नेपाली दौड प्रतियोगिताका कथा

नेपालमा दर्जनौं म्याराथन आयोजना भए पनि केही प्रतियोगिता मात्रै टिक्न सफल भएका छन्

चैत्र २८, २०८२

विनयज्योति सापकोटा

Stories of Nepali running competitions

What you should know

काठमाडौँ — हरेक मानिसका आआफ्नै कथा भएजस्तै प्रतियोगिताका पनि आआफ्ना सुखदुःखका यात्राहरू हुन्छन् । त्यसमाथि कथाका आफ्ना भर्‍याङ हुन्छन् । नेपालमा दर्जनौं म्याराथन आयोजना भए पनि प्रतियोगिता मात्रै टिक्न सफल छन् ।

नेपालगन्ज, पोखरा, लुम्बिनी र काठमाडौं उपत्यकामा आयोजना हुने म्याराथन र हाफ म्याराथनले फरक भाका बोक्दै मौलिक सन्देश दिन खोजेका छन् । तर यी सबै प्रतियोगिता व्यावसायिक बन्न सकेका छैनन् । कारण हो– कुनै एउटा पिरामिड वा खेल संरचनाभित्र समेटिन नसक्नु । एथलेटिक्स संघले म्याराथन र हाफ म्याराथनलाई सहयोग त गरेको छ तर प्रतियोगिताको स्पष्ट मापदण्ड बनाएर श्रेणीगत विभाजन गर्न सकेको छैन ।

फुटबल र क्रिकेटमा जस्तो संरचनाको अभावले दौड प्रतियोगिता भए पनि यसको विकास हुन सकेको छैन । ‘संघले अब भने प्रतियोगिताको स्तर हेरेर श्रेणीगत वर्गीकरण गर्ने लक्ष्य राखेको छ,’ एथलेटिक्स संघका सचिव आरके विष्टले भने, ‘अहिलेसम्म काठमाडौं, पोखरा र नेपालगन्ज म्याराथनले एम्सको सदस्यता लिइसकेका छन् । कान्तिपुर हाफ म्याराथन र प्रधानसेनापति म्याराथन पनि नेपालका ठूला प्रतियोगिता भएकाले संघले यी दौडलाई क्यालेन्डरमा राखेको छ ।’

सानो प्रायोजन बजारका बाबजुद हरेक प्रतियोगिताले आफ्नो व्यापक र गहिरो पहिचान बोकेका छन् ।

काठमाडौं म्याराथन
सन् १९८७ मा जर्मनीमा फ्रांकफर्ट म्याराथन दौडँदै गर्दा नीलेन्द्रराज श्रेष्ठलाई ख्याल आयो– ‘यस्तो प्रतियोगिता काठमाडौंमा नै आयोजना गर्न पाए !’

दौडका लागि फ्रांकफर्टमा हरेक वर्ष धेरै विदेशी आउने गरेका थिए । पर्यटनको गज्जब सम्भावना भएको नेपालमा पनि यो त अधिक सम्भावना भएको कुरा हुँदै हो । तर त्यतिबेला नै काठमाडौंमा आएर दौड प्रतियोगिता सञ्चालन गर्ने हिम्मत नीलेन्द्रमा भएन । उनले सन् २००७ मा आएर धेरै विदेशी सहभागी गराउने उद्देश्यसहित काठमाडौं म्याराथनको स्थापना गरे ।

‘हामीसँग काठमाडौं म्याराथनलाई अमेरिकाको बोस्टन म्याराथनजस्तो बनाउने सोच छ । एक दिन काठमाडौं उपत्यकाभरि नै म्याराथनलाई समर्थन गर्ने दिन आउने हामीले सपना देखेका छौं,’ श्रेष्ठले २००७ को पत्रकार सम्मेलनमा भनेका थिए । प्रतियोगिताको पहिलो संस्करणमा नै कुल पुरस्कार राशि ४० लाख थियो । १० हजार डलर विजयी खेलाडीले पाउने व्यवस्था गरिएको थियो । यता २०१३ मा बोस्टन म्याराथनमा बम हमला भएपछि त्यो म्याराथन कमजोर बन्दै गयो । यता, काठमाडौं म्याराथनको व्यापकता र पुरस्कार राशिमा पनि कटौती हुँदै आइरहेको दुःखद् कथा यो प्रतियोगितासँग छ ।

‘हामीले प्रतियोगिता आयोजनाका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गरिरहेका छौं । म्याराथनको निरन्तरता नै मुख्य कुरा हो । कोभिड–१९ महामारीको तीन वर्षलाई बिर्सने हो भने हामी आयोजनामा चुकेका छैनौं,’ प्रतियोगिता आयोजकका संस्थाका अध्यक्षसमेत रहेका श्रेष्ठले कान्तिपुरसँग भने, ‘हामी अहिले १९ औं संस्करणको तयारीमा छौं ।’

नेपाल सरकारको अस्थिरताका कारणले काठमाडौं म्याराथनजस्तै हरेक म्याराथन आयोजकलाई वर्षैपिच्छे रुटमा ट्राफिक र पार्किङ व्यवस्थापनमा ठूलो समस्या हुने गरेको छ । ‘पूरा बाटो खाली नगरी यस्ता ठूलो प्रतियोगिता सम्भव हुँदैनन् । हरेक वर्ष सरकारी अधिकारी परिवर्तन हुने समस्याले हामीलाई हरेक वर्ष ठूलो बनाउँदै लैजान रोकेको जस्तो लाग्छ । स्थिर सरकार बनेपछि यसमा केही प्रगति हुन्छ कि !’ श्रेष्ठले भनेका छन्।

पोखरा म्याराथन
फेवातालको किनारमा माछापुच्छ्रेको छाया हेर्दै दौडिन कसलाई मन नलाग्ला ? यसै त पर्यटकीय सहर पोखरा घुम्नु अक्सर नेपालीको रहर हुन्छ नै । त्यसमा पनि जैविक विविधता, प्रकृति र संस्कृतिलाई जोड्न सक्ने गरी कुनै प्रतियोगिता आयोजना गर्न सके, पोखराको पर्यटनमा नयाँ आयाम थपिनेछ– साढे २ दशकअघि भूतपूर्व खेलाडी मञ्च पोखराले यस्तै उद्देश्य राखेर पोखरा म्याराथनको सपना देखेको थियो । त्यसलगत्तै प्रतियोगिता स्थापना भयो । अहिले करिब पाँच सय साम्प्रदायिक, जातीय र सामाजिक संस्थाले पोखरा म्याराथनलाई सहयोग गरिरहेका छन् । २००१ मा स्थापना भएको यो म्याराथनको २० औं संस्करण यही वर्षको फागुनमा आयोजना भएको थियो । हरेक वर्ष २१ इभेन्ट आयोजना हुने यो प्रतियोगिता दक्षिण एसियाकै पुरानोमध्येमा पर्छ ।

‘पोखरा म्याराथन नेपालकै सबैभन्दा पुरानो म्याराथन हो । हामी मुम्बई म्याराथनभन्दा पनि जेठो छौं । एम्सको सदस्यता लिएर हामीले अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागिताको ढोका खुला गरेका हौं,’ मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले भने, ‘पोखरामा धेरै प्रतियोगिता हुन्छन् । हामीले खेलको जननीका रूपमा रहेको म्याराथन आयोजना गरिरहेका छौं । साथै खेलको माध्यमबाट पोखरालाई प्रवर्द्धन गर्ने, यहाँको समाज, संस्कृति र प्रकृतिलाई चिनाउने गरी प्रतियोगिताको आयोजना गरिरहेका हौं ।’ पोखराले प्रतियोगिताका लागि खरिद गरेको सेन्सर मेसिन बाँकी म्याराथन र हाफ म्याराथनमा पनि प्रदान गर्ने गरेको छ । यसले देशका बाँकी प्रतियोगितालाई पनि स्तरीय बनाउने काम गरिरहेको छ ।

