प्रधानमन्त्रीको कुर्सीमा रहँदा थापाको बानी थियो– हरेक निर्णयमा दरबारको अनौपचारिक पूर्वसहमति लिने अनि सिंहदरबारमा चाहिँ ती निर्णयमा नारायणहिटी दरबारको कुनै भूमिका नरहेको देखाउने । अरू प्रधानमन्त्री भन्ने गर्थे, ‘दरबारले मान्छ कि मान्दैन ?’ तर थापा दरबारतिर कहिल्यै संकेत गर्दैनथे ।
इतिहासकै शक्तिशाली जनमतसहित वालेन्द्र शाह प्रधानमन्त्री बनेको तीन साता पुगेको छ । प्रधानमन्त्रीका रूपमा उनको भूमिका कस्तो रहनेछ ? उनलाई इतिहासले कसरी सम्झिन्छ ? अहिल्यै आकलन गर्नु हतारो हुनेछ । नेपालको राजनीतिक इतिहासमा ४० जना प्रधानमन्त्री भइसकेका छन् । तीमध्ये कतिपयलाई निरन्तर सम्झना गरिन्छ । कतिपय भने गुमनाम जस्तै छन्, औपचारिक सन्दर्भभन्दा बाहेक चर्चा गरिँदैनन् । ‘कोसेली’ ले केही प्रधानमन्त्रीको कार्यकाल सम्झना गरेको छ । ‘कान्तिपुर’ को सम्पादकीय समूहले पदमा रहँदा निर्वाह गरेको भूमिका र सार्वजनिक विमर्शमा नाम आइरहने १२ पात्र छनोट गरेको छ । उनीहरूको पदावधिको चर्चा गर्दा नेपालको मूलभूत शासकीय प्रवृत्ति उजागर हुनेछ भन्ने हाम्रो विश्वास छ ।
What you should know
पञ्चायतकाल र संसदीय कालखण्ड हुँदै राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा समेत प्रधानमन्त्रीको कुर्सीमा जमेका पात्र हुन्, सूर्यबहादुर थापा ।
तत्कालीन राजा महेन्द्र शाहले १ पुस २०१७ मा संसद् विघटन गरी जननिर्वाचित सरकार अपदस्थ गर्दै सत्ता हातमा लिएर १२ दिनपछि मन्त्रिपरिषद् घोषणा गरे । त्यही मन्त्रिपरिषद्मा चौथो वरीयताको मन्त्रीमा नाम दर्ज थियो, सूर्यबहादुर थापाको । मन्त्रीको वरीयतामा डा. तुलसी गिरी, विश्वबन्धु थापा, हृषिकेश शाहपछि थापा थिए । त्यसरी मन्त्रीका रूपमा उदाएका थापा मन्त्रिपरिषद् उपाध्यक्ष, मन्त्रिपरिषद् अध्यक्ष हुँदै ६ पटक त प्रधानमन्त्रीकै कुर्सी आसीन रहे । शासकीय रजगज गर्न सफल भए, थापा ।
पञ्चायतको प्रारम्भकालमा डा. गिरी, विश्वबन्धु थापा र सूर्यबहादुर थापाकै ‘तीनखुट्टे ओदान’ मा निर्दलीय पञ्चायती व्यवस्थाको रोटी सेकेका हुन्, राजा महेन्द्रले ।
पञ्चायती व्यवस्थाको जग राख्दै गर्दा राजा महेन्द्र स्वयं मन्त्रिपरिषद् अध्यक्ष थिए । तर २० चैत २०१९ मा मन्त्रिपरिषद् अध्यक्षबाट बाहिरिए र त्यो ठाउँमा आए गिरी, सूर्यबहादुर थापा भने उपाध्यक्ष भए । विश्वबन्धु थापा राष्ट्रिय पञ्चायतको अध्यक्ष हुन गए ।
