आ–आफ्नै उम्मेदवारी दाबीले गठबन्धनमा सकस

वैशाख ३, २०७९

ठाकुरसिंह थारु

नेपालगन्ज — एक उपमहानगरपालिकासहित आठ वटा स्थानीय तह भएको बाँकेमा गठबन्धन दलबीच उम्मेदवारी दाबीलाई लिएर विवाद चुलिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, जनता समाजवादी (जसपा) पार्टी, नेकपा (समाजवादी) दलले आफ्नो पकडमा रहेको दाबी गर्दै स्थानीय तह प्रमुखमा उम्मदवारी माग गरिरहेका छन् । गठबन्धनबीच दोहोरो उम्मेदवारी दाबी भएका कारण विवाद चुलिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र जसपाले दाबी गरिरहेका छन् । तर, नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र जसपाले गठबन्धन तोडिए पनि कुनै पनि हालतमा दाबी नछोड्ने अडान राखेका छन् । जसका कारण गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । ‘गठबन्धन तोडियोस् हामीलाई केही फरक पर्दैन । तर, नेपालगन्जको नेतृत्वका लागि हामी पछि पर्दैनौं,’ जसपा बाँकेका प्रवक्ता समसुलहक राई भन्छन्, ‘हाम्रो दाबी यथावतै छ ।’ उनका अनुसार जसपाले नेपालगन्जसहित डुडुवा, नरैनापुर र जानकी गाउँपालिका गरी चार स्नाथीय तहको नेतृत्वमा दाबी छ । 

कांग्रेसले पनि नेपालगन्ज उपमहानगरपालिकालाई कुनै पनि हालतमा गुमाउन चाहेको छैन । उसले कोहलपुर नगरपालिका, राप्ती सोनारी, खजुरा, बैजनाथ, डुडवा गाउँपालिकालाई आफ्नो आधार क्षेत्र मान्दै नेतृत्वको दाबी गरेको हो । ‘गठबन्धनको कुनै पनि औचित्य छैन । केन्द्रले जे निर्णय गरे पनि हामी त्यसलाई स्वीकार गर्दैनौं,’ नेपाली कांग्रेस बाँकेका नेता तथा निवर्तमान सचिव तप्त पौडेल भन्छन्,‘बाँकेमा गठबन्धन हुँदैन । एक्लाएक्लै चुनाव लडछौँ ।’

त्यस्तै, नेकपा (माओवादी) केन्द्रले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको नेतृत्वमा दाबी गरिरहेको छ । उसले पालिका प्रमुखहरुको उम्मेदवारी पनि टुंगाएको छ । तर, कांग्रेसले भने कुनै पनि हालतमा कोहलपुर नगरपालिका छाड्ने पक्षमा छैन । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले झिनो मतले पराजित भएको थियो । एमालेका उम्मेदवार लुटबहादुर रावत झिनो मतले विजयी भए पनि उपप्रमुखमा कांग्रेसकी सन्जुकुमारी चौधरी विजयी भएकी थिइन् । सन्जुसहित एक दर्जन नेताहरुले कोहलपुरको प्रमुखमा दाबी गरेका छन् । 

नेकपा (माओवादी) केन्द्र बाँकेका अध्यक्ष डम्बर विकले गठबन्धनको प्रयास जारी रहेको दाबी गर्छन् । ‘गठबन्धनका लागि छलफल जारी छ । केन्द्रीय निर्णयलाई सबै दलका साथीहरुले मान्नु हुने छ भन्ने विश्वास छ,’ उनले भने, ‘बाँकेमा गठबन्ध हुन्छ । केही साथीहरुले नमाने पनि केन्द्रको सर्कुलर आयो भने मान्नु पर्ने बाध्यता आइलाग्छ ।’ उनले आफ्नो पार्टीले दुई वटा पालिकाको नेतृत्व दाबी गरेको बताए ।

नेकपा (समाजवादी) का जिल्ला सचिव दिपक जिएमले कांग्रेसका अडानका कारण गठबन्धन हुन नसकेको बताएका छन् । उनले गठबन्धनको बैठकपछि कांग्रेसले एक्लै निर्वाचनमा जान चाहेको जनाए । ‘कांग्रेस एक्लै निर्वाचन लडोस् हाम्रो साथ नचाहेको हो भने,’ उनले भने, ‘व्यक्तिगत स्वार्थका कारणले पनि गठबन्धनमा कांग्रेसले चासो देखाइरहेको छैन । उनले बाँकेको बैजनाथ गाउँपालिकामा आफ्नो पार्टीको दाबी रहेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

ठाकुरसिंह

Link copied successfully