खोटाङ — आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनमा खोटाङका एक लाख ४३ हजार सात सय ५२ जनाले मतदान गर्ने भएका छन् । स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार सात सय ४६ जना महिला र ७५ हजार ६ पुरुषले मतदान गर्ने भएका हुन् ।
निर्वाचन आयोगले चैत १३ गते मतदाताको नामावली टुङ्ग्याएको हो । यस अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, हलेसी तुवाचुङ नगरपालिकामा २० हजार नौ सय २१ मतदाता छन् ।
त्यस्तै केपिलासगढी गाउँपालिकामा १० हजार आठ सय ३८, ऐसेलुखर्क गाउँपालिकामा ११ हजार चार सय ९५,रावाबेसी गाउँपालिकामा नौ हजार छ सय १८, साकेला गाउँपालिकामा आठ हजार पाँच सय ४८, खोटेहाङ गाउँपालिकामा १५ हजार दुई सय ४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार चार सय ३१, बराहपोखरी गाउँपालिकामा नौ हजार तीन ६४ र जन्तेढुङ्गा गाउँपालिकामा १० हजार दुई सय १३ मतदाता छन् । यो चोटी कायम भएको जिल्लाभरका कुल मतदातामध्ये २०७४ को निर्वाचनको तुलनामा २८ हजार एक सय दश मतदाताले बढी रहेको आयोगले जनाएको छ ।
मतदानस्थल कति ?
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाको एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको हो ।
निर्वाचन आयोगले जनाए अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरेको छ ।
त्यस्तै केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐसेलुखर्क गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, रावाबेसी गाउँपालिकामा १० मतदानस्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा आठ मतदानस्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र, खोटेहाङ गाउापालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, बराहपोखरी गाउँपालिकामा १० मतदानस्थल र १३ मतदान केन्द्र र जन्तेढुङ्गा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन अधिकृत खटाइयो
स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी तोकिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिइएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता संगीता न्यौपाने ढुङ्गेललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौंका उपसचिव मानबहादुर मगर, बराहपोखरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगरका उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरे, साकेला गाउँपालिकाका लागि नेपाल कानुन आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।
त्यस्तै ऐसेलुखर्क गाउँपालिकामा जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई, रावाबेसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई २९ चैतदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
