उम्मेदवारमा भए युवा सिफारिस

सबै दलले झन्डै १ सय युवालाई विभिन्न पदका लागि सिफारिस गरेका छन्

वैशाख ८, २०७९

हरि गौतम

रुकुम पश्चिम — माओवादी केन्द्रले आठबीसकोट नगरप्रमुखको उम्मेदवारमा ३३ वर्षीय रवि केसीलाई सिफारिस गरेको छ । उनी माओवादीले सिफारिस गरेका सबैभन्दा कान्छा उम्मेदवार हुन् । कांग्रेसले सानीभेरी गाउँपालिका अध्यक्षको उम्मेदवारमा गोरखप्रसाद चन्दलाई सिफारिस गरेको छ । गत निर्वाचनमा पनि अध्यक्ष लडेका चन्द यो वर्ष पनि एक्लै सिफारिसमा परेका छन् । उनी पनि भर्खर ३४ वर्ष पुगे ।

केसी चन्द मात्रै होइन जिल्लामा पार्टीहरूले युवालाई उम्मेदवारको प्राथमितामा राखेका छन् । सबै दलले झन्डै १ सय युवा उम्मेदवारलाई विभिन्न पदका लागि सिफारिस गरेका छन् । त्यसमध्ये झन्डै आधा ४० वर्षमुनिका छन् । गाउँ तथा नगरपालिकाको मुख्य पद मात्रै होइन वडाध्यक्षहरूमा पनि पार्टीहरूले युवाहरूलाई नै अघि सारेका छन् । ‘फाइनल टिकट दिने दिन त आउँदै छ, तर आकांक्षा र सिफारिस हेर्दा युवाहरूको वर्चस्व देखिन्छ,’ मुसीकोट नगरपालिका–९ का षडानन्द शर्माले भने, ‘यो निर्वाचनमा युवाहरूले टिकट पाउने जित्नेमा पनि युवाहरू नै धेरै आउने सम्भावना बढेको छ ।’ पछिल्लो पटकको निर्वाचनमा युवाहरूले गरेको कामका आधारमा पनि पार्टीहरू युवामा केन्द्रित भएको देखिएको उनले बताए । 

वडा सदस्य, वडाध्यक्षदेखि प्रमुख पदमा युवाहरूका आकर्षण हुनु राम्रो भएको त्रिभुवन जनता माविका शिक्षक नरबहादुर ओलीले बताए । उनका अनुसार राजनीतिमा युवा आकर्षण हुनु सकारात्मक पक्ष हो । ‘राजनीतिमा वितृष्णा पैदा भइरहेका बेला स्थानीय चुनावमा युवाहरू आकांक्षी हुनु र सिफारिसमा पर्नुले नयाँ सन्देश दिएको छ,’ उनले भने, ‘ राजनीतिमा युवालाई आकर्षण गर्नुपर्छ भन्ने चेत दलहरूमा बल्ल पलायो ।’

त्रिवेणी गाउँपालिका–१० का टीकाराम ओलीले पछिल्लो समय राजनीतिक दलहरू युवामा विश्वास गर्ने भएको बताए । ‘युवाले सक्दैनन्, धान्दैनन् भन्ने मान्यता सबै दलले लगभग त्यागेको जस्तो देखिन देखियो,’ उनले भने, ‘यसप्रति हामी युवाहरू पनि जिम्मेवार बन्नुपर्नेछ ।’ माओवादी केन्द्रका तर्फबाट त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्षका उम्मेदवार ३० वर्षीय लक्ष्मण ओलीले दल मात्रै नभएर मतदाताले पनि युवाप्रति भरोसा गर्नुपर्ने बताए । सानीभेरी गाउँपालिकामा कांग्रेसका तर्फका अध्यक्षका उम्मेदवार सिफारिस भएका चन्दले पार्टीले विश्वास गरेरै टिकटका लागि उम्मेदवार सिफारिस गरेको बताए । ‘हाम्रो पार्टी युवामा भरोसा गर्ने पार्टी हो, पार्टीले पार्टी र सत्ताको जिम्मेवारीमा युवालाई परिचालन गर्दै आएको छ,’ उनले भने, ‘अब पनि गर्छ ।’ उनका अनुसार कांग्रेसले यो निर्वाचनमा कम्तीमा ५० वर्षका युवालाई उम्मेदवार बनाउने बताए ।

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully