रुपन्देहीमा गठबन्धनले छलफललाई तीव्रता दिँदै

चैत्र २४, २०७८

सन्जु पौडेल

तिलोत्तमा — सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा के-कसरी टिकट बाँडफाँट गर्ने भन्नेबारे छलफललाई तीव्र पारेका छन् । जतिसक्दो चाँडो जिल्लाका १६ वटै स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडि बढेको गठबन्धनका संयोजक एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

बिहीबारको बैठकमा पालिकास्तरीय संयन्त्रलाई तत्काल संयुक्त बैठक बसी यही चैत २७ गतेभित्र जिल्लामा रायसुझाव पठाउन निर्देशन दिने निर्णयसमेत भएको छ । त्यस्तै गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाहेक अन्य दलसँग बैठक नबस्नसमेत निर्देशन भएको छ ।  

सबै दलको सह-अस्तित्व स्वीकार गर्दै सम्मानजनक रुपमा साझा उम्मेदवार घोषणा गर्ने गरी छलफल अगाडि बढेको जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले जानकारी दिए । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully