नेतृत्व लिन सक्षम छौं : महिला आकांक्षी

चैत्र २१, २०७८

डीबी बुढा

जुम्ला — जुम्लाका महिला जनप्रतिनिधिले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम भइसकेको बताएका छन् । उनीहरूले काममा इमानदारिता र आर्थिक रूपमा पारदर्शिताका लागि महिला नेतृत्व आवश्यक रहेकोमा जोड दिएका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यदेखि गाउँपालिका उपाध्यक्षमा निर्वाचित यहाँका महिला जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू तयार रहेको बताए । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । जिल्ला सेवा केन्द्रले शनिबार खलंगामा आयोजना गरेको कार्यक्रममा महिलालाई नेतृत्व दिन हरेक राजनीतिक दल सचेत हुनुपर्ने चन्दननाथ नगरपालिका–२ की सदस्य बिनु शाहीले बताइन् । ‘अब हाम्रो पालो हो,’ उनले भनिन्, ‘हामीमा केही गर्न सक्ने आँट पनि छ, मौका पाए समृद्ध जिल्ला बनाउन सक्छौं ।’ ५ वर्षसम्म धेरै अनुभव बटुलेकाले आफूहरूमा दृढ इच्छाशक्ति र संकल्प रहेको उनको भनाइ छ । 

चन्दननाथ–२ की वडा सदस्य विष्णु शाहीले आफूहरू कुनै कुरामा पनि कम नभएको बताइन् । उनका अनुसार योपल्ट स्थानीय तहका उच्च पदमा युवा र महिला आकांक्षीको संख्या धेरै छ । ‘सुशासन, इमानदारिता, पारदर्शिता र काम गर्ने जाँगरले हाम्रो यो कार्यकाल सफल भएको छ,’ उनले भनिन्, ‘त्यसैले आगामी निर्वाचनमा नेतृत्वमा दाबी गरेका हौं ।’ उनले पार्टीले आफूहरूलाई टिकट दिन कञ्जुस्याइँ गर्न नहुने बताइन् । उनले योपल्ट वडाध्यक्षमा दाबेदारी प्रस्तुत गरेकी छन् । सोही वडाकी सदस्य उमा उपाध्यायले कोरोना महामारीका कारण सोचेजति काम गर्न नसकिएको बताइन् । ‘पहिलो वर्ष सिक्नमै बित्यो, दोस्रो वर्षदेखि कोरोना महामारीका कारण समस्या आयो,’ उनले भनिन्, ‘यति हुँदाहुँदै पनि भौतिक पूर्वाधार बनाएका छौं, हरेक गाउँ जोड्ने सडक बनाएका छौं, महिला सशक्तीकरणका कार्यक्रम पनि सञ्चालनमा छन् ।’ चन्दननाथ नगरपालिका–१० की वडा सदस्य हुतुमा सार्कीले अनुभवका आधारमा वडाध्यक्षका लागि आफूहरू तयार रहेको बताइन् । 

हिमाली महिला जागरणकी अध्यक्ष छिरिङ लामाले महिला अधिकार सुनिश्चित गर्न लामो लडाइँ लड्नुपर्ने बताइन् । ‘कसैले फकाउँदैमा ब्याक हुनुहुँदैन,’ उनले भनिन्, ‘महिला राष्ट्रपति बन्न सक्छन् भने स्थानीय तह हाँक्न सक्ने क्षमता पनि हामीसँग छ ।’ जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सामाज अहिले धेरै फेरिएको बताइन् । ‘महिलाको हकहितका लागि सबैको एकता जरुरी छ,’ उनले भनिन्, ‘आउँदो चुनावमा सक्षम महिला निर्णायक तहमा पुग्नुपर्छ ।’

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully