विराटनगर — मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा आइतबार ७१.३३ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुरुष ८ हजार ९ सय ६६ र महिला ९ हजार ६ सय १२ गरी कुल १८ हजार ५ सय ७८ जना मतदानमा सहभागी भएका हुन् ।
यो पालिकामा कुल मतदाता २६ हजार ४४ जना छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि भएको उपनिर्वाचनमा सत्तारुढ दलहरु एमाले–कांग्रेस पनि अलग-अलग प्रतिस्पर्धामा उत्रिएका छन् ।
एक स्वतन्त्रसहित १६ राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । जसमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका छन् । जसमध्ये विगतमा झैं एमाले, कांग्रेस र माओवादीबीच त्रिपक्षीय भिडन्तको सम्भावना देखिन्छ । कांग्रेसका बलराम सरदार थारु र एमालेबाट तुलसीराम विश्वास भिडेका छन् ।
माओवादी केन्द्रका नमोनारायण माझी, राप्रपाका दिनेशकुमार थन्दार (दिवेश), एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी र जसपाबाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार बनेका छन् । त्यस्तै समावेशी समाजवादी पार्टी नेपालबाट बौधनारायण माझी, राष्ट्रिय उन्मुक्ति पार्टीबाट बुद्धिजन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनमत पार्टीबाट विनोदकुमार माझी, राप्रपा नेपालबाट राजु मुसहर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नविनकुमार विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेशनबाट भरत राई, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारु र नभनारायण चौधरी थारुले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका छन् ।
यसैबीच आइतबार मध्यरातिबाट मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोमबार दिनभरमा नजिता सार्वजनिक गर्ने लक्ष्य कार्यालयले राखेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जनाए ।
