विवेकशील साझाले सार्वजनिक गर्‍यो काठमाडौं महानगरको चुनावी प्रतिज्ञापत्र 

वैशाख ३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाका लागि स्थानीय चुनावको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार विवेकशील साझाले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारसहित पार्टीका नेताहरूले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी घोषणा गरेका छन् ।

मेयर पदकी उम्मेदवार बास्कोटाले विवेकशील साझाले महिलालाई दुवै पदमा उम्मेदवार बनाएपछि अरु ठूला दलहरूले पनि महिलालाई काठमाडौं महानगरपालिकामा उम्मेदवार बनाउन खोजेको बताइन् । उनले भनिन्, 'उम्मेदवारी घोषणापछि ठूला दलहरूले पनि महिला उम्मेदवार घोषणा गर्न लागेकाले विवेकशील साझाले जित हासिल गरिसकेको छ । अरु दलहरूले पनि मेयरलगायत पदमा महिलालाई उम्मेदवार बनाउने चर्चा चलाउनु र उम्मेदवारी महिलाले दिनु विवेकशील साझाको ठूलो उपलब्धि भएको छ ।' 

महिलालाई नेतृत्व दिने कुरालाई व्यवहारमा लागू गर्न आफूहरूलाई निर्वाचित गर्नुपर्ने बास्कोटाको भनाइ थियो । उपमेयरकी उम्मेदवार तुलाधरले शिक्षा, स्वास्थ्य तथा सफासुग्गर काठमाडौं बनाउन आफूहरूले उम्मेदवारी दिएको बताइन् । अन्तर्राष्ट्रियरूपमा प्राप्त अनुभवलाई काठमाडौंमा लागू गर्नका लागि आफूहरूले चाहेको बताइन् । 

देशको राजधानी इमानदार, सक्षम र परिपक्व महिलालाई जिम्मा लगाउँ भन्ने विवेकशील साझाको नारा छ । बास्कोटा र तुलाधर विवेकशील साझाका केन्द्रीय नेतृत्वमा रहेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट काठमाडौंको मेयरमा किशोर थापाले क्यामेरा चुनाव चिह्न र उपमेयर पदमा निरुपमा यादवले सेलरोटी चिह्न लिएर चुनाव लडेका थिए । विवेकशीलसँग एकतापछि रवीन्द्र मिश्र अध्यक्ष रहेको पार्टीको नाम विवेकशील साझा बनेको हो । 

विवेकशील साझाका अध्यक्ष मिश्रले व्यवस्थापकीयरूपमा इमानदाररूपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताए । उनले अब रुख र सूर्य हेरेर होइन क्षमता भएको नेतृत्व छ कि छैन भन्ने हेर्न मतदातालाई आग्रह गरेका थिए । इमानदारी नभएका नेताहरूले गर्दा देश नबनेको उनको भनाइ थियो । इमानदार व्यक्तिहरूलाई काठमाडौं महानगरको मेयर र उपमेयरमा उम्मेदवार बनाएको उनको दाबी थियो । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully