२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एमालेसँग तालमेल सम्भावना छ : कमल थापा

राप्रपा नेपालको घोषणापत्र :  १० वर्षभित्र सबैको जीवनस्तर गरिबीको रेखामाथि पुर्‍याउने
मधु शाही

काठमाडौँ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग स्थानीय निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । राप्रपा नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सूर्य चिह्नलाई साझा बनाउने विषयमा छलफल भइरहेको बताए । ‘हामी अहिलेको चुनावमा ठूलो महत्त्वाकांक्षा बोकेका छैनौं,’ थापाले भने, ‘तर चुनाव जित्न र जिताउनका लागि एमालेसँग तालमेल हुने सम्भावना प्रशस्त छ ।’ 

एमालेसँग तालमेल सम्भावना छ : कमल थापा

एक साताभित्रै एमालेका शीर्ष नेतासँग बैठक बसेर तालमेलको टुंगो लगाउने उनले सुनाए । सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने विषयमा पार्टीका केही केन्द्रीय नेताले फरक मत राखेका छन् । केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोख्रेलले चुनावमा एमालेसँगको सहकार्य र साझा चिह्न सूर्य लिन सकिने भए पनि पार्टी स्थापना गर्न ‘तीर’ नै लिनुपर्ने बताए । ‘सूर्य चिह्न साझा बनाउनु आपत्ति होइन,’ उनले भने, ‘राप्रपा नेपालको चिह्नलाई जनतामाझ प्रचार गर्न पनि भुल्नु हुँदैन ।’

डेढ महिनाअघि गठन भएको राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र र चुनाव चिह्न ‘तीर’ पनि सार्वजनिक गरेको छ । पार्टीका प्रचारप्रसार प्रमुख सुरेन्द्र आचार्यको संयोजकत्वमा तयार पारिएको घोषणापत्रमा दस वर्षभित्र सबै जनताको जीवनस्तरलाई गरिबीको रेखामाथि पुर्‍याउने लक्ष्य राखिएको छ ।

घोषणापत्रमा देशका सबै पालिकालाई स्मार्ट सिटी बनाउने र हरेक पालिकामा एउटा गौशाला निर्माण गरेर गौ माताको संरक्षण गर्ने, जातीय आधारमा मन्दिर प्रवेशमा रोक लगाउने कार्यविरुद्ध अभियान थाल्ने, १० प्रतिशत बजेट महिलालाई छुट्याउने, आरक्षणसहितको विशेष अधिकार व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । राष्ट्रियताको सुदृढीकरण गर्ने, संगठित धर्म परिवर्तन र जबर्जस्ती धर्म परिवर्तनलाई रोक लगाउने, नेपाल बन्द कहिल्यै नगर्ने, राप्रपा नेपालले जितेका गाउँ वा नगरपालिकामा कुनै पनि बहानामा बन्द गर्न नपाइने राप्रपा नेपालको नीति छ ।

त्यसैगरी निर्वाचन सम्पन्न भएको एक महिनाभित्र सबै पालिकामा प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरिनेछ । त्यही सर्वेक्षणका आधारमा आर्थिक सुधारका कार्यक्रम ल्याइने घोषणापत्रमा उल्लेख छ । सनातन धर्मको संरक्षण र संवर्द्धन, सुशासन, समृद्धिका योजनासमेत घोषणापत्रमा राखिएका छन् ।

अध्यक्ष थापाले प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रधानमन्त्री छान्ने व्यवस्था र संसद्को दुवैतर्फबाट निर्वाचित राष्ट्रपति हुने व्यवस्था माग गरेका छन् ।

प्रकाशित : चैत्र २६, २०७८ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?