उम्मेदवारबिनै दलहरू गाउँगाउँमा

चैत्र २४, २०७८

राजबहादुर शाही, हरि गौतम

रुकुम पश्चिम र मुगु — कर्णालीका सबैजसो राजनीतिक दलहरूले उम्मेदवारबिनै चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका दलका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरू अहिले गाउँ केन्द्रित भएका छन् । आ–आफ्नो पार्टीले गरेका राम्रा कामहरूको प्रचारप्रसार गर्दै दलहरू चुनावकेन्द्रित भएका हुन् ।

राजनीतिक प्रशिक्षण गर्ने, पार्टी तथा भ्रातृ संगठनका भेला, बैठक, छलफल गर्ने, पार्टी प्रवेश गराउनेजस्ता गतिविधिले गाउँमा माहोल बढेको छ । ‘दलहरू भोट माग्न त आइरहेका छन्,’ डोल्पाको मुड्केचुला गाउँपालिका–३ का ओपेन्द्र रोकायले भने, ‘तर खास एजेन्डा र उम्मेदवार नहुँदा चुनावी माहोल त्यति रोचक बनेको छैन ।’

निर्वाचनको मिति नजिकिए पनि उम्मेदवार नटुंग्याइनु दलहरूकै लागि घाटाको विषय भएको उनले बताए । ठूलीभेरी नगरपालिका–३ का लालवीर बुढाले पनि उम्मेदवार छनोट बिनाकै प्रचारप्रसार सार्थक नहुने बताए । ‘उम्मेदवारसहितको प्रचार हुँदा मतदातामा एउटा मनोविज्ञान बन्छ,’ उनले भने, ‘नत्र मतदातामा अन्योल त भइहाल्छ नि ।’ 

एमालेका जिल्ला सचिव लंकबहादुर रोकायले पार्टीले व्यक्तिभन्दा पार्टीका लागि मत माग्ने गरिरहेको बताए । ‘जो भए पनि पार्टीकै उम्मेदवार हुने भएकाले अहिले पार्टीका लागि मत मागिरहेका हौं,’ उनले भने, ‘उम्मेद्वार छनोटपछि पनि यो अभियान जारी रहन्छ ।’ उनले चैत महिनाभित्रै पार्टीले सबै उम्मेदवारको टुंगो लगाइसक्ने जानकारी दिए । वडा र पालिकाहरूमा उम्मेदवार छनोटको प्रक्रिया भने सुरु भइसकेको माओवादी केन्द्रकी जिल्ला सचिव भिमा केसी बञ्जाराले बताइन् । ‘अहिले दलको एजेन्डा जनतालाई बुझाइरहेका छौं,’ उनले भनिन्, ‘अर्को चरणमा उम्मेदवारका एजेन्डा गाउँ पुग्छन् ।’ 

उपल्लो डोल्पाका ४ स्थानीय तहमा भने चुनावी गतिविधि खासै सुरु भएका छैनन् । डोल्पोबुद्ध, छार्काताङसोङ, शेफोक्सुन्डो र काइके गाउँपालिकामा मतदाता संख्या र आकांक्षी कम भएकाले पनि चुनावी अभियान तीव्र नभएको हो ।

स्थानीय तहका वडाहरूमा आकांक्षीहरू बढ्दै गएपछि मुगुका दलहरूलाई उम्मेद्वार छान्न सकस भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले चैत २० गतेदेखि वडाअध्यक्षसहित सदस्यहरूको उम्मेदवार छान्ने प्रक्रिया सुरु गरेको छ । तर एउटै वडामा १७ जनासम्म आकांक्षी देखिएपछि समस्या भएको हो । सोरु गाउँपालिका–६ मा वडाध्यक्षका लागि १७ जनाले आकांक्षा देखाएका छन् । ४ नम्बर वडामा १० र वडा नं. २ मा ७ जनाको दाबी छ । वडाध्यक्षकै उम्मेदवारी चयन गर्न समस्या भएको कांग्रेस सभापति ऐनबहादुर शाहीले बताए । उनका अनुसार ९ जनाभन्दा कम आकांक्षी भएको वडा नै छैनन् । ‘युवाहरूले बढी आकांक्षा देखाइरहेका छन्,’ उनले भने, ‘एक जनालाई उम्मेदवारी त बनाइएला, तर अरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको छ ।’ 

पार्टीको वडा र गाउँ कार्यसमितिमा भएकाहरूको बढी आकांक्षा देखिएको सभापति शाहीले बताए । उनका अनुसार २०७४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्ष जितेका केहीलाई पनि दोहर्‍याउने वातावरण बनेको छ । ‘पढेलेखेका, प्रविधिको ज्ञान भएका र विकासको भिजन भएकालाई वडाध्यक्षको प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘उनीहरूले जित्ने ग्यारेन्टी पनि पेस गरे प्राथमिकताका आधारमा उम्मेदवार छान्न सहज हुन्थ्यो ।’ आकर्षक सुविधा र जनताका सबै सरोकार राख्न पाइने भएकाले वडाध्यक्षका आकांक्षी बढिरेहको उनको भनाइ छ ।

राजबहादुर

हरि

Link copied successfully