राजा महेन्द्र र डा. गिरीबीच ‘नीतिगत मतभिन्नता’ देखापर्यो । त्यसपछि १२ माघ २०२१ मा डा. गिरीले मन्त्रिपरिषद् उपाध्यक्षबाट राजीनामा दिए । त्यसपछि त्यो कुर्सी मिल्यो, सूर्यबहादुरलाई । जतिखेर उनी ३७ वर्षका थिए ।
पञ्चायतकालको प्रारम्भिक त्रिकोणात्मक शक्तिका दुई पात्र पन्छिएपछि सूर्यबहादुर एक्लो हर्ताकर्ता बने । तर दरबारले उनका प्रतिस्पर्धीका रूपमा कीर्तिनिधि विष्टलाई ‘ग्रुम’ गर्दै थियो ।
पञ्चायती संविधानमा १४ माघ २०२३ मा पहिलो संशोधन भयो । सँगै संविधानबाट ‘मन्त्रिपरिषद् अध्यक्ष’ पद खारेज भयो, प्रधानमन्त्री पद राखियो । संविधान संशोधनसँगै थापा स्वतः प्रधानमन्त्री बने, उपप्रधानमन्त्रीमा विष्ट ।
दरबारसँगको सम्बन्ध र ‘म्यानुपुलेसन’ क्षमता
राजनीतिक शक्तिको जोड–घटाउसँगै तानाबाना बुन्न सक्ने थापाको खुबी नै ‘प्रधानमन्त्री कुर्सी’ सम्म पुग्ने र अड्ने सफलताको सूत्र बन्यो । सत्तामा पुग्न र टिकाउन जस्तोसुकै मूल्य चुकाउन पनि पछि परेनन् उनी, यहाँसम्म कि पञ्चायतभित्रै आफ्नै बलियो गुटसमेत खडा गरे ।
पञ्चायतका प्रारम्भकर्ताहरू विश्वबन्धु थापा, डा. गिरीले दरबार चिनेका र दरबारिया चाल बुझेका थिएनन् । तर शक्ति र राजकाज बुझेका थापामा दरबार–दरबारियालाई कसरी नचाउन सकिन्छ भन्ने रणनीतिक ज्ञान थियो । त्यस कालमा त्यसरी ‘प्राविधिक पक्ष’ नबुझ्नेहरू पदमा टिक्ने सम्भावना रहँदैनथियो ।
थापा बाल्यकालमै पढ्न धनकुटाबाट काठमाडौं छिरेका थिए, नाता–सम्बन्धका कारण जुद्धशमशेरका छोरा ध्रुवशमशेरको दरबारमा बास पाए । अर्थात्, उनले बाल्यकालमै शक्तिशाली राणा शासक र दरबारका कुरा बुझ्ने, देख्ने मौका पाए ।
थापा कसलाई, कस्तो व्यवहार गर्ने बुझेरै प्रयोग गर्थे । उनमा शासकीय ‘म्यानुपुलेसन’ गर्ने क्षमता पनि थियो । कहिलेकाहीं रकमी र कहिले द्विअर्थी भाषा प्रयोग गरी परिस्थितिलाई आफ्नो काबुमा राख्न सक्थे । ‘राजनीतिक तरंग’ सँगै परिवर्तन हुन सक्ने अधिक क्षमता उनमा थियो, अरू पञ्च नेतामा जस्तो उनमा जडता थिएन । त्यही कारण उनलाई नजिकबाट चिन्नेहरू ‘सिद्धान्तहीन’ व्यक्तिको संज्ञा दिन्थे ।
प्रारम्भिककालमै आफ्ना सहयात्रीद्वय विश्वबन्धु र डा. गिरीलाई जेल पुर्याए, दरबारसँग टाढा राख्न । उनले ३० वैशाख २०२४ मा विश्वबन्धुलाई ‘सार्वजनिक सुरक्षा कानुन’ अन्तर्गत मध्यरातमा पक्राउ गरे, त्यो पनि राजा महेन्द्र विदेश भ्रमणमा रहेकै बेला । उता डा. गिरी वैशाख २०२५ को पहिलो साता जनकपुरमा पक्राउ गरे, महोत्तरीको जेलमा थुनिए । यसबाट सूर्यबहादु थापाले सन्देश दिए, ‘राजनीतिमा कोही सधैंभरि मित्र रहँदैन ।’
प्रारम्भिक चरण राम्रैसँग जम्दै गर्दा राजा महेन्द्रले कुनै खास कारणबेगर थापासँग चैत २०२५ मा ‘प्रधानमन्त्रीबाट हट्ने हो कि ?’ भन्ने प्रश्न गरे । राजाको आदेशसँगै उनले रेडियो नेपालमार्फत राजीनामाको घोषणा गरे, २० चैत २०२५ मा । राजीनामा दिएपछि उनी पाँच दिन ‘काम चलाऊ’ प्रधानमन्त्री रहे । त्यो कुर्सी मिल्यो, कीर्तिनिधि विष्टलाई ।
त्यसो त, राजीनामा दिनुअघि केही समय अगाडि नै राजा महेन्द्रले लिखित मूल्यांकन देखाएका थिए । थापाकै शब्दमा ‘अंग्रेजीमा लेखिएको मूल्यांकनमा सूर्यबहादुर थापा राजतन्त्रको हिमायती हो, कीर्तिनिधि विष्ट चाहिँ प्रजातान्त्रिक । अर्थात्, सूर्यबहादुर रोयलिस्ट, कीर्तिनिधि विष्ट डेमोक्र्याट’ उल्लेख थियो ।
त्यसो त, राजा महेन्द्र थापालाई खुब माया गर्थे । उनको काठमाडौंमा घरजमको व्यवस्था राजा महेन्द्रले गरिदिएका हुन् । त्यहीकालमा राजाले पाँच लाख रुपैयाँ सहयोग दिएका थिए घर–जग्गा जोड्न ।
राजाले आफूलाई त्यसरी प्रधानमन्त्रीबाट हटाउनुमा पञ्चायतभित्र हुर्केको ‘अनुदारवादी धार’ को भूमिका ठान्थे थापा । आठ वर्षदेखि जेलमा रहेका कांग्रेस नेता बीपी कोइराला–गणेशमान सिंह छुटाउन खेलेको भूमिका पञ्चहरूलाई पचिरहेको थिएन । थापा कुर्सीमा रहिरहँदा पञ्चहरूले नै विद्रोह गर्छन् भन्ने माहौल बनाएपछि आफूलाई हटाइएको निष्कर्ष उनको थियो ।
छिमेकी ‘कूटनीति मिलाउन’ थापालाई पन्छाउँदै विष्टलाई अघि बढाइयो भन्नेहरू पनि छन् । किनभने असार २०२४ मा घटित ‘रमाइलो मेला काण्ड’सँगै चीन चिढिएको थियो । विष्ट चीनसँग नजिक मानिन्थे, उनैलाई प्रधानमन्त्री बनाइयो भन्नेहरू पनि छन् ।
जब थापा प्रधानमन्त्रीको कुर्सीबाहिर पुगे, तब उनले पञ्चायतभित्रै ‘उदारवादी धार’को वकालत गर्न थाले । हुन त, थापाको प्रारम्भिक राजनीति कांग्रेसबाटै प्रारम्भ भएको हो । तर उनी लामो समय कांग्रेसमा रहेनन् ।
