तिलागुफामा पुरुषभन्दा महिला मतदाता बढी, ६७ दशमलव ४८ प्रतिशत खस्यो मत

मतगणना आजै बेलुकी ६ बजेदेखि

मंसिर १६, २०८१

तुलाराम पाण्डे

Female voters are more than male in Tilagufa, 67.48 percent votes fell

कालीकोट — यहाँको तिलागुफा–४ राँचुलीमा ६७ दशमलव ४८ प्रतिशत मत खसेको छ । कुल ६ सय ९ मतदाता रहेको तिलागुफा–४ मा ४ सय ११ मत खसेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताए ।

उनका अनुसार पुरुषभन्दा बढी महिला मतदाता निर्वाचनमा सहभागी भए । वडाध्यक्षको उपचुनावमा २ सय १७ महिला र १ सय ९४ पुरुषले मतदान गरेका छन् । पुरुष मतदाता विभिन्न पेसा व्यवसाय र रोजगारीका लागि जिल्लाबाहिर रहेकाले कम मत हाल्न आएको नेमकिपाका उम्मेदवार खड्कराज शाहीले बताए । उनका अनुसार राँचुली गाउँका दुई सय मतदाता घरमै नभएकाले मत कम खसेको देखिए पनि घरमा भएका शतप्रतिशतले मतदान गरेका छन् । १ सय १९ जना जिल्लाबाहिर छन् ।

दुई वर्षअघि पहिरोमा परी तिलागुफा–४ राँचुलीका तत्कालीन वडाध्यक्ष परबहादुर शाही बेपत्ता भएपछि यहाँ उपचुनाव भएको हो । चुनावमा बेपत्ता शाहीकी पत्नी नैशोभा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् । यहाँ उनी मात्र महिला उम्मेदवार हुन् । 

यहाँको उपचुनावमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

मतगणना बेलुकी ६ बजेदेखि

तिलागुफा–४ को वडा कार्यालयमा मतगणनाको सबै तयारी पूरा भइसकेको र बेलुकी ६ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पन्तले जानकारी दिए । उनका अनुसार मतदान स्थलबाट मतगणनास्थलको दूरी १५ मिनेटको मात्र भएकाले ६ बजेदेखि नै मतगणना हुने उनले बताए । 

मतगणना स्थलको सुरक्षा तथा अनुगमनका लागि प्रजिअ नारायण प्रसाद भट्टरार्ई, जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावत, सशस्त्र प्रहरीका डीएसपी दीपेन्द्रबहादुर विष्टलगायत सुरक्षा अधिकारी राँचुलीमै छन् ।

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully