गाउँमा चुनावी चहलपहल

चैत्र १७, २०७८

मेनुका ढुंगाना

कमलबार, अछाम — आसन्न स्थानीय तहको चुनावको चहलपहल अछामका ग्रामीण भेगसम्म पुगेको छ । प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला ग्रामीण भेगमा मतदाता रिजाउनमा व्यस्त देखिन्छन् । अछाममा मुख्य प्रतिस्पर्धीका रूपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र, नेकपा समाजवादी र विप्लव निकट नेकपा माओवादीका कार्यक्रम पनि देखा पर्न थालेका छन् ।

मतदाता सर्वेक्षण, भेटघाट, टोल कमिटी विस्तारलगायत चुनावी अभियान गाउँसम्मै पुगेका छन् । कांग्रेसले करिब एक महिनादेखि नै केन्द्रको सर्कुलरअनुसार घरघर जाऔं, कांग्रेस जिताऔं अभियान चलाइरहेको छ । एमालेले टोल कमिटी विस्तार र जनवर्गीय संगठनलाई क्रियाशील बनाइरहेको छ । स्थानीय तह जितेर जिल्लामा बलियो देखिएको कांग्रेसलाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव जित्नैपर्ने दबाब छ । एमाले विभाजनको असरले नेकपा समाजवादीमा गएकाहरूलाई एमालेमै फर्काउनुपर्ने र जिल्लामा जितिरहेको प्रदेश र प्रतिनिधिसभालाई जोगाइराख्नुपर्ने चुनौती एमालेलाई छ ।

जिल्लास्तर र केन्द्रका नेताको गाउँमा प्रवेशलाई भने सर्वसाधारणले सकरात्मक रूपमा लिएका छैनन् । आफूलाई भोटको आवश्यकता परेका बेला मात्रै गाउँमा आउने राजनीतिक दलका नेताको प्रवृत्तिले अछामका सर्वसाधारण रुष्ट भएका छन् । कोरोनाको समयमा नेताबाट भएको असहयोग, जनताको योजना प्राथमिकतामा नराखेर पहुँचका आधारमा आएका योजना र गएको निर्वाचनमा पाएका आश्वासन पूरा नभएपछि सर्वसाधारण विरक्तिएका छन् ।

कोरोनाका बेला धेरै मजदुरहरू र भारतबाट आएकाहरू समस्यामा परेको बेला कुनै पनि नेताले वास्ता नगरेको तुर्माखाँद गाउँपालिका–४ की जुवा नेपालीले बताइन् । ‘मेरा श्रीमान् र छोरा बम्बैमा थिए । कोरोनाको डरले घरमा आए । त्यसपछि बम्बैमा काम नपाइने देखिएपछि गएका छैनन् । समस्या परेको बेला कसै नेताले हेर्दैनन्, अहिले त घरमै आएर नमस्कार गर्न सुरु गरी सके,’ जुवाले भनिन्, ‘कहिले कांग्रेसका कार्यक्रम हुन्छन्, कहिले एमालेको कार्यक्रम हुन्छन् । पार्टी प्रवेश गर्नुपर्छ, हामी रोजगारी दिन्छौं, योजना दिन्छौं भन्छन् । दिने भए आजसम्म किन दिएनन् । भोट नहाल्ने हो कि भन्ने पनि सोचेका छौं ।’

कोरोना संक्रमणका बेला विभिन्न राजनीतिक दलले राहतको नाममा राजनीति गरेका कारण कुनै पार्टीसँग नजिक नभएको कमलबजार नगरपालिका–१ का रैती विष्टले बताए । ‘हामी अप्ठ्यारोमा परेका बेला नेताका झन्डा बोक्नेलाई मात्र राहत दिए । अहिले फेरि सर्वसाधारण नेतालाई चाहिने रहेछन्,’ उनले भने, ‘हामीलाई दुःखका बेला नेता चाहिएनन्, अब हामीलाई पनि नेताको मतलब छैन ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully