४ नगरपालिकामा २३ ले प्रमुख, १२ जनाले उपप्रमुख तथा ४ गाउँपालिकामा १४ ले अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी
लमजुङ — स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न स्थानीय तहमा उम्मेदवारका आकांक्षी बग्रेल्ती देखिएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गठबन्धनमा रहे पनि एमालेका तर्फबाट नेतृत्व लिन धेरैले आकांक्षा देखाएका छन् ।
चार नगरपालिका र ४ गाउँपालिकाको प्रमुख र उपप्रमुख साथै अध्यक्ष र उपाध्यक्षमा सहमति हुन सकेको छैन । पालिका कमिटीले बैठक बसेर सिफारिस गरेका नाममा अधिकतम सहमतिको प्रयास गरिए पनि आकांक्षी धेरै देखिएकाले हुन नसकेको पालिका कमिटीका अध्यक्षले बताए ।
उनीहरूका अनुसार कतिपय जनप्रतिनिधि उही पदमा दोहोरिन चाहेका छन् भने कतिपय उपप्रमुख तथा उपाध्यक्षले प्रमुख तथा अध्यक्षमा दाबी गरेका छन् । ४ नगरपालिकामा २३ जनाले प्रमुख र १२ जनाले उपप्रमुखमा दाबी गरेका छन् । चार गाउँपालिकामा १४ अध्यक्ष र १५ जनाले उपाध्यक्षमा दाबी गरेका छन् । बेंसीसहर नगरपालिकाको प्रमुख पदका लागि हालका प्रमुख गुमानसिंह अर्याल, पार्टीका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, गोविन्द बस्नेत, राजेन्द्र बोहरा र राजकुमार श्रेष्ठ गरी ६ जनाको दाबी छ । उपप्रमुखमा पद्मा गुरुङ, पवित्रा थापा राना र मनमाया गुरुङ गरी ३ जनाले दाबी गरेका छन् ।
सुन्दरबजार नगरपालिका प्रमुखमा वर्तमान प्रमुख जनकराज मिश्र, पार्टीका नगरकमिटी अध्यक्ष भीमबहादुर गुरुङ, जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डे, प्रेमबहादुर भट्टराई, शान्ता भुजेल, जयराम रेग्मी र सुरेशकुमार दुरा गरी ७ जनाले दाबी गरेका छन् । उपप्रमुखमा लक्ष्मी पोखरेल, शान्ता सापकोटा र भवानी केसी गरी ३ जनाले दाबी गरेका छन् ।
मध्यनेपाल नगरपालिका प्रमुखमा हालका उपप्रमुख राजकुमार श्रेष्ठ, पार्टी नगरकमिटी अध्यक्ष योगेन्द्रनारायण शाहलगायत ६ आकांक्षी देखिएका छन् । सीता गुरुङ र लक्ष्मी घिमिरे गरी २ जनाले उपप्रमुखमा दाबी गरेका छन् । राइनास नगरपालिकामा वर्तमान प्रमुख सिंहबहादुर थापा, पार्टीका नगरकमिटी अध्यक्ष पूर्णबहादुर गुरुङलगायत ४ जनाले प्रमुख पदमा दाबी गरेका छन् । उपप्रमुखमा पनि ४ आकांक्षी छन् । मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा हालका अध्यक्ष अर्जुन गुरुङलगायत ३ जना र उपाध्यक्षमा पनि ३/३ जनाले दाबी गरेका गाउँकमिटी अध्यक्ष चेतबहादुर गुरुङले बताए ।
दोर्दी गाउँपालिकामा पार्टी गाउँकमिटी अध्यक्ष युवराज अधिकारीलगायत ४ र उपाध्यक्षमा ५ जनाले आकांक्षा देखाएका छन् । दूधपोखरी गाउँपालिकामा ६ जनाले अध्यक्षमा र ३ जना उपाध्यक्षमा आकांक्षा देखिएका छन् । क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा हालसम्म सूर्य गुरुङले मात्रै अध्यक्षमा दाबी गरिरहेका छन् ।
उपाध्यक्षमा ४ जनाले आकांक्षा देखाएका छन् । एमाले अध्यक्ष कृष्णप्रसाद अधिकारीले स्थानीय तह चुनावमा आकांक्षी धेरै देखिएको बताए । उनका अनुसार वडाध्यक्षदेखि पालिका प्रमुखसम्म २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् । ७५ वटा वडामध्ये अधिकांश वडामा २ भन्दा बढीले आकांक्षा व्यक्त गरेका छन् ।
