मोरङमा गठबन्धन कार्यदलले काम गर्न सकेन

हैसियतभन्दा बढी माग हुन थालेपछि भागबन्डा नमिलेको भन्दै संयोजकले कार्यदलको औचित्य सकिएको बताए

वैशाख ६, २०७९

विनोद भण्डारी

विराटनगर — भागबन्डा नमिलेपछि आसन्न स्थानीय तहमा चुनावी तालमेलका लागि सत्तारूढ चार दलले बनाएको कार्यदलको औचित्य कामै नगरी सकिएको छ । मोरङमा नेपाली कांग्रेसका मोरङ उपसभापति भक्तिनाथ माझीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय विश्वास, जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव र नेकपा एकीकृत समाजवादीका उद्धव पोखरेल सदस्य थिए ।

कार्यदलको पटकपटक बसेको बैठकले चार दलबीच पालिकाको भागबन्डा नमिलेपछि कार्यदलको औचित्य समाप्त भएको संयोजक माझीले बताए । पालिका बाँडफाँटमा संख्यामा सहमति हुन नसकेको निर्णय गर्दै आ–आफ्नो दलको जिल्ला कार्यसमितिलाई जानकारी गराउने गरी कार्यदलको औचित्य समाप्त गरिएको संयोजक माझीले बताए । मोरङमा एक महानगरपालिकासहित आठ नगरपालिका र ८ गाउँपालिका छन् । त्यसमध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले महानगरसहित पाँच नगरपालिका र चार गाउँपालिका, एमालेले दुई नगरपालिका र तीन गाउँपालिका, माओवादी केन्द्रले एक नगरपालिका र जनता समाजवादीले एक गाउँपालिकामा प्रमुख र उप्रमुख जितेका थिए । माओवादीले जितेको रंगेली नगरका प्रमुख र उप्रमुख हाल एमालेमा छन् ।

केन्द्रीय समितिले अघिल्लो निर्वाचनमा जुन दलले जितेको छ त्यो पालिका त्यही दललाई दिने र एमालेले जितेका पालिकाको भागबन्डा गरेर चुनावी तालमेल गर्ने निर्देशन दिएको छ । संयोजक माझीका अनुसार कार्यदलको बैठकमा कांग्रेसले जितेका १० पालिका नै नपाउने भएपछि चार दलबीच तालमेलको कुरै मिलेन । ‘अघिल्लो निर्वाचनमा एक पालिकामा जितेको माओवादीलाई त्योबाहेक थप ३ र एक पालिका जितेको जसपालाई पनि त्योबाहेक थप तीन पालिका चाहियो,’ माझीले भने, ‘त्यसमा पनि कांग्रेसले जितेका कटहरी, धनपालथान, सुनवर्षी र बुढीगंगा उनीहरूलाई छाड्नुपर्ने माग रहेपछि कुनै पनि निर्णय हुन नसकेको हो ।’

कार्यदलका सदस्य माओवादी केन्द्रका अध्यक्ष विजय विश्वासले पनि पालिका संख्या भागबन्डा नमिलेपछि चुनावी तालमेलका लागि गठित कार्यदलले कुनै निर्णय गर्न नसकेको स्विकारे । उनले भने, ‘चार दलबीच पालिका भागबन्डामै सहमत हुन सकेन, अब सबै दलका जिल्ला र प्रदेश समितिले तालमेलको खाकामा बहस गर्नेछन् ।’ कांग्रेस प्रदेश समिति उपसभापति रमेशजंग रायमाझीले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले आफनो सांगठनिक अवस्थाभन्दा बढी पालिका माग गरेकै कारण प्रदेशमा चुनावी तालमेलको सम्भावना क्षीण हुँदै गएको बताए । उनीहरूको त्यही माग कायमै रहे प्रदेश समितिले तालमेलका बारेमा बहस गर्नुको औचित्य नभएको उनको भनाइ छ । कांग्रेसको अहमता र एकीकृत समाजवादीले बढी भाग खोज्दा चुनावी तालमेल असम्भवझै देखिएको माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीको भनाइ छ । उनका अनुसार अब चारै दलका प्रदेश समितिले तालमेलका बारेमा छलफल गर्नेछन् ।

खोटाङमा सहमति

खोटाङ– जिल्लामा गठबन्धनले भागबन्डा सकेको छ । १८ दिनको छलफलपछि आइतबार मध्यरातमा दुई नगरपालिका र आठ गाउँपालिकामध्ये छ वटामा सहमति भएको हो । यसमा कांग्रेस र माओवादी केन्द्रले तीन/तीनवटा पालिकाको प्रमुख बाँडेका हुन् ।

कांग्रेसलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, बराहापोखरी गाउँपालिका र रावाबेंसी गाउँपालिकाको प्रमुख तथा अध्यक्ष परेको छ । माओवादीले जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका र ऐसेंलुखर्क गाउँपालिकामा अध्यक्षमा पाएको छ । कांग्रेसले प्रमुख पाएको दिक्तेल रूपाकोट मझवागढी नगरपालिका र रावाबेंसी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र र बरापोखरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई दिने तालमेल मिलेको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए ।

हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र केपिलासगढी गाउँपालिकामा भने कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच कुरा मिलेको छ । यसमध्ये केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीको अध्यक्ष, जनता समाजवादीको उपाध्यक्ष, साकेला गाउँपालिकामा माओवादी केन्द्रको अध्यक्ष, जनता समाजवादीको उपाध्यक्ष र हलेसी तुवाचुङ नगरपालिकामा सहमति नजिक पुगेको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले बताए । जिल्ला समन्वय प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने टुंगो लागेको उनले बताए ।

स्थानीय तह निर्वाचन २०७९

विनोद

Link copied successfully