एमाले महाधिवेशन प्रतिनिधि छनौट : झापा २ काे मतगणना अझै सुरु भएन

५ निर्वाचन क्षेत्र रहेको झापामा क्षेत्र नं २ बाहेक १, ३, ४ र ५ सबैको नतिजा सार्वजनिक भइसकेको छ ।

मंसिर १४, २०८२

नवराज सुवेदी

UML General Convention Delegate Selection: Counting of votes in Jhapa 2 has not yet begun

What you should know

झापा — एमाले महाधिवेशन प्रतिनिधि छनौटका लागि झापा निर्वाचन क्षेत्र नं २ मा विवादका कारण शनिबार रातिदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा क्षेत्र नं २ बाहेक अन्य १, ३, ४ र ५ सबैको नतिजा सार्वजनिक भइसकेको छ । जसमा एमाले अध्यक्ष केपी ओली पक्षधरको बर्चश्व देखिएको छ ।

तर, कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, एमाले झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, कोशी प्रदेश सभा सदस्य चिन्तन पाठक, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायतका नेता महाधिवेशन प्रतिनिधिकाे चुनावी मैदानमा होमिएको निर्वाचन क्षेत्र नं २ मा भने विवाद देखिएको हो ।

यहाँ एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि बन्न पार्टीका प्रदेश स्तरका नेतादेखि नगरका प्रभावशाली नेताहरु मैदानमा छन् । राति साढे २ बजे बिर्तामोडस्थित एमाले जिल्ला पार्टी कार्यालयमा मतगणना चलिरहेको थियो । जहाँ अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनको नामबाट आएको सदर मतलाई बदर बनाएको र गन्ती नगरेको भन्दै १२/१५ जनाको स्थानीय युवाकाे समूहले विवाद गरेपछि मतगणना रोकिएको थियो ।

आन्तरिक छलफलपछि आइतबार बिहान ८ बजेबाट पुनः गणना सुरु गर्ने सहमति भए पनि दिउँसाेसम्म मतगणना सुरु भएको छैन । एमाले झापा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले मतगणनाका क्रममा गएराति सामान्य प्राविधिक त्रुटि हुँदा गणना रोकिएको बताए । उनका अनुसार बिहान ८ बजेबाटै गणना सुरु गर्ने भनिए पनि सबै उम्मेदवार आइनपुगेकाले गणना सुरु हुन नसकेको हो । यद्यपि अहिले उमेदवार आउने क्रम जारी रहेकाले गणनाका लागि सहमतिकाे प्रयास भइरहेकाे उनले बताए ।  

झापा २ मा खुला तर्फ ५ जना महाधिवेशन प्रतिनिधिका लागि १९ जना प्रतिस्पर्धामा छन् । यहाँ बहालवाला मन्त्रीदेखि, सांसद, जिल्ला अध्यक्ष, नगर अध्यक्ष, मेयरको कडा टक्कर चलिरहेको छ । यहाँ अब ६ सय मत गणना गर्न बाँकी रहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।

झापा निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको क्षेत्र हो । २०७९ को निर्वाचनमा उनी यहाँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

नवराज सुवेदी

Link copied successfully