सोलुखुम्बु — स्थानीय तहको आगामी निर्वाचनमा तालमेलका लागि जिल्लामा सत्तारुढ पाँच दलीय गठबन्धनले जिल्लास्तरीय संयन्त्र निर्माण गरेको छ । आज सदरमुकाम सल्लेरीमा बसेको गठबन्धनमा सामेल दलहरुको बैठकले स्थानीय निर्वाचनमा तालमेलको लागि संयन्त्र निर्माण गरेको हो ।
बैठकले नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पा, नेकपा (माओवादी केन्द्र) का संयोजक असिम राई, नेकपा एकीकृत समाजवादी, सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङबु लामा र जनता समाजवादी पार्टीका अध्यक्ष नरेन्द्र थापा मगर रहेको संयन्त्र बनाएको छ ।
जिल्लामा पहिलो पटक बसेको गठबन्धन आबद्ध दलहरुको बैठकले निर्वाचनमा सत्तारुढ गठबन्धनमा सम्बद्ध पाँच दलबाहेक अन्य दलसँग साँठगाँठ गर्न नपाउने निर्णय गरेको छ । ‘हामीले पाँच दलबाहेक जिल्लामा तालमेल नगर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छौँ,’ माओवादी केन्द्रका संयोजक असिम राईले कान्तिपुरसँग भने, ‘तल्ला तहका समितिहरुलाई पनि चुनावी तालमेलका लागि महोल बनाउन सबै पार्टीले निर्देशन दिने निर्णय भएको छ ।’
कांग्रेस जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको बैठकले आसन्न निर्वाचनमा दलहरुकाबीचमा आपसमा विश्वासको वातावरण निर्माण गरी अघि बढ्ने सहमति समेत गरेको छ ।
८ वटा स्थानीय तह रहेको जिल्लामा यस अघिको निर्वाचनमा नेपाली कांग्रेसले एक नगरपालिका, नेकपा माओवादी केन्द्रले तीन गाउँपालिका र नेकपा एमालेले ४ गाउँपालिका जितेको छ । दलहरुकाबीचमा जिल्लामा कुन पालिका कसले लिने भन्ने निचोड ननिस्किए पनि नेपाली कांग्रेसले भने एमालेले जितेका मध्ये माप्यदूधकोसी र खुम्बुपासाङल्हमु गाउँपालिकामा मात्रै तालमेल गर्नु पर्ने बताउँदै आएको छ भने माओवादी केन्द्रले भने एमालेले जितेका सबै पालिकामा भागबण्डा गरी ८ वटै पालिकामा तालमेल गर्नु पर्ने योजना अगाडि सारेको छ ।
नेपाली कांग्रेसका अधिकांश पालिका समितिहरुले भने तालमेल गर्न नहुने भन्दै निर्णय नै गरेर जिल्ला समितिमा पठाएका छन् । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले भने स्पष्ट रुपमा दाबी अगाडि सारिसकेका छैनन् ।
