‘हाम्रो मर्का न राजनीतिक दलका नेता बुझ्छन्, न त कर्मचारी, हामीलाई नगरपालिका काठमाडौंको सिंहदरबारजस्तै छ’
अछाम — स्थानीय तहको निर्वाचनको रौनक फेरि सुरु भएको छ । पाँच वर्षअघि संघीयतापछिको पहिलो निर्वाचनमा उम्मेदवारले आश्वासन दिएर भोट मागे । गत चुनावमा धेरैजसो महिलाहरूले भोट माग्न आउने उम्मेदवारलाई भनेका थिए, ‘मदिराले हामी आक्रान्त बन्यौं । मदिरा बन्द होस् । खानेपानीका दुःख छन् । बिजुली चाहियो । महिला लक्षित योजना चाहिए । स्वास्थ्य चौकी चाहियो ।’
त्यहीअनुरूप अछामका १० स्थानीय तहले नै जिल्लामा सरोकारवालासहित पटकपटक बैठक बसे । तर मदिरा बिक्री वितरणमा र मदिराका कारण हुने हिंसामा भने कमी आएन । न त ग्रामीण क्षेत्रका महिलाको जीवनशैलीमा परिवर्तन आयो, न सुखका दिन आए । फेरि चुनावको रौनक सुरु भएपछि महिलाहरूले आफ्ना माग र आवश्यकता पूरा नभएको गुनासो गर्न थालेका छन् ।
मंगलसेन नगरपालिका–१३ को बस्ती गाउँमा एक मात्र पानीको धारा छ । त्यहाँ वर्षा होस् या हिउँद, जहिले पानी लिन आउनेको घुइँचो हुन्छ । बिहान उठ्नेबित्तिकै महिलाहरू खानेपानीको जोहो गर्न थाल्छन् । गाउँमा भएको सरकारी धारा संरक्षण अभावमा जीर्ण बनेको छ । शिक्षा, स्वास्थ्यबाट मात्र होइन अन्य कुरामा पनि यहाँका महिलाहरूले दुःख बेहोर्नुपरेको छ । ‘पालो कुर्दाकुर्दै घरको अरू काम गर्न समय नै हुँदैन,’ स्थानीय पशुपति थापाले भनिन्, ‘धारो छैन कुवाको पानी सबैले भरेर लिँदा धमिलो हुन्छ । हामीले गएको निर्वाचनमा पनि पानीको धारा चाहियो भनेका थियौं । यो पनि पूरा भएन ।’ बस्तीमा जहिल्यै खानेपानीको अभाव हुने गरेको उनले बताइन् ।
सुख्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानीको अभाव भएको हो । सदियौंदेखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि ५० घरको टोलमा सास्ती भएको छ । एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि मध्याह्न १ बजेसम्म मुहानमा लाइन लाग्नुपर्ने समस्या भएको स्थानीय मैना थापा बताउँछिन् ।
‘जताबाट पनि महिलालाई मात्र दुःख छ । घरायसी काम, केटाकेटीको हेरविचार, गाईबस्तुको झन्झट एकातिर हुन्छ, मुहानमा पानी सकियो कि भन्ने चिन्ता अर्कोपट्टि हुन्छ’ उनले दुखेसो पोखिन् । नुहाउनलाई २ घण्टा हिँडेर खोलामा जानुपर्ने, महिनावारी हुॅदा धेरै दिन स्कुल जाने समय पनि नुहाउन धारामा जाँदै बित्ने गरेको शिशु सुधार माविकी छात्रा सीता ढुंगानाले बताइन् । ‘महिनावारी भएको बेला ७ दिनसम्म दिनकै नुहाउने, लुगा धुने गर्नुपर्छ त्यति टाढा जाँदा पनि पालो पाइँदैन । पढाइ छुट्छ,’ उनले भनिन् ।
यो गाउँवासीले नगरपालिकाको आभाससमेत गर्नसकेका छैनन् । दैनिक आवश्यक स्वच्छ खानेपानी त परै जाओस् खोलाको दूषित पानी पिउन पनि तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । करिब चार हजार जनसंख्या भएको यो वडामा न शिक्षाको उचित व्यवस्था छ, न त स्वास्थ्य न त खानेपानीको, विकासका पूर्वाधारमध्ये अन्य के हुन्छ गाउँलेलाई थाहै छैन ।
विकटका बासिन्दा भनेर कुरा गर्न पनि पैसा लाग्लाजस्तो कार्यालयका कर्मचारीले गर्दै आएको स्थानीय मालती साउदले बताइन् । ‘हामीबाट लिनुपर्ने कर भने विभिन्न तरिकाले ललाईफकाई र धम्काई लिने गर्छन् तर हामीले पाउने सेवा सुविधामा भने आफ्नो बाकसबाट दिनुपर्ने भएजस्तो व्यवहार गर्दै आएका छन् । आजसम्म पनि हामी पिछडिएका पिछडिएकै छौं,’ उनले भनिन् , ‘हाम्रो मर्का न त राजनीतिक दलका नेता बुझ्छन्, न त कार्यालयका कर्मचारी, हामीलाई नगरपालिका काठमाडौंको सिंहदरबारजस्तै छ ।’
मंगलसेन नगरपालिका–१३ बाँडा गाउँकी गोमा धामी भन्छिन्, ‘सजिलो स्वास्थ्य सेवा भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’ गाउँबाट स्वास्थ्य चौकी पुग्न ५ घण्टा लाग्छ । सुत्केरी व्यथा लागेका महिलालाई धेरै जोखिम रहेको बताउँदै धामीले भनिन्, ‘मेरो कान्छो छोरा जंगलको बीच बाटोमै जन्मिएको हो,’ त्यो दिन आफू भाग्यले बाँचेको उनले बताइन् । ‘गाउँमा बिजुली छैन । न त गाउँ नजिक विद्यालय छ,’ उनले भनिन्, ‘हाम्रा समस्या कति छन् कति । हामी त हरेक चुनावमा भोटर मात्र हौं । हाम्रो भोट लिन्छन् तर फर्केर हेर्दैनन् ।’
सबैभन्दा बढी महिलाले नै दुःख पाउने गरेको मंगलसेन नगरपालिका–१३ की वडा सदस्य सरु धामीले बताइन् ।