उता, कुनै बेला कांग्रेसकै महामन्त्री र बीपी कोइरालामा सरकारका मन्त्री डा. गिरी भने यस्ता पात्र थिए, जो कुर्सीमा हुँदा होस् या नहुँदा ‘अनुदारवादी धार’मै रमे । यहाँसम्म कि डा. गिरीलाई ‘पञ्चायती व्यवस्थाको आमा’ समेत भनियो ।
राजा वीरेन्द्रसँग दूरी र ‘द्वैध शासन’
थापा प्रधानमन्त्रीबाट फ्याँकिएपछि बिस्तारै ‘पञ्चायती व्यवस्थाकै विद्रोही पात्र’मा दर्ज हुँदै थिए । जब राजा महेन्द्रको निधन भयो, उनका छोरा वीरेन्द्रसँग थापाको ‘हिमचिम’ थिएन ।
अझ नयाँ राजा वीरेन्द्र सत्तासीन भएसँगै थापाले ३१ वैशाख २०२९ मा सरकारसँग १३ बुँदे माग राखे, जसमा राजदरबार र सिंहदरबारका कर्मचारीहरूलाई राजनीतिमा हात हाल्नबाट निषेध र द्वैध शासनको अविलम्ब अन्त्य गर्नुपर्ने जस्ता मागसमेत थिए ।
नयाँ राजाको आगमनसँगै नारायणहिटी दरबारमा ‘शक्तिशाली कर्मचारीतन्त्र’ स्थापित भयो, तिनै कर्मचारीले सिंहदरबारमा शासन गर्न थाले । दरबारिया सचिव र अनुदारवादी पञ्चहरूको रजगज थापालाई मन मरेन । तिनै दृश्यलाई विश्लेषण गर्दै थापाले प्रयोगमा ल्याएका हुन्, ‘द्वैध शासन ।’ त्यो शब्दावली तीसको दशकमा खुब प्रचलित रह्यो ।
यहाँसम्म कि थापाले नयाँ राजासँग भेट गर्न खोजे, त्यसमा पनि रोक ल्याइयो । त्यसपछि बिस्तारै थापा माग मात्र होइन कि शासन व्यवस्थाविरुद्ध राजनीतिक कोणसभामै उत्रिए । २९ साउन २०२९ मा इटुम्बहालमा राजनीतिक सभा गरे, जहाँ उनले भनेका थिए, ‘मुलुक संकटकालीन अवस्थामा छ । यो स्थिति पैदा हुनुमा जनताप्रति जिम्मेवार सरकार नहुनु नै जड हो ।’
थापाको बोली पञ्चायती व्यवस्थाका निम्ति ‘जायज’ ठानिएन । त्यही रात उनीसहित सभामा बोल्नेहरू पक्राउ भए, जतिखेर विष्ट प्रधानमन्त्री थिए । व्यवस्थाविरुद्ध प्रश्न उठाएको अभियोगमा विष्टकै आदेशमा थापा पक्राउ परेका हुन् । उनी जेलमा १४ महिना रहे । जेलमा आमरणमा अनशनसमेत बसे ।
विष्टले २ भदौ २०७० मा यो पंक्तिकारसँग भनेका थिए, ‘म सूर्यबहादुर थापा जस्तो होइन, सबै पद र हैसियत दरबारले दिने उसैप्रति खनिने, मलाई पनि राजाले पद दिएका हुन्, डा. गिरीलाई पनि राजाले बनाएका हुन्, सूर्यबहादुर थापालाई पनि । बहुदलीय व्यवस्था भए पो जनताले गरेको भन्ने । जनताको जनादेशमा होइन, हामी राजाकै निगाहमा भएका हौं । त्यो देख्दादेख्दै पनि राजाले गरेको होइन कसरी भन्ने ? मेरै बलमा भएको कसरी भन्ने ?’
