सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने

मतपत्र छपाइ आजैबाट सुरु हुने

चैत्र १७, २०७८

मकर श्रेष्ठ

काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो ।

सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ । 

छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिए । मतपत्र छपाइभन्दा अघि मेसिनको परीक्षण गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको संख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता संख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ । 

काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ । 

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully