पुथाउत्तरगंगा गाउँपालिकामा ५३ प्रतिशत मत खस्यो

मंसिर १६, २०८१

महेश केसी

53 percent votes fell in Puthauttarganga Rural Municipality

रुकुम पूर्व — रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५३ प्रतिशत मत खसेको छ । कुल ११ हजार १ सय ८० मतदातामध्ये ५ हजार ९ सय ३१ जना सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पुथाउत्तरगंगाका जम्मा १४ वटा वडामा रहेका २२ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले बताए । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । अहिले उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाइएको छ । 

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् । अहिले पालिका उपाध्यक्षमा कांग्रेस–एमालेकी तुलाचन र माओवादी केन्द्रकी बुढाका बीचमा प्रतिस्पर्धा भएको छ । 

२०७९ मा भएको निर्वाचनमा कुल ११ हजार २ सय ५३ मतदातामध्ये ८ हजार ४ सय १२ अर्थात् ७४.७५ प्रतिशतले सहभागिता जनाएका थिए । यसको तुलनामा यसपटक २१ प्रतिशतले मत कम खसेको छ । उपाध्यक्ष पदका लागि मात्रै चुनाव हुने भएकाले भुगोलभन्दा बाहिर रहेका मतदाताहरु सम्बन्धित पालिकामा नआएकाले यो संख्या घटेको हुनसक्ने अनुमान गरिएको छ ।

मतदान स्थलहरुबाट मतपेटिका गणनास्थल पालिकाको केन्द्र पुथाउत्तरंगा–१० तकसेरामा ल्याउने क्रम सुरु भैसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले बताए । उनका अनुसार सोमबार बिहानसम्म सबै मतपेटिका ल्याइसक्ने र त्यसपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने तयारी छ । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully