कोशी प्रदेशस्थित सुरक्षा स्रोतका अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म झापा, मोरङ, सुनसरी र इलामक नाका पूर्ण रूपमा बन्द रहनेछ ।
विराटनगर — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका भारतसँग जोडिएका मुख्य नाका सोमबार मध्यरातिदेखि ३ दिनका लागि बन्द गरिँदैछ ।
सुरक्षा संवेदनशीलता र मौन अवधिलाई मध्यनजर गर्दै प्रशासनले सीमामा कडाइ गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेशस्थित सुरक्षा स्रोतका अनुसार फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म झापा, मोरङ, सुनसरी र इलामक नाका पूर्ण रूपमा बन्द रहनेछ ।
निर्वाचन सम्पन्न नभएसम्म आवतजावतमा रोक लगाइने छ । मौन अवधिमा दुवै देशका नागरिकको सीमा पार आवागमन बन्द गरिने प्रशासनको निर्णय छ ।
प्रशासनका अनुसार झापाको काँकडभिट्टा र भद्रपुर, इलामको पशुपतिनगर र मोरङको जोगवनी र सुनसरीको भन्टावारी नाका पूर्णरूपमा बन्द रहनेछन् । यी नाकाबाट दैनिक रूपमा हुने आवागमन तथा साना–ठूला व्यापारिक गतिविधि अस्थायी रूपमा प्रभावित हुने भएका छन् ।
निर्वाचन अवधिमा भन्सार सेवा पनि प्रभावित हुने भएको छ । चारवटै भन्सार कार्यालय दुई दिन पूर्णरूपमा बन्द रहनेछ ।
फागुन १९ गते तराई–मधेशमा मनाइने होली पर्व र फागुन २१ गते निर्वाचनका कारण भन्सार सेवा स्थगित गरिनेछ ।
सीमा नाका बन्दसँगै सुरक्षा निकायले उच्च सतर्कता अपनाएको झापाका प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जनाइन् । 'निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सीमा क्षेत्रमा विशेष निगरानी, गस्ती तथा जाँचलाई कडाइ गरिएको छ,' उनले बताइन् ।