पोखरा म्याराथन सिटी रनको अवधारणामा आधारित छ । पोखरा रंगशाला, हल्लन चोक, लेकसाइड, पामे हुँदै महानगरपालिकाका १७ वडामा म्याराथनको रुटले छुन्छ । मन्दिर, गुम्बा, चर्च र मस्जिद हुँदै सबै सम्प्रदायलाई समेट्ने रुट म्याराथनको छ । विभिन्न जातजातिका मानिस खेलाडीलाई हौसला बढाउन बाटोमा आउने भएका कारण पोखराको एकताका लागि पनि म्याराथनले सहयोग गरेको धेरैले अनुभूत गरेका छन् । २००१ मा स्थापना भए पनि यहाँसम्म आइपुग्न पोखरा म्याराथनलाई सहज थिएन । आन्दोलन, आर्थिक मन्दी, द्वन्द्व, महामारीको समयमा पाँच वर्ष प्रतियोगिता आयोजना भएन । ‘यहाँको मुख्य आम्दानी होटल नै हो । आन्दोलन, हडताललगायत गतिविधि हुँदा सुरुमा लगातार प्रतियोगिता सम्भव भएन । अहिले भने हामी नेपालका सबै म्याराथनको अभिभावक भएर सहयोग गरिरहेका छौं,’ गुरुङले भने । पोखरा म्याराथनको रुट सहज छैन । तर रुटबाट देखिने सुन्दर दृश्यले भने म्याराथनलाई ग्लामरस बनाएको छ ।

नेपालगन्ज म्याराथन
२०७२ सालमा संविधान जारी हुँदै गर्दा मधेश क्षेत्र आन्दोलित थियो । त्यसमाथि भारतको नाकाबन्दीले नेपालको तराई भूभाग समस्याको पेचिलो स्थितिमा थियो । संविधानसभाको पहिलो चुनावपछि जातीय पहिचानका कुरा उठिरहँदा समाज विभाजित मात्रै भएको थिएन, आपसी शान्ति नै खलबलिने स्थिति बनिरहेको हुन्थ्यो । यस्तै परिवेशमा दौडको माध्यमबाट शान्तिको सन्देश दिने उद्देश्यले नेपालगन्ज पिस म्याराथन स्थापना भयो । २०६३ को मंसिर ५ गते नेपालमा तत्कालीन माओवादी र सात दलबीच शान्ति सम्झौता भएको सम्झना गर्दै २०७२ साल मंसिरको पहिलो हप्ता नेपालगन्ज पिस म्याराथन प्रारम्भ भयो ।

‘शान्तिका हिसाबले नेपालगन्ज संवेदनशील सहर हो । यहाँ विभिन्न समुदायका मानिसको बसोबास रहेको छ । त्यसमाथि हामीले सिटी रनलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने हिसाबले एक दशकअघि यो म्याराथनको सुरुआत गरेका हौं,’ नेपालगन्ज म्याराथनका आयोजक टीएस ठकुरी भन्छन्, ‘त्यतिबेला शान्तिका लागि धेरै मूल्य चुकाउनुपर्ने अवस्था थियो । त्यसैले हामी यो म्याराथनलाई नेपालगन्जको ब्रान्ड बनाउनुका साथै शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्य राखेर आयोजना गर्छौं ।’

काठमाडौंमा जस्तो नेपालगन्जमा ट्राफिक व्यवस्थापनको समस्या पनि छैन । नेपालगन्ज म्याराथनको रुटलाई नेपालकै सबैभन्दा सहज रुट मानिन्छ । त्यसैले धेरै खेलाडी यो दौडमा सहभागी बन्न रुचाउने ठकुरी दाबी गर्छन् । एम्सले २०७९ मा नेपागलन्ज म्याराथनलाई सदस्यता प्रदान गरेको थियो, एम्सको सदस्यता पाउने यो नै नेपालको पहिलो म्याराथनसमेत हो । एम्सको सबै नियम मान्दै आएको यो म्याराथनले विश्वका ठूलो प्रतियोगितासँग पनि सहकार्य गरेको छ । यसले नेपालगन्ज म्याराथनका विजेतालाई लन्डन रन, भ्यालेन्सिया रन र बंगलादेशमा हुने म्याराथनमा सहभागी बन्न सहजीकरण गर्ने गरेको छ । प्रायोजक पनि आफैंले जोडिदिने गरेको ठकुरी बताउँछन् ।

