एमाले विराटनगर महानगर कमिटीद्वारा नगरप्रमुखमा ५ जनाको नाम सिफारिस

चैत्र २७, २०७८

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको प्रमुखका लागि एमाले महानगर नगर कमिटीले ५ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । कांग्रेस महानगर कमिटीले सोमबार बस्ने बैठकले प्रमुखको नाम पार्टीमा सिफारिस गर्ने भएको छ ।

एमाले महानगर कमिटीले एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम भन्ने कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 

महानगर कमिटीले महानगर उपप्रमुखमा प्रदेश कमिटी सदस्य विमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्यय र महानगर कमिटी उपाध्यक्ष शिल्पा कार्कीको नाम सिफारिस गरेको महानगर अध्यक्ष सागर थापाले बताए । 

कांग्रेस महानगर कमिटी विराटनगरका सभापति दिपक चापागाईंले सोमबार बस्ने महानगर कमिटीको बैठकले उम्मेदवारको नाम पार्टीमा सिफारिस गर्ने निर्णय गर्ने बताए ।

यस्तै, जनता समाजवादी पार्टी विराटनगर महानगर समितिका उपाध्यक्ष मो. नसरुलले पार्टी केन्द्रले गठबन्धनको विषयमा लिने रणनीतिका आधारमा उम्मेदवारको नाम सिफारिस गर्ने बताए ।

कान्तिपुर

Link copied successfully