कांग्रेस अघि बढ्दै, अन्य दल अन्योलमै
लमजुङ — आगामी स्थानीय तह चुनावमा एमालेविरुद्ध ४ दलले गठबन्धन गरेका छन् । जिल्लामा राष्ट्रिय जनमोर्चा सक्रिय छैन । कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टी (जसपा) गरी ४ दलले गठबन्धन घोषणा गरेका हुन् । यसको नेतृत्व कांग्रेस सभापति टकराज गुरुङले गरेका छन् ।
गण्डकी प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेकी माओवादी केन्द्र जिल्ला संयोजक मधुमाया अधिकारी गुरुङ, एकीकृत समाजवादी अध्यक्ष रामबाबु अधिकारी र जसपा अध्यक्ष गमबहादुर तामाङ सदस्य छन् ।
बैठकले ८ वटै पालिकामा गठबन्धन दलहरूको संयन्त्र बनाएको छ । जिल्लामा कांग्रेस सभापति संयोजक भएझैं ४ नगरपालिका र ४ गाउँपालिकामा पनि कांग्रेस सभापति संयोजक छन् । यसमा सबै दलका ३/३ जना सदस्य रहने र जिल्लामा पनि ३/३ जना सदस्य रहने गरी आन्तरिक रूपमा संयन्त्र गठन गरिएको छ । वडास्तरबाट कांग्रेसले वडाअध्यक्षका लागि सर्वसम्मत र नभए निर्णय गरी धमाधम सिफारिस गर्न थालेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा भने कांग्रेससँग कसरी प्रस्तुत हुने भन्नेमा एक हुन सकेका छैनन् ।
कांग्रेसले सबै स्थानीय तहका केही वडाध्यक्षको नाम सर्वसम्मत टुंग्याएका छन् । कांग्रेस सचिव कृष्णबहादुर अधिकारीका अनुसार गाउँपालिका तथा नगरपालिकाका केही वडामा कांग्रेसले सर्वसम्मत उम्मेदवार टुंग्याएको हो । यो क्रम जारी छ । कांग्रेसका अनुसार बेंसीसहर नगरपालिका २, ७ र ८, क्व्होलासोंथर गाउँपालिका ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत उम्मेदवार टुंग्याइएको छ । मध्यनेपाल नगरपालिका–१० र दोर्दी गाउँपालिका–१ मा पनि टुंग्याएको छ ।
गठबन्धनको दोर्दी गाउँपालिकाले चुनावी तालमेल सौहर्दपूर्ण वातावरणमा गर्ने निर्णय गरे पनि वडाको उम्मेदवार भने टुंग्याउन सकेको छैन । कांग्रेसले टुंग्याएको वडा १ बाहेक अन्य ८ वटा वडामा टुंगिएको छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताले भने आफ्ना तर्फबाट उम्मेदवारीको टुंगो नलागेको बताएका छन । ७५ वटै वडामा कांग्रेसले आफ्नो बाहुल्य रहेको दाबी गर्दै आएको छ ।
४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा कांग्रेस र माओवादी केन्द्रले २०७४ को स्थानीय चुनावमा जितेको ठाउँमा आ–आफैं लिने दाबी गरिरहेको छ । माओवादी केन्द्रका उम्मेदवारले अध्यक्ष जितेको दोर्दीमा कांग्रेसले पनि दाबी गरेको छ । कांग्रेस उम्मेदवारले अध्यक्ष जितेको दूधपोखरीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । एमालेले अध्यक्ष जितेको मर्स्याङ्दी, एमालेले प्रमुख जितेको राइनास नगरपालिका र सुन्दरबजार नगरपालिकाको प्रमुखमा माओवादीले दाबी गरेको छ ।
कांग्रेसले जितेको मध्यनेपालमा कांग्रेसबाहेक गठबन्धनले दाबी गरेको छैन । कांग्रेसले एमालेले जितेका राइनास, सुन्दरबजार र मर्स्याङ्दी दाबी गरेको छ । एकीकृत समाजवादीले सुन्दरबजारमा प्रमुख वा उपप्रमुख १ जना दाबी गरेको छ । सुन्दरबजार एकीकृत समाजवादीको अध्यक्षको पालिका पनि हो । संयन्त्रमा रहेका प्रमुख तथा सदस्यले भने सबै ठाउँमा आफ्नो दाबी रहेको भन्दै सबै कुरा खुलाएका छैनन् । माओवादी प्रदेश कमिटी सदस्य सुनिल सुनारले पार्टीका तर्फबाट कुनै वडाको उम्मेदवार टुंगो नलागेको बताए । ‘छलफलमै छौं । गठबन्धनबीच पहिले वडा अनि पालिका टुंग्याउँछौं’ उनले भने ।
गत स्थानीय तह चुनावमा लमजुङमा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सहमतिअनुरूप एमालेले ५ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष र माओवादी केन्द्रले ३ वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले बेंसीसहर, सुन्दरबजार, राइनास नगरपालिका साथै क्व्होलासोंथर र मर्स्याङ्दी गाउँपालिकाको प्रमुख तथा अध्यक्ष जितेको थियो । साथै बेंसीसहर, मध्यनेपाल, दोर्दी र क्व्होलासोंथर गाउँपालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो
माओवादी केन्द्रले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङ्दी गाउँपालिका उपप्रमुख जितेको थियो । दूधपोखरीमा एमाले–माओवादी केन्द्रको गठबन्धन नै एउटा वडामा बाहेक पराजित भएको थियो । गठबन्धनका तर्फबाट प्रमुख तथा अध्यक्षमा उम्मेदवार बनेका माओवादी नेता मध्यनेपाल र राइनासमा पराजित भएका थिए । गठबन्धनबाट राइनासका वडामा माओवादी उम्मेदवारले जितेका थिए ।