नेपालगन्जमा प्रतियोगिता आयोजना गर्दा सुरुका तीन वर्ष प्रायोजक खोज्नका लागि ठूलै कसरत गरेको ठकुरी सम्झिन्छन् । ‘अलि पछिचाहिँ प्रायोजकले निरन्तरता दिन थालेपछि सहज भएको छ । अहिले त नेपालगन्जवासी सबै मंसिरको पहिलो शनिबार म्याराथन हुन्छ भन्ने तयारीमा रहने गरेका कारण हामीलाई निरन्तरता दिन सहज छ,’ उनले कुरा टुंग्याउँदै भने, ‘यो ठाउँमा निजी प्रायोजकले मात्रै धान्ने अवस्थाचाहिँ छैन । सरकारी पनि सहयोग थपिने हो भने थप परिष्कृत बनाउन सकिने थियो ।’

नेपाल पदयात्राका लागि चर्चित देश हुँदै हो । नेपाल आउने पर्यटकहरू पनि नेपालमै लामा दौडको पर्खाइमा हुने गरेका छन् । म्याराथनजस्ता प्रतियोगितालाई नेपालको पहिचानसँग जोड्न सकियो भने पर्यटनको विकासमा सहयोग पुग्ने नेपालगन्ज म्याराथनको उद्देश्य छ ।

राइट टू प्रोटिन रन
पाँच वर्षअघि नेपाल भेटिरिनरी संघले मानिसको जीवनमा प्रोटिनको महत्त्व बुझाउने सम्भावित नयाँ सैलीको खोजी गरिरहेको थियो । शाकाहारी प्रोटिन र मांसहारी प्रोटिनमा कस्तो फरक हुन्छ ? प्रोटिन कति खाने ? कसरी खाने भन्ने कुरालाई बुझाइरहँदा आएको अवधारणा हो म्याराथनको आयोजना ।

उतिबेला शीलतकाजी श्रेष्ठ संघको अध्यक्ष रहेकाले उनकै नेतृत्वमा रन फर प्रोटिनको आयोजना गर्‍यौं । २ हजार ५ सय मानिस सहभागी उक्त रनले प्रोटिनको महत्त्वबारे प्रचारप्रसारमा ठूलो सहयोग गरेको शीतल सम्झिन्छन् । प्रोटिनको महत्त्व बुझाउँदै जाँदा दौडमा पनि ठूलो सहयोग भएको अहिले संघले पनि अनुभव गरेको छ । त्यसो त, आयोजक संघ खेलकुदभन्दा बाहिरको भएकाले धेरै खेलाडी र एथलेटिक्स संघले पनि यो प्रतियोगिता एक दुई संस्करणभन्दा अघि नबढ्ने सोचेका थिए । तर संघसँग आबद्ध भएका दाना उत्पादन गर्ने व्यवसायीहरूको साथ पाएपछि अहिलेसम्म प्रोटिन रनले निरन्तरता पाउन सकेको छ । पछिल्लो संस्करण राइट टू प्रोटिन रनका रूपमा आयोजना गरिएको थियो ।

‘खेलाडीलाई दिने पुरस्कार रकमको कर आफैं तिरिदिन्छौं, त्यसैले खेलाडी खुसी छन् । समयमै पुरस्कार दिने भएकाले खेलाडीको विश्वास जित्न सफल भएका हौं । अहिले हामी यो प्रतियोगिता हरेक वर्ष आयोजना गर्छौं भन्ने हिसाबले नै लागेका छौं,’ प्रोटिन रनको संस्थापक अध्यक्ष शीतलकाजीले भने । गत सिजनमा सहभागीको संख्या ७ हजार नाघेको थियो । तर, सहभागिताअनुसारको ट्राफिक व्यवस्थापन हुन नसकेका कारण प्रतियोगिताको आलोचनासमेत भएको छ । ‘यस्तो ठूलो दौड आयोजना हुँदा ट्राफिक व्यवस्थापनमा प्रशासनले सहयोग गर्नुपर्ने हुन्छ । प्रतियोगिता अयोजनामा यो नै ठूलो चुनौती हुने गरेको छ,’ उनले कान्तिपुरसँग भने ।

