जुम्ला — जिल्ला सुरक्षा समितिले जुम्लाका ४१ मतदानस्थल अति संवेदनशील मानेको छ । जिल्लाका ६९ मध्ये ४१ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्लामा १५ मतदान संवेदनशील छन् । २३ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।
२०७४ को निर्वाचनको अवस्था हेरेर मतदान स्थलको वर्गीकरण गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले बताए । उनका अनुसार भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई पनि अति संवेदनशीलमा राखिएको छ । ‘जिल्लाका सबै मतदानस्थलमा सडक त पुगेको छ, तर केही ठाउँमा पुल नहुँदा सवारीसाधन जान सक्ने अवस्था छैन,’ उनले भने, ‘केही ठाउँका मतदानस्थल पुग्न कम्तीमा ७ घण्टा लाग्ने हाम्रो अनुमान छ ।’
स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको उनले जानकारी दिए । अहिले म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ६ सय ६९ म्यादी प्रहरी भर्ना गरिएको छ । पहिलो स्थानीय निर्वाचन–२०७४ मा ३ चरणमा निर्वाचन भएकाले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । तर यो वर्ष एकैपल्ट निर्वाचन हुन लागेकाले एकीकृत सुरक्षा योजना बनाएर सुरक्षाकर्मी खटाउन लागिएको चन्दले बताए ।
