गोरखा — आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार आकांक्षा गर्नेको होडबाजी चलेको छ । जिल्लामा वडा सदस्यदेखि नै आकांक्षी धेरै छन् । ११ स्थानीय तह रहेको जिल्लामा कांग्रेसबाट मात्र एउटै पालिकामा अध्यक्षमा दाबी गर्ने १४ सम्म छन् । पाँच पदमा ३७ आकांक्षी छन् । अजिरकोट–४ को एउटै वडामा कांग्रेसबाट मात्र वडाअध्यक्ष र सदस्य गरी ३१ आकांक्षी छन् ।
वडाध्यक्षमा मात्र १२ आकांक्षी रहेको कांगेस अजिरकोट सभापति गंगबहादुर गुरुङले बताए । वडामा उठ्ने उम्मेदवारको टुंगो भने कांग्रेस क्षेत्रीय कार्यसमितिले लगाउनेछ । गोरखा–६ मा पनि वडाध्यक्षमा ७ आकांक्षी छन् । गोरखा–३ मा कांग्रेसबाट मात्र वडा अध्यक्षमा १० आकांक्षी देखिएका छन् ।
सहिद लखन गाउँपालिकामा पनि वडाध्यक्षदेखि सदस्यसम्म नौवटै वडामा आकांक्षी धेरै रहेको कांग्रेस गाउँपालिका सभापति काशीनाथ अंगाईले बताए । ‘जनप्रतिनिनिधि भएर सेवा गर्न इच्छा राख्नेहरू बढी छन्,’ सहिद लखन–८ का वडाध्यक्ष अंगाईले भने, ‘सेवासुविधा पनि पाउने भएकाले आकांक्षी धेरै भए ।’
आकांक्षीको संख्या बढी हुँदा उम्मेदवार टुंगाउन पनि दललाई हम्मेहम्मे परेको छ । बारपाक सुलिकोट गाउँपालिकामा कांग्रेसका तर्फबाट वडा २ को अध्यक्ष निर्विरोध वनेका छन् । अन्यमा आकांक्षी धेरै छन् । वडा एकमा ५, तीनमा ४, चारमा ९, पाँचमा ५ मा ८, ६ मा ७, सातमा २, आठमा ४ जना आकांक्षी छन् । भीमसेन थापा गाउँपालिका–१ मा वडा अध्यक्षसहित चार सदस्यका कांग्रेसबाट मात्र ३७ जना आकांक्षी छन् ।
‘यो राजनीतिप्रतिको आकर्षण पनि हो, अहिले सुविधा, मानप्रतिष्ठाको कुरो पनि छ,’ भीमसेन थापा–२ का वडाध्यक्ष नारायण भट्टराई भन्छन्, ‘योजना पार्न पनि जनप्रतिनिधिलाई सहज हुन्छ ।’ पालिकामा पनि उम्मेदवारी दाबी गर्नेको संख्या कांग्रेसभित्र धेरै छ ।
उम्मेदवारीका लागि नामावली संकलन गर्दा एउटै पालिकाबाट अध्यक्षमा १४ जना सम्मले इच्छापत्र दायर गरेका छन् । गोरखा मेयरमा १०, पालुङटाको मेयरमा ९ आकांक्षी छन् । सहिद लखन अध्यक्षमा ९, भीमसेन थापा अध्यक्षका आकांक्षी ९, बारपाक सुलिकोट अध्यक्षमा ५ र अजिरकोट अध्यक्षमा १४ आकांक्षी देखिएका छन् ।
