सुकुम्बासी सधैंका ‘भोट बैंक’

‘भोलि नै लालपुर्जा हातमा थमाइदिन्छौं जस्तो गरी भाषण गर्छन् तर पूरा भएको छैन’

वैशाख ८, २०७९

सम्झना रसाइली

तनहुँ — शुक्लागण्डकी–७ स्याउली बजारका टिकाराम शर्माले नातीनातिना पाइसक्दा पनि घरजग्गाको लालपुर्जा भने अझै पाउन सकेका छैनन् । २०३२ मा भानुमतीको थातथलो छाडेर स्यालीबजार बसाइ झरेको ४ दशक नाघिसक्दापनि उनका लागि लालपुर्जा सपना भइरहेको छ । 

‘मेरो एउटै सपना छ, लालपुर्जा सिरानीमा च्यापेर निदाउने । तर, यो सपना पूरा हुन अझै कति दशक लाग्ने हो भन्ने यकिन छैन,’ उनले भने, ‘लालपुर्जाको आशैआशमा बूढो भइयो, नेताहरू भोलि नै लालपुर्जा हातमा थमाइदिन्छौं जस्तो गरी भाषण गर्छन् तर त्यो अझै पूरा भएको छैन ।’

‘यसअघिका निर्वाचनमा पनि विभिन्न राजनीतिक दलले हामीलाई तत्काल लालपुर्जा उपलब्ध गराउँछौं भन्दै भोट मागे, हामी पनि उनीहरूको भाषण र कुरालाई विश्वास गर्दै भोट दियौं, तर अहिलेसम्म उनीहरूले भनेका कुरा पूरा गर्न सकेका छैनन,’ उनले भने, ‘हामीलाई सधैं सत्तामा पुग्ने भर्‍याङको रूपमा प्रयोग गरियो, अब स्थानीय तहको निर्वाचन पनि संघारमै आएको छ । राजनीतिक दलहरूले फेरि पनि हामीलाई चिप्ला आश्वासन दिएर भोट बैंककै रूपमा प्रयोग गर्छन् । तर, हाम्रो सपना अधुरै रहने होलान् ।’

जनताबाट चुनिएर ठाउँमा पुग्ने नेताहरू बस्ने कुर्सीमा गम लगाइएको र उनीहरू त्यसमा बसेपछि कतै हल्लिन नसक्ने भएका कारणले पनि जनताका लागि जनप्रतिनिधिले काम गर्न नसक्ने हुन कि भन्ने उनको तर्क छ । शर्माले भने, ‘जनप्रतिनिधि कुर्सीमा बसेपछि त्यही टाँसिने रहेछन् । कुर्सीबाट उठ्न नसकेर होला जनतामाँझ आएर यस्तो गर्छु, उस्तो गर्छु भनि गरेका प्रतिबद्धता वर्षौं बित्दा पनि पूरा गर्न सकेका छैनन् ।’

लालपुर्जाको आशैआशमा दिन बित्दै जाँदा हरेका रात लालपुर्जा हातमा लिएको सपना देख्ने शुक्लागण्डकी–७ शान्तिटोलकी तारा थापा बताउँछिन् । ‘नेतालगायत सम्बन्धित संघसंस्थाका व्यक्ति आएर लालपुर्जा दिने आश्वसन दिन्छन्,’ थापाले भनिन्, ‘विपनीमा लालपुर्जा पाउने आशैआशले होला धेरैजसो सपनीमा पनि लालपुर्जा पाएको मात्रै देख्छु ।’ 

