नेतृत्वमा दोहोरिने चाहना

वैशाख १, २०७९

सम्झना रसाइली

तनहुँ — आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका राजनीतिक दलले वडा तहदेखि पालिकाका आकांक्षी उम्मेद्वारको नामावाली संकलन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन् । कांग्रेसले आकांक्षीको आवेदन संकलन गरिसकेको छ भने एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीले भने विभिन्न भेला, अन्तरक्रिया गरी उम्मेद्वारी छनोट कार्यलाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् ।

नामावली संकलनको क्रममा अधिकांश स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्षले सोही पदमा दोर्‍याउने चाहना देखाएको पाइएको छ । 

जिल्लामा ४ नगरपालिका, ६ गाउँपालिका र ८५ वटा वडा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा १० पालिकामध्ये कांग्रेसका उम्मेद्वार व्यास, भानु नगरपालिका, म्याग्दे, आँबुखैरेनी र ऋषिङ गाउँपालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । शुक्लागण्डकी नगरपालिकाको प्रमुख र देवघाट गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसकै उम्मेद्वार विजयी भएका थिए । ऐमालेले घिरिङ गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, शुक्लागण्डकी नगरमा उपप्रमुख, भिमाद नगरपालिकामा प्रमुख/उपप्रमुख र देवघाट गाउँपालिकामा अध्यक्ष पदमा बिजयी भएको थियो । बन्दिपुर गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बिजयी भएका थिए । 

यसैगरी ८५ वडामध्ये कांग्रेस ५०, एमाले ३० र माओवादी ५ वटा वडामा निर्वाचित भएका थिए । जसमध्ये एमालेबाट विजयी २ वडाध्यक्ष एकीकृत समाजवादीमा गएका छन् । यसरी अघिल्लो निर्वाचनमा कांग्रेसले जिल्लाकै पहिलो र एमालेले दोश्रो ठुलो पार्टीका रुपमा स्थापित गरेका थिए । निर्वाचनका लागि उम्मेद्वार छान्न भने अहिले पार्टीलाई सकस परेको छ ।

२०७४ को निर्वाचनमा विजयी उम्मेद्वार र पार्टीका अन्य नेताहरूले पनि नेतृत्वमा आफ्नो आकांक्षा देखाएका कारण पार्टीलाई उम्मेद्वारको टुंगो लगाउन सकस परेको देखिन्छ । अधिकांश पालिकाका प्रमुख उपप्रमुख पुनः सोही पदमा दोहोरिन चाहेको भन्दै सम्बन्धित पार्टीमा आवेदन बुझाएका छन् । कांग्रेसले नगर/गाउँ समितिमार्फत प्रमुख उपप्रमुख पदमा आकांक्षीको नाम संकलन गर्दा अहिलेका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षले पनि आफ्नो नाम टिपाएका छन् । 

व्यासका प्रमुख बैकुण्ठ न्यौपानेले फेरि दोहोरिने इच्छा देखाएका छन् । उनले काँग्रेस व्यास नगरसमितिमा प्रमुख बन्ने आकांक्षा देखाउँदै आवेदन दिएका छन् । उनीसँगै प्रमुख बन्ने दौडमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहित अन्य १५ जना छन् । यस्तै, उपप्रमुखमा वर्तमान उपाप्रमुख मिरा जोशीसहित ७ महिलाले आकांक्षा व्यक्त गर्दै आवेदन दर्ता गराएका छन् ।

शुक्लागण्डकीका प्रमुख किसान गुरुङले पनि फेरि प्रमुख पदकै आकांक्षा देखाउदै आवेदन दिएका छन् । भानुका प्रमुख उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । गौली भानु–११ को वडा सदस्य हुँदै जिल्ला समन्वय समितिमा जाने तयारीमा लागेको चर्चा छ । जिल्लाकै एकमात्र महिला अध्यक्ष मायादेवी रानाले पनि फेरि म्याग्दे गाउँपालिकाकै अध्यक्ष पदमा इच्छा देखाएकी छन् ।

उनीसंगै गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे सहित १० जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । गाउँपालिकाको अध्यक्ष भएर आएसंगै जनता र पालिकाका हक हितका लागि कार्य गरेको बताउँदै म्याग्देका अध्यक्ष रानाले पुनः अध्यक्ष पदमा आवेदन दिएको बताएकी छन् । आफु बलियो उम्मेद्वार भएको कारण पार्टीले आफुलाई नै टिकट दिनुपर्ने उनको दावी छ । 

ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको पनि फेरि दोहोरिने इच्छा छ । कांग्रेसको पकड मानिएको ऋषिङमा श्रेष्ठसंगै संविधानसभा सदस्य झुलबहादुर आलेसहित १३ जनाले अध्यक्ष पदको आकांक्षा गर्दै आवेदन दिएका छन् । घिरिङका अध्यक्ष रनबहादुर राना, देवघाटका अध्यक्ष दुर्गबहादुर थापा, आँबुखैरेनीका अध्यक्ष गिरबहादुर थापा, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापा र भिमादका प्रमुख मेखबहादुर थापाले पनि फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । उनीहरू मध्ये अधिकांशले पार्टीमा दावी र आ–आफ्नो तर्फबाट लबिङ समेत गरिरहेका छन् ।

मुलुक संघीय संरचनामा गएपश्चात स्थानीय पालिकाको पहिलो नेतृत्व सम्हाल्दा काम भन्दा सिकाई बढि भएकाले चाहेजस्तो बिकास निर्माणका कामलाई गति दिन नसकेकाले अबको पाँच वर्ष पुनः प्रमुख भएर आए आफ्ना योजनालाई गति दिन मद्दत मिल्ने उनीहरूको भनाई छ । 

चुनावलाई केन्द्रित गरी कांग्रेसले फागुन २८ देखि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी संगठनमा सकारात्मक ऊर्जा थपेको कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । 

‘अभियानसँगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल तथा आकांक्षी उम्मेद्वारहरूको नामावली संकलन भइरहेको छ’, उनले भने, ‘गठबन्धन गरी चुनावमा जाने तयारी पनि भइरहेको हुँदा उम्मेद्वारको टुंगो भने तत्काल लाग्दैन् ।’ राजनीतिमा कुनैपनि योगदान नभएका व्यक्तिहरू नेतृत्वमा आउनका लागि दौडधुप गरेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully