जुम्ला — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेको होडबाजी नै छ । वडामा न्यूनतम ६ देखि ३५ जनासम्म र गाउँपालिकामा ६ देखि १५ जनासम्म आकांक्षी देखिएका छन् । आकांक्षी धेरै भएपछि कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूलाई उम्मेदवारको टुंगो लगाउन सकस भइरहेको छ ।
दलहरूले अहिलेसम्म उम्मेदवार छनोटको कुनै मापदण्ड बनाएका छैनन् । राम्रो सेवासुविधा र गठबन्धनका कारण आकांक्षी बढिरहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य पूर्णप्रसाद धितालले बताए । ‘पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिको सुखसयल देखेर पनि आकांक्षी बढेका छन्,’ उनले भने, ‘यसअघिका जनप्रतिनिधिले निजी स्वार्थ पूरा गर्ने, व्यक्तिगत आर्थिक उन्नति गर्ने र शासन सोमत देखाउने गरेकाले पनि आकांक्षीको संख्या धेरै देखिएको छ ।’
सबै कुरा जनप्रतिनिधि भएपछि पूरा गर्न सकिन्छ भन्ने मानसिकता हाबी भएका कारण पनि धेरैले दाबी गरिरहेको धितालले बताए । ‘कसैले अंकुश लगाउन नसक्ने भएकोले पनि उम्मेदवार बन्नेको आकांक्षा धेरै देखियो,’ उनले भने, ‘योजना बनाउने, बनेको योजनालाई पास गर्ने, पास गरेको योजना कार्यान्वयन गर्ने र अनुगमन गरेर रकम भुक्तानी पनि जनप्रतिनिधिले नै गर्न पाउने भएकाले सबैको ध्यान जनप्रतिनिधि हुनुपर्छ भन्नेतिर गएको छ ।’
कांग्रेसका नेता दानबहादुर बुढाले गठबन्धनका कारण हरेक पार्टीमा किचलो भइरहेको बताए । ‘गठबन्धन हुँदै छ, जसरी पनि जितिहालिन्छ भन्ने सोच सबैमा जागेको छ,’ उनले भने, ‘तर अन्तरमनदेखि जनताको सेवा गर्ने भावका साथ आकांक्षा राखेको कमै छन् ।’ आकांक्षा राख्नु पनि आम्दानीको राम्रो स्रोत हुन सक्छ भन्ने मान्यताले पनि धेरैले उम्मेदवार बन्न दाबी गरिरहेको उनले बताए ।
शक्ति र पहुँच देखाउन पनि उम्मेदवारी घोषणा गर्ने काम चलिरहेको एकीकृत समाजवादीका सचिव आदिप्रसाद न्यौपानेले बताए । उनका अनुसार सबै पार्टीमा आकांक्षी बढी देखिएपछि व्यवस्थापनमा चुनौती थपिएको छ । नागरिक समाजका संयोजक राजबहादुर महतले आकांक्षी बढी हुनु तीव्र बेरोजगारीको उपज भएको बताउँछन् ।
‘पदमा पुगेपछि देश र जनताका लागि काम गर्नु पर्दैन, सुविधा सम्पन्न जीवनयापन गर्न पाइन्छ भन्ने आकांक्षा सबैमा छ,’ उनले भने, ‘आफ्नो ठाउँ आफैं बनाउनुपर्छ भन्ने व्यक्ति थोरैमा भेटिन सक्छन् ।’ २०७४ को स्थानीय तहको निर्वाचनमा जुम्लामा कांग्रेसले १ नगरपालिकासहित ४, माओवादी केन्द्रले ३ र एमालेले १ स्थानीय तह जितेका थिए ।