हरेक वर्ष प्रोटिन रनको पुरस्कार रकम बढाउँदै लगिएका कारण यो प्रतियोगिता बढ्दो क्रममा छ । तर यो रनले अहिलेसम्म पनि विश्व म्याराथनको सर्वोच्च निकाय एम्सको सदस्यता लिएको छैन । आउँदा संस्करणमा भने इलेक्ट्रिक समयलगायतका विषयलाई पूरा गरेर सदस्यता लिने संघको लक्ष्य छ ।

धरान रन
एउटा मानिसलाई स्वस्थ रहनका लागि सातामा ५ किलोमिटर दौडिनै पर्छ भन्ने मान्यताका साथ धरान रन स्थापना भयो । करिब १४ वर्षअघि स्थापना भएको धरान विक्ली रन शनिबार ७ सय २८ औं हप्ता पुगेको छ । धरान रनका संस्थापन अध्यक्ष सन्तोष राईले बेलायतमा साप्ताहिक रूपमा दौडिने संस्कृतिलाई नेपालमा ल्याएका हुन् । अहिलेसम्म १७ हजार जनाले धरानमा साप्ताहिक रूपमा हुने दौडमा सहभागिता जनाइसकेका छन् । हरेक साता २ देखि साढे २ सय जना सहभागी हुने धरान रनका अध्यक्ष हेमन सुनुवारले जानकारी दिए ।

‘संस्थापक अध्यक्ष सन्तोष राईज्यूकी छोरी गम्भीर बिरामी भएपछि स्वास्थ्य रहनका लागि दौडिनुपर्छ भन्ने मान्यताका साथ उहाँले १४ वर्षअघि धरान रन सुरु गर्नुभएको हो,’ हेमनले कान्तिपुरसँग भने, ‘हामीले साप्ताहिक रूपमा हरेक शनिबार ३.५ किमि दौड आयोजना गरिरहेका छौं ।’ धरान टेन के रन भने वर्षको एक पटक फागुनमा आयोजना हुन्छ । ठूलो पुरस्कार राशि नभए पनि दौडलाई प्रवर्द्धन गर्नकै लागि हरेक वर्ष प्रतियोगिता आयोजना भइरहेको छ ।

पिंककेयरथन
भारतको मिलेन सोमन नामक संस्थाबाट नमराज जोशीले तीन वर्षका लागि एउटा नामको फ्रेन्चाइज किनेका थिए – पिंकाथन । अहिले यो फ्रेन्चाइज उनीसँग छैन । यही नाममा उनले काठमाडौंमा हाफ म्याराथन आयोजना गरे । ‘२०१७ मा मैले यो प्रतियोगिता सुरु गर्दा ब्रेस्ट क्यान्सरविरुद्ध सचेतना जनाउन आवश्यक देखेर त्यही लक्ष्यका लागि यो प्रतियोगिता गरेको थिएँ । यसबाट राम्रो सचेतना भएको जस्तो लाग्छ,’ जोशीले भने, ‘अहिले भने यो दौड प्रतियोगिता निकै ठूलो भएको छ ।’

उनी पिंककेयरथनलाई भ्यालीकै ठूलो प्रतियोगिता भएको दाबी गर्छन् । तर काठमाडौंमा प्रतियोगिता आयोजना गर्न उनले सहज महसुस गरेका छैनन् । प्रतियोगिताको स्वीकृति लिनदेखि प्रायोजक खोज्नसम्म भोगेको सास्तीले प्रतियोगिताको आयोजनामा बाधा नै बाधा उनले भोगेको बताउँछन् ।

