डोटी — चुनावी चहलपहल बढेसँगै गठबन्धन दलहरूबीच स्थानीय तहको चुनावका विषयमा अन्योलता बढ्दै गएको छ । उनीहरूले उम्मेदवारी छनोट प्रक्रियालाई तीव्रता दिएका छैनन् । माओवादी र समाजवादी भने कांग्रेसका पछिल्ला गतिविधि हेरेर रणनीति तयार पारिरहेका छन् ।
कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले चुनावी अभियानमा गठबन्धनको विपक्षमा बोल्दै हिँडेपछि उनको गृहजिल्ला डोटीमा गठबन्धनका दलहरूबीच संवादहीनताको अवस्था छ । तर केन्द्रीय समितिले स्थानीय तहमै छलफल गरेर टुंगाउन परिपत्र गरेपछि भने आइतबार अनौपचारिक रूपमा संवाद अघि बढेको डोटी कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले बताए । ‘कांग्रेसभित्रै उम्मेदवारका आकांक्षी थुप्रै छन्, कतिपय वडामा निर्विरोध उम्मेदवार आइसके,’ सभापति सिंहले भने, ‘केन्द्रको पछिल्लो पत्राचारका कारण गठबन्धनका दलहरूसँग छलफल अघि बढाउने तयारी भइरहेको छ ।’ कांग्रेसका अधिकांश नेता/कार्यकर्ताले चुनावमा एक्लै भिड्न दबाब दिइरहे पनि माओवादी र समाजवादीबाट भने गठबन्धनका लागि तीव्र दबाब आइरहेको छ । यद्यपि कांग्रेसले भने तीन चरणमा उम्मेदवारको नामावली सूचीकृत गराएर पालिकास्तरमा सिफारिस गरिसकेको छ ।
माओवादी र समाजवादीका नेता/कार्यकर्ता भने गठबन्धनअनुसार कांग्रेस नहिँडे वामघटक एक ठाउँमा उभिएर कांग्रेसलाई पाखा लगाउन सकिने तर्क गरिरहेका छन् । कांग्रेसले निहुँ खोजे एमालेसँग मिल्न सकिने चेतावनी आइरहेको कांग्रेसका केआईसिंह गाउँपालिका सभापति अर्जुन बलायरले बताए ।
गठबन्धनको मर्मविपरीत गए कांग्रेसबाहेकसँग साँठगाँठ हुन सक्ने एकीकृत समाजवादी डोटीका अध्यक्ष दीर्घसिंह बोगटीले बताए । ‘समन्वय गर्न कांग्रेसलाई जिम्मेवारी तोकेको छ तर अहिलेसम्म कुनै संवाद हुन सकेको छैन,’ अध्यक्ष बोगटीले भने, ‘त्यसैले पनि हामीले उम्मेदवार अघि बढाउन सकेका छैनौं ।’ माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले पनि गठबन्धनबीचमै भएको सहमतिअनुसार चुनावमा जाने मनस्थितिमा रहेको सुनाए । अनौपचारिक छलफल अघि बढिरहेको भन्दै इन्जार्च सिंहले पार्टीभित्र आकांक्षीको वडा र स्थानीय तहमा छलफल भइरहेको बताए ।
एमाले भने गठबन्धन दल बीचको सहमति भंग गर्ने रणनीतिमा छ । कांग्रेसलाई एक्लै मैदानमा उतार्न सके समाजवादी र माओवादीसँग बदला लिन सक्ने दाउ खोजेको छ । यद्यपि एमालेका जिल्ला अध्यक्ष चक्र मल्लले सत्ताधारी दलहरूबीच गठबन्धन सहमति भएकाले आफूहरू जनतासँग गठबन्धन गर्ने तयारीमा रहेको बताए । एमाले एक्लै चुनाव लड्न तयार रहेको अध्यक्ष मल्लको भनाइ छ ।
