स्थानीय तह निर्वाचन : मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माण सुरु

चैत्र १२, २०७८

सुवास विडारी

मकवानपुर — स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माण सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका १६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशीलमा राखिएको छ । यसपटकको निर्वाचनमा एउटा निर्वाचनस्थल भएको हो । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।

‘विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहुँचको आधारमा हामीले विभाजन गरेका हौं । यसै हप्ताभित्र निर्वाचनस्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति हामी तय गर्नेछौं ।’, उनले संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेका कारण काम गर्न थप सहज हुने बताए ।

‘मतदानस्थलको संवेदनशीलताका आधारमा हामी विशेष सुरुक्षा योजना बनाएर लागू गर्नेछौं ।’ प्रजिअ पाण्डेले नागरिकले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा रणनीति तय गरिने दाबी गरे । उनले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल गरिरहेको बताए । ‘निर्वाचन कार्यालयले प्राविधिक तयारी गरिरहेको छ । हामीले सुरक्षा र अन्य तयारी गरिरहेका छौं । राजनीतिक दललाई पनि संवेदनशील भएर कार्यक्रम आयोजना गर्न हामीले भनेका छौं’, उनले भने ।

प्रशासनले निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन समेत निर्देशन जारी गरेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सूचना जारी गरिएको उनले बताए । ‘स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वासिलो बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियारहरु चैत ३० गतेभित्रमा नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भने । गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको वैठकको निर्णय अनुसार निर्वाचनपश्चात् फिर्ता हुने गरी बुझाउन आग्रह गरिएको उनले बताए । सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully