गठबन्धनबारे मोरङ कांग्रेसमा किचलो

कांग्रेसको एक पक्षले अनुकूल परिस्थितिमा पनि सत्ता गठबन्धन दलसँग तालमेल गरेमा कार्यकर्ता व्यवस्थापनमा समस्या हुने र पार्टीलाई घाटा लाग्ने दाबी गरेको छ
विनोद भण्डारी

विराटनगर — कांग्रेस नेता शेखर कोइरालाको गृहजिल्ला मोरङमा सत्ता गठबन्धन दलहरूसँग आसन्न स्थानीय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने विषयमा कांग्रेसभित्र किचलो सुरु भएको छ । कोइरालाले गठबन्धनसँग तालमेल गर्न नहुने अडान राख्दै आएका छन् । 

गठबन्धनबारे मोरङ कांग्रेसमा किचलो

१७ स्थानीय निकाय र ६ निर्वाचन क्षेत्र रहेको मोरङमा पार्टीको १४ औं महाधिवेशनमा कोइराला पक्षको बहुमत र पार्टी सभापति शेरबहादुर देउवा पक्ष अल्पमतमा छ । कोइराला पक्ष तालमेल गर्न नहुने र देउवा पक्ष तालमेल गर्नुपर्ने वकालत गर्दै आएको छ । यी दुई समूहबीच चुनावी तालमेलका नाममा सार्वजनिक मञ्चमा जुहारीको क्रम सुरु भएको छ । बुधबारको सार्वजनिक मञ्चमा प्रदेशका आन्तरिक मामिलामन्त्री केदार कार्की, कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझी र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले चुनावी तालमेलका विषयमा मञ्चमै जुहारी खेलका थिए ।

कोइराला समूहका कार्की र घिमिरेले चुनावी तालमेलको विरोध गर्दा देउवा समूहका रायमाझीले तालमेलको बचाउ गरेका थिए । आपसी तिक्तता बिर्सिएर नेता/कार्यकर्ता एक ढिक्का भएमा कांग्रेस एक्लैले चुनाव जित्ने नेता कोइरालाले पटक–पटक बताउँदै आएका छन् । यसै क्रममा कांग्रेसको विराटनगर महानगर समितिले आसन्न चुनावमा एक्लै लड्ने निर्णय गरेको छ । ‘महानगरमा कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल गर्दैन,’ महानगर सभापति दीपक चापागाईले भने, ‘प्रदेश र केन्द्रीय समितिले जबर्जस्ती लाद्न खोजे मान्य हुँदैन ।’

महानगरमा १९ वडा छन् । सवै वडाका सभापतिले चुनावी तालमेल नगर्ने सामूहिक निर्णय गरेको चापागाईंले बताए । अघिल्लो निर्वाचनमा विराटनगरबाट कांग्रेसले मेयर र उपमेयरसहित ८ वटा वडा जितेको थियो । बेलबारी नगरपालिकामा पनि चुनावी तालमेल नहुने नगर सभापति छत्र लिम्बूले बताए । ‘अहिले परिस्थिति अनुकूल छ,’ उनले भने, ‘अनुकूल परिस्थितिमा सत्ता गठबन्धन दलहरूसँग तालमेल गरेमा कार्यकर्ताको व्यवस्थापनमा समस्या हुँदा पार्टीलाई घाटा लाग्छ ।’ यो नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर झिनो मतले जितेको थियो ।

सुन्दरहरैंचा नगरपालिकामा पनि तालमेलको औचित्य नभएको नगर सभापति भक्ति सिटौलाले बताए । गत चुनावमा यहाँ कांग्रेसले मेयरमा जितेको थियो । ‘केन्द्रले आवश्यकता र औचित्यका आधारमा तालमेल गर्न भनेको छ,’ उनले भने, ‘मुख्य सिटमा नभई बढीमा तीन वडासम्म तालमेल गर्न सकिन्छ ।’ गत निर्वाचनमा कांग्रेस महानगर विराटनगर, सुनवर्षी, रतुवामाई, उर्लाबारी, लेटाङ, सुन्दरहरैंचा नगरपालिकासहित केराबारी, धनपालथान र कटहरी गाउँपालिकामा विजयी भएको थियो । एमालेले बेलबारी र पथरी शनिश्चरे नगरपालिकासहित कानेपोखरी र मिक्लाजुङ गाउँपालिका जितेको थियो ।

त्यसैगरी माओवादी केन्द्रले रंगेली नगरपालिकामा मेयर र उपमेयरसहित तीन वडा जितेको थियो । हालै रंगेलीका मेयर दिलीप बगोडियासहित उपमेयर र तीनवटै वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरमले जहदा गाउँपालिका जित्दा तत्कालीन लोकतान्त्रिक फोरमले बुढीगंगा र ग्रामथान गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो । ती दुवै स्थानीय तहका प्रमुख र उपप्रमुख अहिले कांग्रेसमा छन् । विगतमा कांग्रेसले जितेका र झिनो मतान्तरले हारेका स्थानीय निकायमा सत्ता गठबन्धनसँग तालमेल नहुने कांग्रेस उपसभापति नागेश कोइरालाले बताए । ‘आवश्यकताअनुसार विगतमा एमाले, माओवादी र समाजवादी फोरमले जितेका स्थानीय निकायमा केही वडामा गठबन्धनसँग तालमेलको कुरा गर्न सकिन्छ,’ कोइरालाले भने, ‘वडामा हुन सक्छ तर मुख्य पदमा सम्भव छैन ।’

केन्द्रको निर्णयभन्दा बाहिर जाँदा आत्मघाती हुने केन्द्रीय सदस्य अमृत अर्यालको भनाइ छ । उनका अनुसार वडादेखि केन्द्रसम्म गुट–उपगुट छ । ‘त्यो गुटको अन्त्य नभएसम्म कोही पनि सुरक्षित छैनन्, त्यसैले आगामी चुनावमा सत्ता गठबन्धनसित तालमेल जरुरी छ,’ अर्यालले भने ।

मोरङ कांग्रेसमा जिल्ला कार्यसमितिसहित पाँच क्षेत्रीय सभापति तालमेलको विपक्षी कोइराला समूहमा छन् । यो समूहमा नेता शेखरसहित महेश आचार्य, मीनेन्द्र रिजाल छन् । तालमेलको पक्षमा अर्थात् सभापति देउवा समूहका केन्द्रीय सदस्यहरू अमृत अर्याल, डिला संग्रौला, महानगर प्रमुखसमेत रहेका भीम पराजुली र राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलगायतका नेता छन् । कांग्रेसको प्रदेश समितिमा देउवा–सिटौला समूहको बहुमत छ ।

प्रकाशित : चैत्र २६, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?