धनकुटामा अधिकांश उपप्रमुखको दाबी प्रमुखमा, पार्टीले चासो दिँदैन

अधिकांश उपप्रमुखले प्रमुखमा उम्मेदवारी दिने सोच राखे पनि सम्बन्धित पार्टी नेतृत्वले त्यसबारे चासो देखाएका छैनन्

वैशाख ३, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु कार्की अधिकारी आगामी स्थानीय तह निर्वाचनमा प्रमुखको दाबेदार बनेकी छिन् । पाँच वर्षे कार्यकालबाट उल्लेखनीय सिकाई भएकोले आगामी निर्वाचनमा पालिकाको प्रमुखको रूपमा उमेदवारी दिने उनको योजना छ ।

कानुन बनाउनेदेखि कार्यान्वयन गर्ने अभ्यासबाट आफू खारिएपछि प्रमुखको दाबेदारीको लागि आफू योग्य रहेको उनको ठम्याइ छ । ‘नगरपालिकाका हरेक घर आँगनमा पुगेर मतदाताको सुखदुःखमा सामेल भइसकेकी छु,’ उनले भनिन्, ‘पाँच वर्षे कार्यकालपछि बाँकी रहेका बाँकी अधुरा योजना पूरा गर्न आफ्नो उपस्थिति जरुरी रहेकोले प्रमुखको दाबेदारको रूपमा उभिएकी हुँ ।’ 

महिला जहिले पनि दोस्रो दर्जा मात्र हुनुपर्छ भन्ने सोच बदल्न आफू प्रमुखका लागि दाबेदार रहेको उनको भनाइ छ । मतदाताबाट आफ्नो उम्मेदवारी माग भएको बताइन् । विकासका पूर्वाधारलाई पूर्णता दिन र मतदाताको भावनालाई सम्मान गर्न प्रमुखको उम्मेदवारी जरुरी रहेको बताउँछिन् । 

अधिकारी जस्तै जिल्लाका अधिकांश पालिकामा हालका उपप्रमुख तथा उपाध्यक्षले आफू यथास्थितिमा नरहने बताएका छन् । जिल्लामा तीन नगर र चार गाउँपालिका छन् । यसअघिको निर्वाचनमा सबै पालिकामा महिला नै उपप्रमुख रहेका छन् । 

चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल पनि आगामी निर्वाचनमा अध्यक्ष पदका लागि खुलेरै आफ्नो उमेदवारीबारे धारणा राख्दै आएकी छिन् । दिगो विकासका लागि महिला नेतृत्व भन्ने नाराका साथ उनले आफूलाई अध्यक्ष पदका लागि अघि सारेको बताउँछिन् । ‘महिलाले जहिले पनि दोस्रो तहको नेतृत्वमा मात्र बसेर हुन्न,’ उनले भनिन्, ‘मतदाताले अध्यक्षका लागि आफ्नो उम्मेदवारीको अपेक्षा गरेकोले अगाडि बढ्ने सोच बनाइसकेको छु । पार्टीमा आफ्ना कुरा राखिसकेको छैन । तर जनतासामु आफ्ना धारणा राख्दै आएको छु । मतदाताबाट नेतृत्व आवश्यक रहेको माग भएकोले पनि अध्यक्ष पदका लागि अगाडी बढ्ने सोचमा छु ।’ 

साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष विन्द्र राई पनि अध्यक्षकी आकांक्षी हुन् । तर, टिकट पाउने कुरामा उनी आफै विश्वस्त छैनन् । अध्यक्षका लागि पार्टीमा आधिकारिक धारणा राख्न बाँकी रहे पनि महिलालाई अझै नेतृत्वमा मौका आउने अवस्था नरहेको उनको तर्क छ । चुनावको रौनक क्रमशः सुरु भएकोले उम्मेदवारीको प्रक्रिया टुंग्याइँदा आफ्नो आकांक्षाबारे पनि सम्बोधन होस् भन्ने पक्षमा छिन् उनी ।

छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठले अध्यक्षको रूपमा आफ्नो आकांक्षा रहेको बताइन् । तर, आफूले सोच बनाए पनि टिकट नपाउने सम्भावना बढेको उनले बताइन् । परम्परागत सोचका कारण महिलालाई पछाडि पारिएको बताउँछिन् ।

पाख्रिबास नगरपालिका उपप्रमुख देवकला पौडेलले पहिलो भएरै काम गर्ने क्षमता विकास भएको बताउँछिन् । निर्वाचनमा धेरै आकांक्षी भएकोले पार्टीले क्षमता योग्यताको आधारमा नेतृत्व चयन गर्ने तयारी गरिरहेको उनको भनाइ छ । आफूभन्दा अग्रज व्यक्तिहरु पनि आकांक्षी रहेकोले परिस्थितिअनुसार अगाडि बढ्ने उनको तर्क छ ।

धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेतले प्रमुखमा तीव्र आकांक्षा रहेको बताइन् । तर, आफू प्रदेश तथा संघीय निर्वाचनका लागि अघि बढ्ने सोच राखेर वर्तमान प्रमुख चिन्तन तामाङ पुनः दोहोर्‍याउने भए सघाउने सोचमा रहेको बताउँछिन् । 

पार्टी नेतृत्व के भन्छ ?

अधिकांश उपप्रमुखले प्रमुखमा उम्मेदवारी दिने सोच राखे पनि सम्बन्धित पार्टी नेतृत्वले त्यसबारे चासो देखाएका छैनन् । यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लाका सबै पालिकामा एमालेले जित हात पारेको थियो ।सबै पालिकामा एमालेबाट निर्वाचित उपप्रमुख छन् । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले उपप्रमुखलाई प्रमुख बनाउने सम्भावना नभएको स्पष्ट पारे ।

मंगलबार बस्ने जिल्ला कमिटीको बैठकले उमम्देवार छनोट प्रक्रियामा अघि बढ्ने उनले बताए । ‘निर्वाचनका लागि कार्यतालिका बनाएर अघि बढ्ने छौं,’ उनले भने, ‘उम्मेदवारका लागि आकांक्षी धेरै भएकोले मिलाएर लैजाने छौं ।’

हालका उपप्रमुखमध्ये पचास प्रतिशतलाई मात्र पुनः सोही पदमा टिकट दिने तयारी रहेको पराजुलीले बताए । प्रतिस्पर्धाको दौडमा धेरैको आकांक्षालाई पार्टीले सम्बोधन गर्नु पर्ने भएकोले पछिल्ला निर्वाचनमा मात्र महिला प्रमुख नेतृत्वको लागि पार्टीले योजना बनाउने  उनको भनाइ छ । 

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले महिलालाई प्राथमिकतामा राख्ने बताए । ‘चैत महिनाभित्र उम्मेदवारी चयनको प्रक्रिया टुंग्याउने छौँ,’ उनले भने, ‘महिलालाई प्राथमिकतामा राख्छौँ ।’ गठबन्धनका दललाई साथ लिएर हिँड्नु पर्दा मिलाएर जानुको विकल्प नभएको उनले बताए । 

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully