कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन कल सेन्टर सञ्चालनमा

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि स्थापना गरिएको ‘कल सेन्टर’ मंगलबारदेखि औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।

निर्वाचन कल सेन्टर सञ्चालनमा

निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो । विगतमा ११ अंक नम्बर रहेको टोलफ्री सञ्चालनमा आएकामा सेवाग्राहीको हितलाई ध्यानमा राखेर आयोगले यस पटक चार अंकको टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । कल सेन्टरमा नौ जनाशक्ति खटाइएको छ । आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर सेवाग्राहीका जिज्ञासा आउने क्रम पनि बढेको छ ।

निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले टेलिफोनमार्फत सेवाग्राहीले सोधेका जिज्ञासालाई सम्बोधन गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले कल सेन्टरमा सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासालाई शिष्ट भाषामा सम्बोधन गर्न निर्देशन दिए । निर्वाचनसँग सरोकार राख्ने व्यक्ति वा संस्थाले आफूलाई आवश्यक पर्ने तथ्यको तत्कालै जानकारी प्राप्त गर्न सकोस् भन्ने हेतुले आयोगले विगतदेखि नै निर्वाचनका बेला कल सेन्टर सञ्चालन गर्दैआएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्माले कल सेन्टरमा खटिएका कर्मचारीलाइ सेवाग्राहीबाट आउने जिज्ञासा र गुनासोलाई बुझिने भाषामा सरलरुपमा सम्बोधन गर्न सुझाव दिए ।

प्रकाशित : चैत्र १५, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?