‘हामीलाई प्रतियोगिता गर्न सहज भएन, ठूला संस्थालाई सहज हुन्छ । तर प्रतियोगिता ड्रप गर्ने योजना छैन । आर्थिक संकट पर्‍यो भने मुम्बईबाट आफूले गरिरहेको व्यवसायबाटै रकम लिएर पनि प्रतियोगिता गर्ने चाहना छ । सुदूरपश्चिमबाट रोजगारीका लागि ५० वर्षअघि मुम्बई पुगेर व्यवसाय गरिरहेका जोशीको एउटै लक्ष्य छ, ‘नेपालमा महिलाका लागि धेरै खेलकुद छैन । महिलाहरूले आफ्नो जीवनको ठूलो हिस्सा परिवारलाई दिएका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ । यही उद्देश्य प्रतियोगिता हो ।’

लुम्बिनी पिस म्याराथन
वर्षको अन्तिमतिर लुम्बिनीमा आयोजना हुने लुम्बिनी पिस म्याराथनले शान्तिको सन्देश दिन्छ । नेपाल ओलम्पिक कमिटीले आयोजना गरिरहेको यो प्रतियोगिता पुरस्कार राशिका हिसाबले पनि खेलाडीको आकर्षणमा परेको प्रतियोगिता हो । म्याराथन र हाफ म्याराथनलगायत ५ विधामा हुने दौडमा हरेक वर्ष सहभागीको संख्यासमेत बढिरहेको छ ।

‘सबैजसो प्रतियोगिता काठमाडौंमा नै किन आयोजना गर्ने भनेर हामीले लुम्बिनी छानेका हौं । विश्वलाई शान्तिको सन्देश दिन प्रतियोगितामा विश्वभरिका ओलम्पिक कमिटीलाई आमन्त्रणसमेत गर्ने गरेका छौं,’ लुम्बिनी पिस म्याराथनका सचिव आयुष जोशीले भने, ‘म्याराथनले कुनै सहरलाई चिनाउन सहयोग गर्छ । हामीले चाहिँ लुम्बिनीलाई खेलको माध्यमबाट विश्वले चिनोस् भन्ने लक्ष्य राखेका छौं ।’

यो वर्ष १७ लाख रुपैयाँ पुरस्कार रकम दिइएको थियो । पुरस्कार रकम भने चिनियाँ राजदूतावासले प्रदान गर्दै आइरहेको छ । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट रकम नआउने भए पनि कमिटीले कार्यालय खर्च जोगाएर म्याराथन आयोजना गरिरहेको जोशीले जानकारी दिए ।

हेरिटेज २५ रन
गत जेठमा रेस नेपालले नेपाल हेरिटेज रन सुरु गरेको जानकारी दियो । नेपालमा एम्सको बैठक बसेको सन्दर्भमा नेपालका सम्पदा चिनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना भएको थियो । विश्व सम्पदा सूचीमा परेका नेपाली सम्पदाको महत्त्व बुझाउन, संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाल हेरिटेज रन आयोजना गरिएको थियो । विश्व सम्पदा सूचीमा परेका काठमाडौं उपत्यकाका सम्पदाहरू जोड्ने गरी २५ किमि दूरीको दौडको रुट तयार गरिएको थियो । यसले पाटन दरबार स्क्वायर, एयरपोर्ट गेट, कमलपोखरी, नारायणहिटी दरबार, स्वयम्भू, वसन्तपुर र दशरथ रंगशाला जोड्ने काम गरेको छ ।

प्रधानसेनापति खुला म्याराथन

नेपाली सेनाले आफ्नो स्थापना दिवस तथा महाशिवरात्रिको अवसरमा हरेक वर्ष म्याराथन आयोजना गर्ने गरेको छ । प्रधानसेनापति खुला म्याराथन नाम दिइएको यो प्रतियोगितामा ४२.१९५ किमि पुरुष म्याराथन, २१ किमि महिला/पुरुष हाफ म्याराथन, १० किमि दौड र ५ किमि वाकाथन जस्ता विभिन्न विधाहरू समावेश छन् । यसका लागि पनि सेनाले राम्रो पुरस्कारको व्यवस्था गरेको छ । महाशिवरात्रिको अवसरमा हुने प्रतियोगिताले एकता र शारीरिक फिटनेस प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

विनयज्योति

Link copied successfully