सत्ताबाहिर थापाको छटपटाहट चलिरह्यो । तर उनलाई पद मिलेन । जब २०३५–०३६ को आन्दोलनसँगै पञ्चायती व्यवस्थाविरुद्ध संकट आयो, तब दरबारलाई संकटमोचन गर्ने पात्र चाहियो । वीरेन्द्रले आफ्नै पिताको डायरी भेटे, जहाँ लेखिएको थियो, ‘दरबार–व्यवस्थालाई अप्ठ्यारो पर्यो भने सूर्यबहादुर थापालाई प्रयोग गर्नू ।’
संकट टार्न राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा मात्र गरेनन् कि १० जेठ २०३६ मा कीर्तिनिधि विष्टलाई राजीनामा दिन लगाउँदै थापालाई प्रधानमन्त्री बनाए । थापा ११ वर्षपछि प्रधानमन्त्रीको कुर्सीमा फर्किए ।
दरबारले प्रयोग गर्नुपर्ने पात्रमाथि ‘भित्री मूल्यांकन’ गर्थ्यो, राजनीतिकर्मीदेखि प्रशासक हुँदै जोगीसम्म । दरबारमा तिनको व्यक्तिगत फाइल बन्थ्यो । आफूलाई पर्दा दरबार योगी–जोगीसम्म प्रयोग गर्न पछि पर्दैनथ्यो । दरबारमा हालीमुहाली जमाएका पूर्वप्रमुख सचिव रेवतीरमण खनालले राजतन्त्र अन्त्यपछि संस्मरण पुस्तकमार्फत दरबारको ‘व्यक्ति–मूल्यांकन’ सूची सार्वजनिक गरेका थिए । त्यसमा थापाबारे लेखिएको थियो, ‘दरबार बुझेको, कुशल, साथै आफ्नो कुरामा चतुर पनि ।’
‘आपत्शास्त्रका पात्र’ का रूपमा थापा प्रधानमन्त्रीको कुर्सीमा फेरि पुगेका थिए । जनमत संग्रहमा उनले पञ्चायतलाई जिताएरै छाडे । बहुदलविरुद्ध देशभर जेहाद छेड्दै ‘सुधारिएको पञ्चायत’ जिताउन कुनै कसर बाँकी राखेनन्, बहुदलभन्दा पञ्चायतको पक्षमा चार लाख बढी मत पर्यो ।
त्यहीकालमा जंगल सकियो, ‘हरियो वन नेपालको धन’को धुन मधुर बन्न पुग्यो । चुनावी चन्दाका नाममा हात फैलाउँदै व्यापारीका निम्ति वाणिज्य मन्त्रालय खुला गरियो । सर्पका छालादेखि मयूरका प्वाँखसम्म तस्करीमा परे । चुनावकै निम्ति बजेट रकमान्तरको खेल चल्यो । त्यही खेल सहन नसकी तत्कालीन अर्थ सचिव देवेन्द्रराज पाण्डे बाहिरिए । राज्यसंयन्त्रको चरम दुरुपयोग गरी पञ्चायती व्यवस्थालाई जिताएको आरोप लाग्यो, थापामाथि ।
नयाँ जंगबहादुर’को छवि
पञ्चायतलाई जिताएसँगै केही समय थापाको ‘हाई–हाई’ हुने नै भयो । पञ्चायतभित्र भन्न थालियो कि ‘यही गतिमा अघि बढ्न दिइयो भने सूर्यबहादुर जंगबहादुर बन्छ ।’
थापाले भनेका थिए, ‘दरबारलाई जनतामा मेरो प्रभाव पुगेको भान पर्यो । अखबारका पानामा देखिन थाल्यो– नयाँ जंगबहादुर निस्कियो, सूर्यबहादुर । त्यस्ता दृश्य देखाउँदै राजालाई पनि तिनले सिँगारेछन् । राजालाई पनि के भएछ भने यो सूर्यबहादुरले अर्कै विचारले काम गरिराख्या छ कि भन्नेमा केही हदसम्म शंका लागेछ ।’
त्यही पृष्ठभूमिमा असार २०४० मा थापाविरुद्ध अविश्वास प्रस्तावकै खेल रचियो, दरबारले उनीविरुद्ध तानाबुना बुन्दै । राजाको चाहना थियो, प्रस्तावसँगै राजीनामा दिएर थापा हटून् । तर, थापाले अडान लिए, ‘प्रधानमन्त्रीको कुर्सीमा मूलढोकाबाट प्रवेश गरेको हुँदा जस्केलाबाट भाग्न चाहन्नँ ।’ राजा वीरेन्द्रले ‘जस्केलो’ बुझेनन्, जसलाई अर्थ्याउन ‘ब्याक–डोर’ भन्नुपरेको थियो ।
नारायणहिटी दरबार नै लागेपछि उनको के जोर चल्थ्यो र ? २७ असार २०४० मा अविश्वास प्रस्तावविरुद्ध सँगै आफूमाथि लागेको आरोपको प्रतिवाद गरे । जतिखेर आफूविरुद्ध दरबार लागेको संकेत दिन ‘भारदार’ शब्द प्रवेश गराए, सँगै त्यही ‘भारदारी समूह’ पछि ‘भूमिगत गिरोह’मा परिणत हुन पुग्यो ।
त्यसो त, थापाका हकमा विश्लेषण आउँथ्यो, उनी राजनीतिमा ‘सामना गर्न’, ‘बदला लिन’ र ‘चोला बदल्न’ माहिर व्यक्ति हुन् ।
थापाले भनेको ‘भूमिगत गिरोह’ दरबारिया र तिनीहरू संरक्षित शक्तिका खेलाडीतिरै लक्षित थियो । तर उनले गिरोहका सदस्यका नाम खुलाएनन् । यो पंक्तिकारले उनै पूर्वप्रधानमन्त्री थापासँग २२ साउन २०७० मा सोधेको थियो, ‘भूमिगत गिरोहमा सदस्यहरू को को थिए त ?’
थापाको जवाफ रह्यो, ‘हेर्नोस्, कचौराजस्तो काठमाडौं खाल्डोका पात्रहरू को–को कहाँबाट कसरी सञ्चालित हुन्छन्, कस्तो लाभ लिन्छन् भन्ने सबैलाई थाहा थियो । गिरोहका पात्रहरू त बदलिइरहन्थे । भूमिगत गिरोहको एउटा ‘सिस्टम’ बनेको थियो ।’
प्रशासनतन्त्र प्रयोगमा माहिर
थापा प्रधानमन्त्रीको कुर्सीमा छँदा कर्मचारीतन्त्रलाई राम्रैसँग प्रयोग गर्थे । कर्मचारीका थातथलोदेखि नातागोतासम्म जानकारी लिन्थे । थापा कर्मचारीसँग नजिक हुन तिनका कुरा राम्रैसँग सुन्थे । उच्च तहका कर्मचारीसँग कुनै ‘कन्फिडेन्स’ का कुरा गर्नुपर्यो भने बिहान ५ बजे नै बोलाउँथे । उनीहरू बिहानै पुग्दा थापा फाइल अध्ययन गरिरहेकै हुन्थे ।
मन्त्रालयका सचिवहरूसँग ‘ब्रिफिङ’ लिन्थे । मन्त्रिपरिषद्मा प्रस्तुत हुने हरेक प्रस्तावका शब्द–शब्द पढ्थे । थापाको ‘पूर्वतयारी’ सघन हुन्थ्यो । बरु मन्त्रीहरू प्रस्ताव अध्ययन नगरीकन मन्त्रिपरिषद्मा उपस्थित हुन्थे । अझ कतिपय मन्त्री ‘लाहछाप’ लागेका फाइल मन्त्रिपरिषद् बैठकमा मुख्यसचिवकै सामु खोल्थे, जुन गहन अध्ययन गर्न पठाइएका फाइल हुन्थे ।
धेरैजसो प्रधानमन्त्री निवास बालुवाटारमै मन्त्रिपरिषद्को बैठक राख्थे, थापाचाहिँ सिंहदरबारभित्र औपचारिक थलोमै । पूर्वपञ्चहरूकै शब्दमा भन्ने हो भने ‘केही नभए पनि दह्रैसँग केही गरिरहेको’ भान पार्थे । अर्थात्, ‘म्यान अफ एक्सन’ को हाउभाउ उनको शासकीय बानी बन्यो ।
