मतदातामा जागेन उत्साह

‘स्थानीय सरकारले के–के न गर्ला भनियो तर घरघरमा होइन, जनप्रतिनिधिका पेटपेटमा सिंहदरबार आयो’

वैशाख ५, २०७९

डीआर पन्त

धनगढी — गत स्थानीय निर्वाचनमा उत्साहका साथ भाग लिएका ७१ वर्षीय धर्मबहादुर चन्द यसपालि मतदानमा भाग नलिने पक्षमा छन् । ०७४ को निर्वाचनमा उनले मतदान मात्रै गरेका थिएनन्, आफूलाई मन परेका उम्मेदवारको टोलटोलमै पुगेर प्रचारप्रसारमा खटिएका थिए । ‘पाँच वर्षमा भएको ब्रहृमलुट देखेपछि सबै उत्साह र पार्टीहरूप्रतिको विश्वास मरेर गयो,’ चन्दले भने, ‘जित्ने र हार्ने सबैले बाँडीचुँडी गरेर ब्रहृमलुट गरे ।’

कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ का चन्दमात्र होइन यज्ञबहादुर कुँवरले पनि यसपटक मतदानप्रति खासै चासो राखेका छैनन् । कैलालीको गोदावरी नगरपालिका—१२ का कुँवर एमालेका सक्रिय सदस्य पनि हुन् । ‘के के न होला भनेर ठूलो आशा गरियो तर भनेको सोचेको जस्तो भएन,’ कुँवरले भने ‘घरघरमा सिंहदरबार होइन जनप्रतिनिधिका पेटपेटमा सिंहदरबार आयो ।’

गत स्थानीय तह निर्वाचनमा जति उत्साह मतदातामा थियो पाँच वर्षमा त्यो उत्साह चरम वितृष्णामा परिवर्तन भएको छ । संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय निर्वाचनमा जसरी सर्वसाधारण मतदाता, सामाजिक अगुवा र युवाहरूमा निर्वाचनपछि आमुल परिवर्तन हुने 

आशा जागेको थियो ती सवै दोस्रो निर्वाचनको पूर्वसन्ध्यामा जनप्रतिनिधिका क्रियाकलापले निराशामा परिणत भएको हो । ‘निर्वाचनका समयमा पार्टी र उम्मेदवारहरूले जेजे वाचा गरेका थिए ती मध्ये आफ्नो वाचा पुरा गर्ने कोही पनि निस्केनन्,’ युवा व्यवसायी सृष्टी जोरा भन्छन्, ‘गाउँका सामान्य उपभोक्ता समितिमा बस्ने सर्वसाधारणलाई पनि जनप्रतिनिधिले भ्रष्टाचारमा लिप्त गराए । पाँच वर्षे कार्यकालको यो मात्र उपलब्धि भएको छ ।’

जनप्रतिनिधि, उपभोक्ता समितिमार्फत कमाउन पाएका उनका नातेदार र कार्यकर्ताबाहेक बितेको ५ वर्षको कार्यकालबाट सन्तुष्ट हुनेको संख्या थोरै मात्र देखिन्छ । पर्याप्त अधिकार, ठूलो मात्रामा गाउँ पुगेको विकास बजेट, विकासका धेरै सम्भावना हॅुंदाहॅुंदै पनि पाँच वर्ष डाँडाकाँडामा डोजर लगाएर विनाशबाहेक अरू उपलब्धि शून्य रहेको धेरैको अनुभव छ । यस्तै, अनुभव गर्नेमध्येका एक हुन् कैलालीको धनगढी उपमहानगर—५ का सियाचरण चौधरी । शिक्षण पेशामा रहेका चौधरी भन्छन्, ‘निर्वाचित जनप्रतिनिधिभन्दा विगतका राजनैतिक संयन्त्रका पदाधिकारी जनताप्रति उत्तरदायी देखिएका थिए ।’ उनका अनुसार कम्तीमा संयन्त्रका पदाधिकारीहरूले भएको कानुन मिचेर भ्रष्टाचार त गरेका थिएनन् । चौधरीले भने, ‘पाँच वर्षमा जनप्रतिनिधिले एउटा पनि वाचा पूरा गर्न सकेका छैनन् ।’ 

वैशाख ३० मा हुने चरम गर्मी त्यसैमा मतदातामा रहेको वितृष्णाले आउँदो स्थानीय निर्वाचनमा सर्वसाधारणको धेरै कम सहभागिता हुने देखिएको पनि चौधरीले बताए । शिक्षक चौधरीले भने ‘शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीबत्ति जस्ता जनताका आधारभूत आवश्यकतालाई समेत जनप्रतिनिधिले ध्यान दिन नसकेका कारण यो वितृष्णा जागेको हो ।’

विगतको निर्वाचनमा उम्मेदवारले ठूलाठूला सपना बाँडे यस पटक सपना बाँड्नका लागि समेत केही बाँकी रहेन । बजार ब्यबस्थापन समिति वाणी कञ्चनपुरका अध्यक्ष डम्बरराज जोशी कुनै पनि दल र दलका उम्मेदवारप्रति जनताको चासो नभएको बताउँछन् । 

स्थानीय तह निर्वाचन २०७९

डीआर

Link copied successfully