पर्वत — आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर दलहरू गाउँ फर्क अभियानमा छन् । गाउँमा चुनावी सरगर्मी दिन प्रतिदिन बढ्दै गएको छ । राजनीतिक दल प्रचारप्रसार, संगठन विस्तार, फरक पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउन तँछाडमछाडमा छन् । गाउँ पसेका नेता/कार्यकर्ता पुरानै शैलीमा झन्डा फहराउँदै टोलटोलमा देखिन थालेका हुन् ।
मुख्यगरी जिल्लामा २ ठूला शक्ति नेपाली कांग्रेस र एमाले चुनावी प्रचारमा आक्रामक शैलीले लागिपरेका छन् । विभिन्न भ्रातृ संगठन र पार्टीका तल्लो तहका संगठन विस्तारमा दुवै पार्टी खटिएका छन् । कांग्रेस टोलसम्मै पुगेर समिति गठनको अभियानमा छ । त्यसबाहेक पुनर्गठित नेविसंघ र तरुण दलको वडा तथा पालिका गठन तथा जिम्मेवारी हेरफेरमा लागेको कांग्रेस जिल्ला सभापति युवराज जोशीले बताए । एमालेले युवा संघ गठनदेखि वडास्तरमा कार्यकर्ता प्रशिक्षण, जिम्मेवारी बाँडफाँटलगायतमा सक्रिय छ । एमालेका उपसचिव विमल लामिछानेका अनुसार अहिले पालिकास्तरीय युवा संघ गठन धमाधम भइरहेको छ ।
२ नगरपालिका र ५ गाउँपालिकासहित ६१ वडा रहेको जिल्लामा एक लाख २२ हजार मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयमा प्राप्त निवेदनअनुसार १९ राजनीतिक दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् । चुनाव चिह्नको लागि जिल्ला निर्वाचन कार्यालयले निवेदन आह्वान गरेकोमा कांग्रेस, एमाले, माओवादी, समाजवादीसहित १९ दलले निवेदन दिएका छन् । राजनीतिक दलका रूपमा १९ दल सहभागी भए पनि स्वतन्त्र रूपमा चुनाव लड्न चाहनेहरू भएमा प्रतिस्पर्धी उम्मेदवारको संख्या अझै बढ्न सक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको राजनीतिक अवस्थाअनुसार एमाले, कांग्रेस, समाजवादी र माओवादी बलिया शक्ति हुन् । सत्ता समीकरणअनुसारको चुनावी तालमेलमा जाँदा एमालेबाहेक माओवादी र समाजवादी नेपाली कांग्रेससँग मिल्ने चर्चा यहाँ छ । दुवै पार्टीका जिल्लास्तरीय नेताहरू पर्वतमा चुनावी तालमेल नगरे कांग्रेस र आफूहरूलाई क्षति हुने बताउँदै आएका छन् । माओवादी सचिवालय सदस्य एवं कुश्माका नगर अध्यक्ष शंकर गिरीले केन्द्रमा भएको सत्ता समीकरणअनुसार पर्वतमा पनि मिलेर चुनाव लड्नुपर्ने बताउँदै आएका छन् । ‘तालमेल गर्दा कांग्रेस र हामी सबै पक्षलाई फाइदा पुग्छ,’ उनले भने, ‘नत्र चुनावी नतिजा अघिल्लो चुनावजस्तो आउँदैन ।’ अन्य साना दलहरू आफैंले उम्मेदवार खडा नगरी ठूला राजनीतिक दलको आड लागेर केही पद लिने दाउमा छन् । राप्रपाका एक नेताका अनुसार जिल्लामा आफूहरूको हैसियतअनुसारको पद दिएमा जुनसुकै ठूलो दलसँग तालमेल गर्ने तयारी छ ।
