धनगढी — बाजुरामा प्रमुख राजनीतिक दलहरू कांग्रेस र एमालेले आसन्न स्थानीय निर्वाचनका लागि वडा र पालिकामा उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेका छन् । ती दलका वडा र पालिका तहमा कमिटीहरूले उक्त प्रक्रिया सुरु गरेका हुन् । कांग्रेसको बुढीगंगा नगर कार्यसमितिले शनिबार नगर प्रमुख र उपप्रमुखमा दाबी गर्दै उम्मेदवारी दर्ता गराएकाहरूको नामावली सार्वजनिक गरेको छ । नगर कार्य समितिका सचिव विष्णुभक्त जोशीद्वारा हस्ताक्षरित पत्रअनुसार नगरप्रमुखमा ११ जना र उपप्रमुखमा ५ जनाले उम्मेदवारी दर्ता गराएको उल्लेख गरिएको छ ।
उम्मेदवारी दर्ता गराएकामध्येबाट नगर कार्यसमितिले एक महिलासहित तीन जनाको जिल्ला कार्यसमितिमा सिफारिस गर्ने पार्टीका सचिव तिलखराज पुरीले बताए । ‘कतिपय पालिकाहरूले यसअघि नै प्रक्रिया सुरु गरिसकेका छन्,’ सचिव पुरीले भने, ‘सोमबारभित्र पालिका कार्यसमितिले प्रारम्भिक प्रक्रिया सुरु गरेर २५ गते जिल्ला कार्य समितिमा नामावली सिफारिस गरिसक्ने समय तोकिएको छ ।’
महिलाले प्रमुखमा दाबी गरेनन
कांग्रेसले वडा र नगर तहमा उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्दा मुख्य पदमा महिलाहरूले दाबी नै गरेका छैनन् । बुढीगंगामा प्रमुख पदमा पुरुषहरूको र उपप्रमुख पदमा महिलाहरूबीच नै हानाथाप देखिएको छ । नगर प्रमुख पदका लागि रंगबहादुर खाती, शेरबहादुर खाती, तिलखराज पुरी, सुरत शाह, मनबहादुर रावल, गुरुदेव केसी, राजेन्द्र शाह (बीपी), हर्क खडायत, योगेन्द्र रावल, तपेश रावल र जयराज उपाध्याय गरी ११ जनाले नगर कार्यसमितिमा उम्मेदवारी दर्ता गराएका छन् । उप मेयरमा तारा खाती, पूजाकुमारी खड्का, रिता शाही, जानकी कुमारी थापा र दृश्यकुमारी शर्माले उम्मेदवारी दर्ता गराएका छन् । ‘वडाध्यक्ष वा पालिका प्रमुखमा महिलाहरूको दाबी नै देखिएको छैन,’ पार्टीका सचिव पुरीले भने ।
बाजुरामा एमालेले पनि वडा तहदेखि नै उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको जनाएको छ । एमाले कार्यालय सचिव काँसी विकका अनुसार गौमूल गाउँपालिकाको तीन वटा वडामा वडाध्यक्ष पदका लागि निर्विरोध रूपमा एक/एक जनाको नाम मात्रै सिफारिस भएको छ । गौमूल कांग्रेस र एमाले नेताहरूका अनुसार गौमूल एमालेको सर्वाधिक बलियो पालिका हो ।
यसैबीच, बाजुरामा कांग्रेसका जिल्ला सचिव पुरीले आसन्न निर्वाचनमा गठबन्धन गरेर पार्टी केन्द्रको निर्णय पालना गरेर अघि बढ्ने बताएका छन् । पार्टीभित्र दुई थरी विचारहरू देखिएका भए पनि अन्ततः पार्टी केन्द्रको निर्देशनविपरीत जान नसक्ने उनको भनाइ छ । ‘केन्द्रको निर्णय पालना गरेरे जानेमा छलफल भइरहेको छ,’ उनले भने, ‘राजनीतिमा इमानदारिता पनि चाहिन्छ, कांग्रेसले बेइमान गर्न सुहाउन्न ।’ उनले गठबन्धन दलहरूबीच जिल्ला तहमा छलफल भएर कसले कहाँ र कति लिने भन्नेमा निर्क्योल हुने बताए ।
