१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गठबन्धन दल अलमलमै

धरान उपमहानगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखको नाम पठाउँदै
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका कांग्रेसहित गठबन्धन दलबीच ठोस सहमति नहुँदा आफ्ना उम्मेदवार सिफारिस गर्न अलमलिइरहेका छन् । कांग्रेससहितको गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाबीच भने धरानमा प्रमुख, उपप्रमुख र वडाध्यक्ष र वडासदस्य पदको साझा उम्मेदवार उठाउने विषयमा सहमति हुन सकेको छैन ।

गठबन्धन दल अलमलमै

कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले भने, ‘उम्मेदवारका आकांक्षीहरुको संख्या धेरै भएकाले सहमति जुट्न सकेको छैन । आन्तरिकरुपमा छलफल जारी छ । वडा तहमै समस्या छ । गठबन्धनमा कुन दललाई कुन पदका लागि कुन वडा छाड्ने भन्ने मुख्य समस्या छ ।’ धरानमा कांग्रेसले प्रमुख राखेर माओवादी केन्द्रलाई उपप्रमुख पद दिने तयारी गरेपनि सहमति हुन सकेको छैन । प्रमुख पदमा माओवादीले पनि दाबी गरिरहेको छ ।

धरान उपमहानगरपालिकामा नेकपा एमालेले भने प्रमुख र उपप्रमुख उम्मेदवारसहित वडाध्यक्ष र वडासदस्यहरुको नाम रिफारिस गर्ने टुंगोमा पुगेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रमुख पदको उम्मेदवारमा १० जना र उप्रमुख उम्मेदवारमा ६ जनाको नाम सिफारिस गर्ने तयारी गरेको छ । सर्वसम्मत प्रमुख र उपप्रमुख उम्मेदवारको नाम सिफारिस गर्ने प्रयास गरेपनि सहमति जुट्न नसकेपछि पार्टीको जिम्मेवारीको आधारमा आकांक्षीहरुको नाम राखेर पठाउने तयारी गरेको हो ।

धरान उपमहानगर कमिटीको आइतबार बसेको पूर्ण बैठकले प्रमुखमा १० जनाको नाम र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । धरान इन्चार्ज नारायण सुवेदीका अनुसार प्रमुख पदको उम्मेदवारमा एमालेले पहिलो नम्बरमा पूर्व नगर प्रमुखसमेत रहेका प्रदेश सदस्य मनोजकुमार मेन्याङ्बो, त्यसपछि जिल्ला सदस्य तथा पूर्व उपप्रमुख मिनकुमार सुब्बा, केन्द्रीय सदस्यसमेत रहेकी बहालवाला उपप्रमुख मन्जु भण्डारी, बहालवाला प्रतिनिधिसभाका सांसद जयकुमार राई, प्रदेश सदस्यहरु रमेश बस्नेत, किशोरकुमार कार्की, नगर इन्चार्ज नारायण सुवेदी, भोतिराज सुनुवार, विजय राई र पूर्व जिल्ला कमिटी सदस्य तीर्थ मास्केको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

उपप्रमुखको उम्मेदवार सिफारिसमा जिल्ला सदस्य पदम इस्वो लिम्बू, प्रदेश सदस्य लहरु जिमी, जिल्ला सदस्य सविता राई चाम्लिङ, जिल्ला सदस्य लिला राई, प्रदेश सदस्य सुशीला पहाडी, जिल्ला सदस्य इन्द्रकला राईका नाम रहेका छन् । नगर कमिटीले यी नामहरु जिल्ला र प्रदेशमा पठाउने र प्रदेश कमिटीले टिप्पणीसहित केन्द्रमा पठाउने छ ।

वडाध्यक्षहरुमा वडा २ बाट रमेश राई, ७ बाट जीवन सुवेदी, ९ बाट शिव राई, १२ बाट टंक राई, १३ बाटा नेत्र काफ्ले, १४ मा उत्तम आले सर्वसम्मत सिफारिस गर्ने तयारी भएको छ । १३ का काफ्ले र १९ का लिम्बु बहालवाला वडाध्यक्ष हुन् । अरु वडाहरुमा केही दिनभित्र सर्वसम्मत वा आएको नामहरु जिल्ला र प्रदेशमा सिफारिस गर्ने तयारी भएको एमाले धरान नगरकमिटिले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?