्यूले नै महानगर कार्यसमितिको सभापति चित्रसेन अधिकारीलाई पहिल्यै वचन दिइसक्नुभएकोले त्यहाँको विषयमा धेरै विवाद रहेन,’ ती नेताले भने ।
१४ औँ महाधिवेशनमा अधिकारीले देउवा समूहका उम्मेदवार भरत अधिकारीलाई पराजित गर्दै महानगर कार्यसमितिको सभापति भएका थिए । भरतपुरमा मेयर पदमा भने नेकपा माओवादी केन्द्रले रेनु दाहाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले मेयर उठ्नका लागि शुक्रबारै मेयर पदबाट राजीनामा दिइसकेकी छिन् ।
त्यस्तै, कांग्रेसले काठमाडौंको मेयर सिर्जना सिंहलाई उम्मेदवार बनाउने समेत टुंगो लगाएको छ । अन्य महानगरका प्रमुख र उपप्रमुखका विषयमा भने छलफल जारी रहेको एक नेताले बताए । उम्मेदवारको टुंगो नलागेपछि अहिले बिहान ११ बजेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
