'उप'मा सीमित नगरियोस् : महिला आकांक्षी

‘पढे–लेखेका छौं । ५ वर्ष उपप्रमुख भएर काम गरेका छौं । त्यसैले अबको दाबी प्रमुखमै रहन्छ ।’

चैत्र २१, २०७८

तृप्ति शाही

बैतडी — बैतडीको मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझालाई आउँदो निर्वाचनमा पालिका प्रमुख बन्ने चाहना छ । तर, उनले आफ्नो चाहानबारे खुल्न सकेकी छैनन् । कांग्रेसबाट निर्वाचित उनलाई आउँदो निर्वाचनमा उम्मेदवारी घोषणा गरे पार्टीले कारबाही गर्ने चेतावनी दिएको छ । उनी टिकट पाउनेमा ढुक्क हुन सकेकी छैनन् । ‘मेरो एकपटक प्रमुख भएर पालिका हाक्ने इच्छा छ,’ ओझाले भनिन्, ‘महिलालाई मुख्य पद दिन हुँदैन भन्ने परिपाटी हाम्रोमा छ । तर सबै कुरामा सक्षम हामी महिला पनि प्रमुख बन्न पाउनुपर्छ भन्ने मेरो माग हो । मेरो दाबी पनि यसैमा छ ।’

प्रायः सबै दलमा महिलाले प्रमुख दिनु हुँदैन भन्ने सोच विद्यमान रहेको उनले बताइन् । महिलालाई महत्वपूर्ण पोष्टमा ल्याउन नखोज्ने परिपाटीको अन्त गर्न जरुरी रहेको पनि उनले बताए । ‘महिला केमा कम छौं र ? लेखेपढेका छौं । ५ वर्ष उपप्रमुख भएर काम गरेका छौं । त्यसैले अबको मेरो दावी प्रमुखमै रहन्छ,’ उनले भनिन् । उपप्रमुख भएर काम गर्दाखेरी पनि प्रमुखबाट सहयोग नपाइने र फेरि जिम्मेवारी दिन नचाहने नेतृत्वले अब सोच्नुपर्ने समय आएको उनको भनाइ थियो ।

महिला उपप्रमुख भएकै कारणले अन्य पुरुष जनप्रतिनिधिले सहयोग नगरेरै आफ्नो कार्यकाल सकिन लागेको उनले सुनाइन् । कार्यपालिकाकै बैठकबारे पनि आफुलाई जानकारी नदिनेसम्म भएर पनि आफुले काम गरेको उनको भनाई थियो । पहिलो संरचना स्थानीय तह भएकोले कर्मचारीदेखि कार्यालय व्यवस्थापनमा धेरै समय खर्च भएको उनले बताइन् ।

यस्तै, पुर्चौडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बम पनि मेयरको उम्मेदवार बन्ने इच्छा अनुसार तयारी गरिरहेको बताइन् । ‘अब हामीले पनि प्रमुख बन्ने तयारीमा जुट्नु पर्छ,’ उनले भनिन्, ‘५ वर्ष उपप्रमुख भएर काम गरेपछि अब स्वत: प्रमुखमै दाबी हुनेनै भयो । केहि थाहा नपाएरै पदमा पुगिएको थियो । अब स्थानीय तह संञ्चालन सम्बन्धी धेरै कुराहरूको जानकार भइएको छ । प्रमुख भएर काम गर्ने चाहना छ ।’

पार्टीका घोषणापत्रमामात्र महिलालाई सिमित नराखेर प्रमुख पदमा ल्याउनुपर्ने जोड आफ्नो रहेको उनले बताइन् । प्रमुखमा महिलाहरूलाई धेरै पार्टीले टिकट नदिए पनि आफुले पाउने आशा राखेको उनले सुनाइन् । महिला जनप्रतिनिधि भएर काम गरिरहदा जनप्रतिनिधिदेखि लिएर कर्मचारीहरूले असहयोग गर्ने गरेको अनुभव उनीसँग छ । उनले भनिन्, ‘धेरै असहज वातावरण त भएन तर कहिलेकाहि महिला भएकै कारणले नेतृत्व तहले पनि धेरै कुराहरू थाहा नदिने गरे । यसै कारणले पनि अब नेतृत्व तहमा पुग्ने योजना मेरो छ ।’

नयाॅ संरचना भएकोले काम गर्न सुरुमा धेरै गाह्रो भएको दोगडाकेदार गाउॅपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनका अनुसार ५ वर्ष सिकाइ भएको छ । अब पार्टीको निर्णयलाई आधार मानेर अघि बढ्ने योजना रहेको उनले सुनाइन् । दलहरूले महिलाहरूलाई उपमै मात्र सिमित राख्ने गरेकोमा अब प्रमुखको लागि आवाज उठाउनु पर्ने बेला आएको शिवनाथ गाउॅपालिकाकी उपाध्यक्ष कुस्मा चन्द बताउछिन् । ‘हामीले ५ वर्ष अनुभव बटुलेका छौं । अब प्रमुख भएर पुरुषले भन्दा राम्रो तरिकाले काम गर्न सक्छौं,’ उनले भनिन, ‘अa पार्टीले मुल्याङ्कन गर्न जरुरी छ ।’ सबै कामहरू शुन्यबाट सुरु गर्नु परेकोले सिक्दा सिक्दै ५ वर्ष बितेको उनले पनि बताइन् । पार्टीमा मात्र नभएर जुनसुकै स्थानमा पनि महिलालाई प्रमुख पद दिन नचाहने परिपाटी भएकोले आफुहरू मारमा परेको उनको भनाइ थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully