धनकुटा — चौबिसे–८ सोक्रोपा गाउँका ८१ वर्षीय भागजित चेम्जोङ स्थानीय निर्वाचनबारे जानकार छैनन् । ‘खै चुनाव आएको कसैले भनेनन्, भोट दिन पनि जाँगर पलाएको छैन,’ उनले भने । यहाँका मतदाता चुनाबबारे बेखबर रहेको ८० वर्षीय सइमान खजुमले बताए ।
अघिल्ला निर्वाचनमा महिना अघि नै उत्साह देखिन्थ्यो । ‘यो पाली कहिले हुने हो अझै पत्तो छैन,’ उनले भने, ‘मनभित्र धेरै गुनासा छन्, भोट माग्न आउनेलाई गाउँघरको राम्ररी विकास गर भन्न मन छ ।’
यसअघि पनि उम्मेदवारलाई गाउँमा खानेपानी, औषधिमूलो र सडकको माग गर्ने गरेको खजुमले बताए । चेम्जोङ र खजुम जस्तै अधिकांश गाउँबस्तीको समान धारणा छ । ६ नम्बर बुधबारेका ७० वर्षीय टीकाराम श्रेष्ठ यस वर्ष निर्वाचन आएको सामान्य हल्ला मात्र सुनेको बताए । गाउँघर रित्याएर विदेश जाने छोरा, भतिजलाई देशमै रोजगारी देऊ भन्ने सोचमा रहेको सुनाए । उनले भने, ‘भोट माग्नेलाई कम्तीमा आफ्नै देशमा जागिर दिने कलकारखाना खोल्नुपर्छ भन्ने सल्लाह दिनुपर्नेछ ।’
यस्तै छिमेकी पाँचथरको सीमावर्ती मिक्लाजुङ–८ सेती खोलाका तेज घिमिरेले निर्वाचनबारे गाउँबस्तीमा अझै जानकारी नपाएको सुनाए । सबैजसो पार्टीका नेताले कुरा मात्रै बढी गर्ने उनको बुझाइ छ ।
चौबिसे–४ फलामेटार गाउँका ६४ वर्षीय बुद्धिमान माझीलाई पनि निर्वाचनको पत्तो छैन । उनले उम्मेदवारलाई बासस्थान र जीवन गुजारा गर्ने व्यवस्था गराइदिन माग गर्दै आए पनि पूरा नभएको बताए ।
‘जीवन नै साहुको जमिन कमाएर बित्यो,’ उनले भने, ‘यसअघिका चुनावमा सबैलाई गुनासो सुनाएँ, सुनुवाइ भएन ।’ यसैगरी स्थानीय बुद्धिलाल लिम्बूले चुनाव आएकोबारे रेडियोबाट सामान्य जानकारी पाएको बताए । नेताहरू भोट माग्न कहिले आउलान् भन्ने पर्खाइमा रहेको सुनाए । उनले यसअघिका जनप्रतिनिधिले गाउँघरमा विकास गरे पनि अझै भने जस्तो नभएको गुनासो पोखे ।
