ठूला दल फकाउँदै, साना धम्क्याउँदै 

चैत्र २४, २०७८

कुम्भराज राई

ओखलढुंगा — स्थानीय तहको चुनावमा सत्ता गठबन्धन कायम गर्न पार्टी केन्द्रले मातहतका जिल्ला समितिलाई परिपत्र गर्‍यो । तर पटकपटक गठबन्धनमा आबद्ध दल छलफलमा बसे पनि यहाँ जिल्लास्तरमा टुंगो लागेको छैन । तीन चरणमा बैठक असफल भएपछि गठबन्धन टुट्ने सम्भावना बढेको छ ।

साना भनिएका दलले बार्गेनिङ गर्दै छन् । चिशंखुगढी, चम्पादेवी र लिखु गाउँपालिकामा प्रमुखसहितको पदमा माओवादी केन्द्रको दाबी छ । एकीकृत समाजवादीले सिद्धिचरण नगरपालिकामा प्रमुख पदको दाबी गरेको छ । मानेभन्ज्याङ र खिजिदेम्बा गाउँपालिकामा प्रमुख पद पाउनुपर्ने अडानमा जनता समाजवादी पार्टी छ । कार्यकर्ता र मतदातालाई आधार मान्दै कांग्रेसले सबैभन्दा ठूलो दल मान्ने गर्छ । त्यसैले साना दलको अडान सहजै स्वीकार्ने अवस्थामा छैन । ‘केही माग मान्न सकिए पनि सबैमा सहमत हुने अवस्था छैन,’ कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनालले भने, ‘सबै आ–आफ्नै अडानबाट पछि हट्नु भएको छैन । छलफल जारी छ ।’

माओवादीका जिल्ला अध्यक्ष निशान्त शर्माले गठबन्धनमा कुन पार्टीले कति पद लिनेदिने भन्दा पनि पार्टीको पोजिसन के रहने भन्ने विषय गम्भीर रहेको बताए । उनले सबै पार्टीको धरातल प्रस्ट देखिएको कारण गठबन्धनमा कसैले मेरो गोरुको बाह्रै टक्का भन्ने अवस्था नभएको बताए । शर्माले छलफलमा स्वभाविक रूपमा चिशंखुगढी, लिखु र चम्पादेवी तीनवटा पालिकामा प्रमुख सहितको पदमा दाबी गरेको बताए ।

एकीकृत समाजवादी पार्टीले सिद्धिचरण नगरपालिकामा प्रमुख पद पाउनुपर्ने दाबी गरेको छ । पार्टीका जिल्ला अध्यक्ष हंसराज वाग्ले आफैं प्रमुख पदका दाबेदार भनिए पनि यसलाई बार्गेनिङ मात्र गरेको अनुमान छ । उनी हालैमात्र प्रदेश खेलकुद समितिको सदस्य सचिव नियुक्त भएका छन् । यदि गठबन्धनमा कुरा मिल्यो भने एकीकृत समाजवादीका नेता नेत्र भट्टराईलाई लिखु गाउँपालिका अध्यक्ष पदमा प्रस्ताव गर्ने विकल्प पार्टीले बाँकी राखेको छ ।

कांग्रेसका जिल्ला कार्य समिति सचिव राजकुमार ढुंगानाले अहिले गठबन्धनको छलफल असफल भएको भन्न नमिल्ने बताए । ‘हाललाई स्थगित भएको हो । तीन–चार पटक बैठक बसेको हो । केन्द्रको परिपत्रअनुसार जाने भन्ने छ । निष्कर्षमा पुग्न बाँकी छ,’ उनले भने, ‘यो सकारात्मक रूपमै अघि बढेको छ । सकारात्मक निष्कर्ष निस्किनेमा हामी विश्वस्त छौँ ।’ पार्टी केन्द्रले एकआपसमा गाली गलौज नगर्ने, मित्रवत व्यवहार गर्ने भनेको कारण सोही निर्देशनबमोजिम गठबन्धनको प्रयास भइरहेको ढुंगानाले बताए । 

जनता समाजवादी पार्टीले मानेभन्ज्याङ र खिजिदेम्बा गाउँपालिकामा प्रमुख पद सहितको दाबी गठबन्धनमा गरेको छ । ‘जिल्लामा टुंगो लगाउन नसकेपछि कांग्रेस र माओवादी काठमाडौंतिरै गएको हो कि भन्ने हाम्रो अनुमान छ ।’ जसपाका नेता नेत्रबहादुर नेम्बाङले भने, ‘२५ चैतमा निर्णायक वार्ता र छलफल गर्ने कुरा छ । 

फाइदा लिने दाउमा एमाले

गठबन्धनको किचलोलाई लिएर फाइदा लिने दाउमा छ नेकपा एमाले । एमालेले जनता समाजवादी पार्टीसँग छलफल अघि बढाएको छ । यदि गठबन्धनसँग कुरा नमिले जनता समाजवादी पनि एमालेसँग मिलेर चुनावमा सहभागी हुने रणनीतिमा छ । ‘हामीले एक चरणमा जसपासँग छलफल गरिसक्यौँ,’ एमालेका जिल्ला अध्यक्ष शंकर कटवालले भने, ‘गठबन्धनको बैठकपछि हामी थप निर्णायक छलफलमा बस्छौँ ।’ जसपा नेता नेत्र नेम्बाङले पनि विकल्पको रूपमा एमालेसँग मिल्न सक्ने स्विकारे । ‘हामीले छलफल गरेका हौँ,’ उनले भने, ‘यदि गठबन्धनमा कांग्रेसलगायत दलले अहमताबाट पछि नहटे हामी एमालेसँग मिलेर जान सक्ने सम्भावना छ ।’  

समस्यामा कांग्रेस

ओखलढुंगालाई कुनै बेला कांग्रेसको गढ मानिन्थ्यो । तर गुट, उपगुट र विवादले कांग्रेसले अधिकांश निर्वाचनमा हार व्यहोर्दै आएको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाको आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तह कांग्रेसले जितेको थियो । तीनवटा एमाले र एउटा माओवादीले जितेको हो । यस पटक पार्टी केन्द्रले गठबन्धन कायम गर्न निर्देशन दिएपछि सबैभन्दा बढी अप्ठ्यारोमा कांग्रेस परेको छ । गठबन्धन भंग गरेर एक्लै चुनावमा सहभागी हुँदा पनि एमाले–माओवादी, एमाले–जसपा जस्ता पार्टी मिल्यो भने केही स्थानीय तहमा हार व्यहोर्नुपर्ने हुन्छ । गठबन्धनमा आबद्ध दलहरूको अडान स्वीकार्न सक्ने अवस्थामा छैन । 

कुम्भराज

Link copied successfully