पूर्वप्रशासकहरू भन्छन्– थापा कामैले बनेका हुन् । नत्र त्यत्रो बुद्धि भएका हृषिकेश शाह प्रारम्भमै ढले । डा. गिरी ज्यादै विलासी–अल्छी भएकै कुर्सीमा टिकेनन्, नत्र त्यति ‘सार्प’ बुद्धि भएका डा. गिरीजस्ता मानिस ज्यादै कम मानिस हुन्छन् । तिनीहरू उँभो नलाग्नुमा अल्छी र सौखिन हुनु हो ।
पञ्चायतको खरो आलोचक बन्ने क्रमसँगै त्यो व्यवस्थाको उत्तरार्द्धताका थापा ‘उदारवादी धार’ को नेता कहलिन पुगे । पञ्चहरूकै टिप्पणी हुन्थ्यो– ‘पदमा रहेको सूर्यबहादुरभन्दा पद बाहिरको सूर्यबहादुर खतरनाक हुन्छ ।’
अनि अर्को, थापा शक्तिशाली मानिस पट्याउन माहिर थिए । जब राजा महेन्द्र २०१३ मा पूर्वी नेपालको भ्रमण गर्दै धनकुटा पुगेका थिए । थापाले काठमाडौंबाटै मानिस लगी आकर्षक स्वागतद्वार–मञ्च बनाएका थिए । त्यतिमात्र होइन कि ‘डमरु’ (बाघको बच्चा) उपहार दिँदै राजासँग परिचय गर्ने अवसर मिलाएका थिए । त्यही ‘परिचय’सँगै दरबारसँग निकटता बढाउँदै १ पुस २०१७ को राजा महेन्द्रको भाषणको ‘मस्यौदा’ कोर्न पुगे । सँगै शासकीय यात्रामा हिँडेका थिए ।
२०३६ मा प्रयोग गरेजसरी नै राजा वीरेन्द्रले चैत २०४६ मा जनआन्दोलन उत्कर्षमा पुग्नै लाग्दा पनि थापालाई प्रयोग गर्न खोजेका थिए । जब राजा वीरेन्द्रलाई प्रधानमन्त्री मरीचमान सिंहबाट काम हुँदैन भन्ने लाग्यो, तब पूर्वप्रधानमन्त्री र राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्षको भेला गराए ।
त्यहाँ थापालाई प्रधानमन्त्री बन्न निर्देशन दिए । तर थापाले ‘समय घर्किसकेको’ ठान्दै आफू बाहिरै रहेर सहयोग गर्ने जवाफ दिए । अर्थात् ‘आपत्शास्त्रका पात्र’ थापा त्यतिखेर प्रयोग हुन चाहेनन् । केही दिनपछि ‘दलमाथिको प्रतिबन्ध’ हटाउँदै बहुदलीय व्यवस्था लागू गर्न राजा वीरेन्द्र बाध्य भए ।
बहुदलीयकालमा फेरि प्रधानमन्त्री
थापा पञ्चायतमा मात्र होइन, बहुदलीयकालमा असोज २०५४ मा छोटो समयका लागि भए पनि प्रधानमन्त्री भए । उनले आफूलाई १४ वर्षअघि प्रधानमन्त्रीबाट हटाउन ‘अभियान’ चलाउने पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनी प्रयोग गर्दै ‘पुराना शत्रु’ लोकन्द्रबहादुर चन्दलाई पाखा लगाउँदै प्रधानमन्त्री बने, कांग्रेसलाई पछि लगाउँदै ।
जेठ २०५८ मा राजा वीरेन्द्रको वंशनाश भयो । जेठ २०५९ मा शेरबहादुर देउवालाई प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गराएसँगै राजा ज्ञानेन्द्र शक्तिशाली भए । उनी राजनीतिक दलहरूलाई पाखा लगाउँदै पुराना पञ्चहरू प्रयोगको मोहमा लहसिए, सुशासनकै नारा दिँदै । राजा ज्ञानेन्द्र मनोनीत प्रधानमन्त्री–मन्त्री बनाउँदै गए, २५ असोज २०५९ मा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए ।
चन्दबाट चाहना पूरा नभएपछि २८ जेठ २०६० मा थापालाई प्रधानमन्त्री नियुक्ति गरे । संसदीय व्यवस्थालाई धरापमा पार्दै अनुकूल यात्रामा हिँडेका तत्कालीन राजा ज्ञानेन्द्रले चुनाव गराउन नसक्ने स्थिति देखेपछि दरबारकै मूल्यांकनअनुरूप ‘आपत्शास्त्रका पात्र’ थापा प्रयोग भएका थिए, जतिखेर उनी ७६ वर्षे वृद्ध उमेरमा थिए ।
तर जब थापाले संवैधानिक परिषद्बाट सिफारिस गराउँदै संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरे । उनको सिफारिसलाई महिनौंसम्म कार्यान्वयन नगरी दरबारले थन्कायो । त्यसपछि असन्तुष्टि बढ्यो । त्यसो त, ती नियुक्तिमा सिफारिसपूर्व नै उनले राजासँग व्यापक परामर्श गरेका थिए । ‘गो अहेड’ आदेश पाएसँगै संवैधानिक परिषद्बाट सिफारिस गराएका थिए ।
प्रधानमन्त्रीको कुर्सीमा रहँदा थापाको बानी थियो– हरेक निर्णयमा दरबारको अनौपचारिक पूर्वसहमति लिने अनि सिंहदरबारमा चाहिँ ती निर्णयमा नारायणहिटी दरबारको कुनै भूमिका नरहेको देखाउने । अरू प्रधानमन्त्री भन्ने गर्थे, ‘दरबारले मान्छ कि मान्दैन ?’ तर थापा दरबारतिर कहिल्यै संकेत गर्दैनथे ।
दरबारले आफ्ना सिफारिस कार्यान्वयन नगर्ने, दुःख दिने चालबाजी बुझेपछि वैशाख २०६१ मा थापाले राजीनामा दिए ।
धेरैले चाहिँ भारतसँग राजा ज्ञानेन्द्रको ‘कुरा बिग्रिएकाले’ थापालाई ‘सुधार’ का निम्ति प्रयोग गर्न चाहेको रूपमा अर्थ्याउँछन् । नेपालको शासकीय राजनीतिमा थापालाई भारत नजिक र कीर्तिनिधि विष्टलाई चीन नजिकका नेताका रूपमा अर्थ्याइने पुरानै कथा थियो ।
थापा गणतन्त्रकालमा पनि सक्रिय मात्र रहेनन् कि, २०७० मा ज्येष्ठ सदस्यका हैसियतमा नवनिर्वाचित संविधानसभा सदस्यहरूलाई शपथ खुवाउन भ्याए । त्यसो त, थापा २०१५ सालमा पनि ‘सल्लाहकारसभा’का निर्वाचित अध्यक्ष थिए ।
अर्थात्, सल्लाहकारसभाको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थापा संविधानसभासम्म आइपुगे । राजनीतिक वृत्त र परिदृश्यमा थापा ६० वर्षसम्म अनवरत सक्रिय रहे । वैशाख २०७२ मा ८८ वर्षको उमेरमा निधन हुँदै गर्दा पनि थापा संविधानसभा सदस्य थिए । अर्थात्, उनी सदाबहार शक्तिका खेलाडी बने, प्रधानमन्त्रीका कुर्सीमा हुँदा या नहुँदा ।
