ताप्लेजुङ सिरिजंगा ३ को वडाध्यक्षमा एमालेकी सावादेन निर्वाचित 

मंसिर १७, २०८१

आनन्द गौतम

UML's Sawaden was elected as the Ward President of Taplejung Sirijanga 3

ताप्लेजुङ — जिल्लाको सिरिजंगा गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । नाताले माइती माओवादी केन्द्रका अम्वी साउदेनलाई १ सय २ मतले पछि पार्दै सावादेन विजयी भएकी हुन् । उनले ३ सय ५३ मत प्राप्त गरिन् भने माओवादीका अम्वीले २ सय ५१ मत प्राप्त गरे । 

यसअघि वडाध्यक्षमा जितेको कांग्रेस तेस्रो भयो । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो । 

कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् । यहाँ काँग्रेसबाट भीम लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए ।

कांग्रेसका भिमले २ सय १८ मत प्राप्त गरे ।  राजेन्द्रले ५४ मत प्राप्त गरे भने रास्वपाका देवीप्रसादले ७ मतमात्रै पाए । 

६१ वडा रहेको जिल्लामा कुमारी एकमात्र महिला वडाध्यक्ष बनेकी छिन् । उनले सुशासन कायम गर्ने, महिलाको पक्षमा तुलनात्मक रूपमा बढी वकालत गर्ने, स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने लगायतका प्रतिबद्धता जनाएकी छिन् । 

२०७४ को निर्वाचनमा सिरिजङ्गा-१ सिनाममा उर्मिला थेवे र फुङलिङ नगरपालिका-५ को वडाध्यक्षमा भिमा ओझा गरी दुईजना महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । थेवे अहिले प्रतिनिधिसभा सदस्य भएकी छन् भने ओझा फुङलिङ नगरपालिका उपप्रमुख छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully