‘प्रेमको प्रतीक’ रानीमहल

‘कमान्डर इन चिफ’ बाट पदच्युत गरेर पाल्पा गौंडा पठाइएका खड्गशमशेरले दिवंगत पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकी किनारमा चार वर्ष लगाएर भव्य महल बनाएका थिए, जुन रानीमहलका नामले ख्यातिप्राप्त छ।

फाल्गुन २, २०८२

माधव अर्याल

मर्यादा र विश्वासको कसिमा प्रेम सदैव सम्मानित छ ।

What you should know

पाल्पा — मान्छे मर्छ, प्रेम मर्दैन । मान्छे प्रेमबाट सुखी बन्छ । बाँचुन्जेल प्रेममै डुबुल्की मार्छ । आफन्त वा मायालु गुमाउँदाको पीडा अलग्गै हुन्छ । उसको सम्झनामा केही काम गर्ने सोच पलाउन सक्छ । पाल्पा सदरमुकाम तानसेनदेखि १३ किलोमिटर टाढा कालीगण्डकी किनारमा अडिएको ‘रानीमहल’ यस्तै एउटा प्रेमको प्रतीक हो ।

राणा शासनकालका ‘कमान्डर इन चिफ’ खड्गशमशेर राणालाई पदच्युत गरेर विसं १९४५ मा बडाहाकिम बनाएर पाल्पा गौंडामा पठाइएको थियो । उनलाई रूपन्देही, कपिलवस्तु, बागलुङ र पर्वतलगायतका क्षेत्र हेर्ने जिम्मेवारी दिइएको थियो । पाल्पामै रहेका बेला विसं १९४९ मा उनकी पत्नी तेजकुमारीको निधन भयो । तिनै तेजकुमारीको सम्झनामा खड्गशमशेरले पाल्पा र स्याङ्जा जिल्लाको सिमाना कालीगण्डकीको किनारमा महल बनाएका हुन् ।

महलको निर्माण विसं १९५० मा सुरु भएर १९५४ मा पूरा भएको थियो । सुर्खी, इटाको धूलोजस्ता विशेष सामग्रीबाट बनाइएको इँटा र सालको काठबाट महल निर्माण गरिएको हो । बेलायती इन्जिनियरहरूले युनानी शैलीमा बनाएको महल नदीछेउको विशाल चट्टानमाथि छ । त्यसैले यो महल प्रेमको प्रतीक मात्र होइन, राणाकालीन वास्तुकला, इतिहास र सांस्कृतिक सम्पदाको उत्कृष्ट नमुना पनि हो ।

खड्गशमशेरले बनाएको त्यही महलले कालान्तरमा रानीमहलका नाममा ख्याति कमायो । महल भएको तटलाई स्थानीयले रानीघाट भन्छन् । इतिहासकारहरूले लेखेका छन्, ‘महत्त्वपूर्ण फर्निचर, महँगा सजावटका सामग्रीले भरिपूर्ण कोठामा खड्गशमशेर एक्लै रात बिताउँथे । कहिले–कहिले मध्यरातमा दिवंगत रानीलाई सम्झेर भावविह्वल हुँदै रुँदै चिच्याउँथे ।’

इतिहासविद्का अनुसार १९६० मा खड्गशमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरेको भन्ने तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले थाहा पाए । चन्द्रशमशेरले पाल्पामा सेना पठाए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर खड्गशमशेर भारत पलायन भए । त्यही दिनदेखि रानीमहल एक्लो छ ।

रानीमहल झन्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको छ । महलमा २४ कोठा छन् । महलको परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिवलिंगमा नागनागिनीले जल शेचन गरेको दृश्य, भान्सा घर, घोडा बाँध्ने तबेला, महादेव मन्दिर, ठूला घण्टहरूसहितका विभिन्न आकर्षक कलाकृति छन् ।

खड्गशमशेर नुहाउन जाने कालीगण्डकी किनारसँगै जोडिएको फलामको बार भएको बाटो पर्यटकका लागि हेर्नलायकको सम्पदा हो । रानीमहलको पूर्वतर्फको भागमा खड्गशमशेरले पूजा गर्ने कोठाको नमुना छ । तीनतले दरबारमा माथिल्लो तला बैठक कोठा र बीचमा खड्गशमशेरका कोठीहरूले राणाकालीन कला संस्कृति झल्काउँछन् । दरबारको बायाँ भागमा शीतलपाटी र दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुंगाले निर्मित दुई पोखरी छन् ।

तेस्रो तहमा दाहिनेतर्फ पाले पहरा बस्ने गृह बनेको छ । खुड्किलाको बायाँतर्फ एकै किसिमका शिवजी र गंगाका २ मन्दिर छन् । ‘दरबारमा खड्गशमशेर लेखिएको इँटा प्रयोग भएको छ । त्यसबेलाको अनकन्टार ठाउँमा खड्गशमशेरले किन दरबार बनाए होलान् ?’ इतिहासविद् निर्मल श्रेष्ठ भन्छन्, ‘उत्तरवाहिनी कालीगण्डकी रहेको यस स्थानलाई नेपालको काशी (बनारस) का रूपमा चिनाउनुपर्छ । त्यस्तो भयो भने मात्रै बर्सेनि रानीमहलमा पर्यटक तथा तीर्थालुको ओइरो लाग्छ ।’

१० वर्षअघिसम्म रानीमहलमा प्रेम दिवस र त्यसको एक साता अघिदेखि नै धेरै चहलपहल हुन्थ्यो । धेरै जोडी अघिल्लो दिन नै बास बस्ने गरी पुग्थे । पछिल्ला वर्षमा त्यस्तो देखिँदैन । २०७९ को भ्यालेन्टाइन्स डे (१४ फेब्रुअरी) मा तानसेन नगरपालिका र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्सले २५ जोडीलाई गुलाबको फूलले रानीमहलमा स्वागत गरेका थिए । ‘तर यसरी स्वागत गर्ने शैलीले अर्को वर्ष निरन्तरता पाएन,’ स्थानीय होटल व्यवसायी सुरेश पाण्डेय भन्छन् ।

तानसेन नगरपालिकाले २०७५ देखि रानीमहल घुम्न आउनेसँग शुल्क उठाउने गरेको छ । हरेक वर्ष रानीमहलमा ७० हजार पर्यटक पुगेको तानसेन नगरपालिकाको तथ्यांक छ, ७४ लाख राजस्व संकलन भएको छ । रानीमहलको पार्किङबाट बगनासकाली गाउँपालिकाले पनि आम्दानी गरिरहेको छ । तर यसको प्रवर्द्धनमा प्राथमिकता दिइएको छैन । ‘गाउँपालिका र नगरपालिकाले रानीमहलको आकर्षणका लागि नयाँ काम गरेको देखिएन,’ काठमाडौंबाट घुम्न आएका रामप्रसाद बडालले भने, ‘टाढाबाट हेर्दा निकै मनमोहक लाग्यो तर यहाँ आइसकेपछि केही पनि खिन्न बन्ने अवस्था आयो ।’

यस क्षेत्रलाई प्रेमिल जोडी र नवविवाहितको आकर्षणको केन्द्र बनाउने योजना ल्याउनुपर्ने रूपन्देहीबाट घुम्न आएका सीमा पाण्डेयले सुझाव दिइन् । ‘यति राम्रो ठाउँ रहेछ,’ श्रीमान्सँगै घुम्न आएकी उनले भनिन्, ‘भ्यालेन्टाइन्स डेका अवसरमा विभिन्न प्याकेज ल्याउन सकिन्छ । तर यहाँ केही छैन ।’

रूपन्देहीकै कमला अर्याल पाण्डेय रानीमहललाई वैवाहिक वर्षगाँठ मनाउन थलोका रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउँछिन् । नजिकै रहेको कालीगण्डकी नदीमा स्नान गरेर रानीमहल दरबार क्षेत्रभित्र रहेको महादेव मन्दिरमा सिक्का चढाउने हो भने प्रेम सम्बन्ध दिगो रहन्छ भन्ने विश्वास दिलाउनुपर्ने उनको सुझाव छ ।

तानसेन नगरपालिकाले सधैं रानीमहललाई ब्रान्डिङ गर्ने तयारी गरेको भन्ने गर्छ । तर अहिलेसम्म रंगरोगनसमेत राम्रोसँग गरिएको छैन । ‘ताजमहल जस्तै नदी किनारको फोटो (रानीमहल) देखेर श्रीमतीलाई लिएर आएँ,’ उत्तरप्रदेश भारतबाट घुम्न आएका मोहिन अहमदले भने, ‘तर यहाँ खासै केही छैन । सरसफाइको अवस्था पनि राम्रो छैन ।’

नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई ‘हेरिटेज होटेल’ बनाउने प्रस्ताव गरेको थियो । रानीमहललाई ‘हेरिटेज होटेल’ का रूपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्र्याउन सकिने बोर्डको अवधारणा थियो । तर त्यो योजना अघि बढ्न सकेन ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully