एमाले महाधिवेशन प्रतिनिधि छनोट : सर्वसम्मतको नाममा मनोमानी भएपछि कास्कीमा विवाद

आफ्नो नाम नपरेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका पार्टी सदस्य बिहानैदेखि जिल्ला पार्टी कार्यालयमा भेला भएका छन् ।

मंसिर १४, २०८२

अनुप पौडेल

UML General Convention delegate selection: Controversy in Kaski after arbitrariness in the name of consensus

कास्की — सर्वसम्मतको नाममा केन्द्रीय नेताहरूले मनोमानी निर्णय गरेपछि कास्कीमा एमालेको ११औं महाधिवेशनको प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । 

अध्यक्ष केपी ओलीको विरोधमा देखिएका र प्रतिनिधि छान्न मतदान हुनुपर्ने पक्षमा रहेकालाई छोडेर स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्य जगत विश्वकर्मा, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णबहादुर थापाले प्रतिनिधिको नाम टुंगो लगाएका हुन् । 

कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, सचिव दर्शन लामा, वेदबहादुर गुरुङ, टीकाराम पंगेनी, नवराज ओझा, विजया सुवेदी, र रक्षा भट्टराईको नाम नेताहरुले टुंग्याएका छन् । 

क्षेत्र नम्बर २ बाट भेषराज बराल, रामप्रसाद खनाल, तेजनारायण अधिकारी, रश्मि आचार्य, विजय पौडेल, सिर्जना शर्मा र हिरा गिरीको नाम टुंगो लागेको छ । क्षेत्र नम्बर ३ बाट दीपक पौडेल, माधव बास्तोला, जगन्नाथ बास्तोला, लालबहादुर परियार, भरतमान गुरुङ, शोभा पहारी र गीता विश्वकर्माको नाम सार्वजनिक भएको छ । 

केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशमान गुरुङ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी सुवेदी, प्रदेशसभा सदस्यसमेत रहेकी नेतृ देवका पहारी, जिल्ला उपसचिव सन्तु सुवेदी, नेता धनबहादुर नेपालीसहित ठूलो पंक्ति असन्तुष्ट छ ।

आफ्नो नाम नपरेपछि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका पार्टी सदस्य बिहानैदेखि जिल्ला पार्टी कार्यालयमा भेला भएका छन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यकक्ष र पार्टी कार्यालयमा तालाबन्दी गर्ने तयारी गरेका छन् । कास्कीबाट २३ जना प्रतिनिधि छनोट हुनेमा १ सय २२ जनाको उम्मेदवारी परेको थियो । 

अनुप पौडेल

Link copied successfully