कानुन व्यवसायीले सेतो कागजमा लेखेको जग्गाको राजीनामा पत्रको आधारमा लाखौं मुल्यको घर घडेरी जोडजाम गरी बस्दै आएका उनको परिवार जग्गाको रातोपुर्जा हातमा लिने समय कुरेर बसेका छन् । करिव १७ वर्षदेखि उनीलगायत श्रीमान्, दुई छोरा बुहारी र नातिनी शान्तिटोलको अव्यवस्थित जग्गामा बस्दै आएका छन् । सरकारले लालपुर्जा दिन्छु भनी आशा मात्रै देखाएको र लालपुर्जा पाउने आसमा उनका तीन पुस्ता बस्दै आएका छन् । ‘समयसमयमा आएर जग्गा नाप्ने, विभिन्न कागजमा हस्ताक्षर गराउने, नागरिताको फोटोकपीसहित लालपुर्जा पाऊँ भनी निवेदन पनि बुझायौं’, उनले भनिन्, ‘अबत लालपुर्जा पाइन्छ कि भन्ने आशा थियो । तर, निर्वाचनको मुखमा आएर पुनः निस्सा (सेतो पुर्जा) नै वितरण गरिएको छ । चुनावको समयमा निस्सा बाँड्नु भनेको भोट फकाएका हुन् जस्तै लागेको छ ।’

सुकुम्बासीलाई आवास र घरको व्यवस्था गर्ने विषय हरेक चुनावको मुखमा उठ्ने गरेको स्थानीय विष्णुमाया श्रेष्ठले बताइन् । तर, यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनको गुनासो छ । उनले भनिन्, ‘चुनावमा भिड्ने हरेका उम्मेदवारको एजेन्डामा भूमिहीन सुकुम्बासीलाई पहिचान गरी लालपुर्जा उपलब्ध गराउने भन्ने प्रतिबद्धता हुन्छ तर पूरा भने कसैले गर्दैनन् ।’

सुकुम्बासी समस्या समाधान गर्न २०१३ सालयता विभिन्न नाममा २४ वटा आयोग बनिसकेका छन् । अहिले राष्ट्रिय भूमि आयोग क्रियाशील छ । तर, यी सबै आयोगमा आफ्नालाई पद दिने र भूमिहीन सुकुम्बासीमाझ गएर जग्गा नापेजस्तो गर्ने, समयसमयमा निवेदन माग्नेबाहेकका अन्य कम हुन नसकेको उनी बताउँछिन् । आफूले उपभोग गरेको जग्गाको लालपुर्जा नभएपछि बैंकमा धितो राखेर ऋण झिक्नसमेत नपाएको र यसले आफुलाई मात्र नभई सरकारले पनि ठूलो मात्रमा राजस्व गुमाइरहेको उनले बताइन् ।

नेताहरूबाट लालपुर्जाको कुरा सुन्दासुन्दै कान थाकेको भूमिहीन बताउँछन् । उनीहरूले लालपुर्जाको आश्वासन धेरै पाइयो । आशमा धेरै पटक फारम पनि भरेको, हातमा भने अहिलेसम्म लालपुर्जा पर्न नसक्दा दुःख लागेको व्यक्त गर्छन । स्थानीयका अनुसार २०३० सालपछि शुक्लागण्डकीका स्थानीयलाई लालपुर्जा दिन अहिलेसम्म ८ पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन । 

यसअघिको सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग तनहुँको तथ्यांकअनुसार जिल्लामा २ हजार ५ सय ७५ भूमिहीन, २४ हजार २ सय अव्यवस्थित बसोबासी र छुटेका ६ सय १२ गरी २७ हजार २ सय ८७ जनाले लालपुर्जा प्राप्तिका लागि निवेदन दर्ता गराएका छन् । अहिलेको सरकारले गठन गरेको आयोगले पुनः छुटेका भूमिहीन र अव्यवस्थित बसोबासीको निवेदन माग भई आएको हुँदा निवेदनको संख्या बढ्न सक्ने राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । 

भूमि आयोगको सहकार्यमा जिल्लाको बन्दिपुर गाउँपालिकाका ३२५ र शुक्लागण्डकी नगरपालिकाका ८७२ गरी १ हजार १ सय ९७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरूलाई जग्गाको ऐलानी, पर्तीजग्गा उपभोग गरिरहेको प्रमाण (निस्सा) वितरण गरिएको आयोगका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार निर्वाचनपछि बाँकी पालिका र छुटेकालाई निस्सा वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully